कात्तिक २५, चितवन । भरतपुर उपमहानगरपालिका–६ नवदुर्गा चोकमा गैँडाको आक्रमणबाट एक वृद्ध गम्भीर घाइते हुनुभएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार स्थानीय मध्यवर्ती सामुदायिक वनबाट मानव बस्ती छिरेको गैडाले आज बिहान स्थानीयवासी ८४ वर्षीय गौरेश्वर सापकोटालाई आक्रमण गरेको हो ।
घाइते सापकोटाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । सदरमुकाम आसपासको क्षेत्रमा समेत दैनिकजसो गैडा मानव बस्ती पसेर धान खाने, आक्रमण गर्नेजस्ता क्रियाकलाप बढेर गएपछि रातको समयमा हिँड्डुल गर्नसमेत जोखिम भएको छ । रासस