माघ ४, बैतडी । जिल्ला कारागार बैतडीमा क्षमताभन्दा दोब्बर कैदीबन्दी हुँदा समस्या भएको छ ।

चिसो बढेसँगै बसोबास तथा उपचारमा समस्या भएको हो । २५ जनाको क्षमता रहेको कारागारमा ४७ कैदी र एक थुनुवा गरी ४८ जना कैदीबन्दी हुँदा बस्न समस्या भएको जेलर अनिल तिवारी बताउनुभयो ।

विसं २०४२ सालमा निर्माण गरिएको कारागार अहिले जीर्ण हुँदै गइरहेको छ । हिउँदको बेला जाडो र पानी परेको बेला चुहिने भएकाले छानोमा त्रिपाल हालेर बस्ने गरिएको छ । यस्तै, कारागारमा खानेपानी नहुँदा झनै समस्या भएको जेलर तिवारीले बताउनुभयो ।

कारागारमा क्षमताभन्दा बढी कैदी भएकाले उपचारका लागि पनि उत्तिकै समस्या भएको छ । कारागारमा एकजना अहेवको दरबन्दी भए पनि हाल उक्त दरबन्दी रिक्त हुँदा उपचारमा समस्या भएको हो । हिउँदको समयमा चिसोका कारण रुघाखोकीलगायत अन्य बिरामी पर्ने भए पनि औषधि नभएको बताइएको छ ।

कारागारमा २५ जनाका लागि मात्रै औषधि उपचार खर्च हुने भएकाले क्षमताभन्दा दोब्बर कैदी हुँदा नपुग्ने गरेको जेलर तिवारीले बताउनुभयो । रासस

Related News