मंसिर ३, नवलपरासी । प्रथम देवचुली महोत्सव सफल समापनको उत्तराद्र्धमा पुगेको छ । कार्तिक २५ देखि मंसिर ५ गतेसम्म चल्ने महोत्सवमा कुनै दिन पनि दर्शकको कमीको महसुस भएको छैन । महोत्सवको नवौँ दिन २५ हजार मानिसले मेलाको अवलोकन गरेका छन् । महोत्सवले लिएको उदेश्य पूर्णरूपमा पूरा भएको मेला सफल बनाउन सहयोग गर्ने सबैलाई मू्ल समारोह समितिका संयोजक केबी रानाले हार्दिक धन्यवाद व्यक्त गरे ।
कला संस्कृति संरक्षण पर्यटनको आधार आर्थिक समृद्धिका लागि कृषि उद्योग तथा व्यापार भन्ने मूल नारासहित कावासोती खेल मैदानमा महोत्सव जारी छ । मेलामा १ सय ५० वटा स्टलहरू रहेका छन् । महोत्सवको नवौँ दिन शिक्षा विशेष कार्यक्रम सुरू भएको छ । शिक्षा समितिको आयोजना शुक्रबार विद्यार्थीको ¥यालीसँगै चित्रकला, नृत्य र वक्तृत्वकला आयोजना गरिएको छ । प्रतियोगितामा जिल्लाका ३ दर्जन विद्यालयले सहभागीता जनाएको शिक्षा उप समितिका सदस्य सचिव तीर्थ कँडेलले जानकारी दिए ।
नवलपरासी जिल्लामा लामो समयदेखि विभिन्न संघ संस्थाहरूले मेला महोत्सवहरू आयोजना गर्दै आएका छन् । कुनै सफल भए, केहि असफल पनि । धेरै जसो महोत्सवमा दर्शकहरूको निकै कमी देखियो । नवलपरासीको कावासोतीमा आयोजना गरिएको प्रथम देवचुली महोत्सव कसरी चल्छ र भन्ने बहस महोत्सव सुरू भएदेखि चलेको थियो । त्यो बहस महोत्सवको उत्तरार्धमा पनि जारी छ ।
महोत्सवमा आउने सबैले दर्शकहरूको सहभागीता देखेर वाहा ! देवचुली महोत्सव भनिरहेका छन् । महोत्सवमा विहानैदेखि बेलुकासम्म प्रवेशद्धारमा दर्शकहरू भीड देखिन्थ्यो । स्टलहरूमा निरन्तर भीडभाड चलिरहेको छ ।
देवचुली टेलिभिजनले आफ्नो आठौँ बार्षिक उत्सव ११ दिने महोत्सव गरी धुमधामसँग मनाइएको छ । महोत्सव सकिनै लाग्दा पनि प्रदर्शनी स्थलमा देखिएको जनलहरले आयोजक मात्र हैन, महोत्सवमा रहेका व्यापारीसमेत उत्साहित बनेका छन् । टेलिभिजनले आयोजना गरेको महोत्सव के सफल होला ? के दर्शकहरूले साथ देलान यस्तै बहसको बीच देवचुली महोत्सव पूर्ण सफल बनेको छ ।
महोत्सव मंसिर ४ गतेसम्म संचालन गर्ने बताईए पनि दर्शकको उर्लिदो सहभागीताले मंसिर ५ गते देवचुली महोत्सवको भब्य समारोहका बीच समापन गर्ने कार्यक्रम रहेको मूल समारोह समितिका संयोजक केबी रानाले बताए ।
महोत्सव सफल बनाउन विभिन्न व्यक्ति र संघ संस्थाले उत्तिकै महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । सबैको सहयोग र मिहेनतले देवचुली महोत्सव यसअघि जिल्लाका विभिन्न स्थानहरुमा भएका महोत्सवको तुलनामा कैयौ गुणा सफल बनेको छ । महोत्सव सफल बनाउन गठन गरिएका विभिन्न उपसमितिले उत्तिकै योगदान रहेको छ ।