भदौ २९, काठमाडौँ | सहकारी संस्थाका बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्दै छन् । समितिले सिंहदरबारमा आज ५ बजे बेलुका प्रधानमन्त्री ओलीसँग सुझाव लिन र छलफल गर्ने बताएका छन् ।
समितिले हिजो गृहमन्त्री रमेश लेखक, गृहसचिव गोकर्णमणि दुवाडी र नेपाल प्रहरी प्रमुख वसन्त कुँवरसँग छलफल गरेको थियो ।
सो छलफलमा सहकारीको रकम ठगेर विदेशमा फरार २८ जनाको खोजी कार्यको प्रगति विवरण लिखित रूपमा उपलब्ध गराउन निर्देशन दिइएको थियो । समितिले फरार व्यक्तिहरूको खोजबिन गर्न गत साउन १३ गते गरिएको निर्देशनको कार्यान्वयनबारे छलफल गरेको सभापति सूर्य थापाले जानकारी दिए ।
यसअघि समितिले सहकारी दुरुपयोगमा आरोपित, पीडित, सरोकारवाला निकाय लगायतसँग विभिन्न चरणमा छलफल गरेको थियो । समितिले तोकिएको तीन महिनाभित्र प्रतिवेदन तयार गर्न नसकेपछि प्रतिनिधिसभाले १५ दिनको म्याद थप गरेको छ ।