पर्वत । आगामी फागुन ३ गते हुने नेपाल पत्रकार महासंघको अधिवेशन नजिकिसँगै पत्रकारहरुको कुश्मा बजारमा चहलपहल शुरु भएको छ । यतिबेला पत्रकारहरु औपचारीक कार्यक्रमनै छोडेर चुनावी मैदानमा होमिन थालेका छन् । चुनावको माहोल शुरु भएसँगै सहमतिमा जाने निर्णय गरेका चार पत्रकार संठनहरु दुइ कित्तामा विभाजन भएका छन् ।
चुनावको समय नजिकै सँगै मोर्चा विभाजनको संघारमा पुगेको छ तर पनि अझै सहमतिमा जोड दिने बताइएको छ । प्रेस सेन्टर नेपाल, क्रान्तिकारी पत्रकार महासंघले प्रेस युनियनको समर्थनमा जुटेका छन् भने क्रान्तिकारी पत्रकार संगठन र प्रेस सोसाइटी प्रेस चौतारीको समर्थनमा जुटेको बुझिएको छ ।
सोमबार प्रेस युनियन, प्रेस सेन्टर र क्रान्तिकारी पत्रकार महासंघले संयुक्त विज्ञप्ती निकाल्दै सहमतिको लागि आह्वान समेत गरेको छ । चुनावी मैदानमा उत्रिए पनि आफूहरुले छविलाल तिवारीलाई मतदान गर्ने समेत विज्ञप्तीमार्फत जनाएको छ ।
युनियनका छविलाल तिवारी, सेन्टरका प्रनिश गिरी र क्रान्तिकारी पत्रकार महासंघका गोपाल जिसीको संयुक्त हस्ताक्षरित विज्ञप्तीमा सहमति खोज्ने र सहमति नभए चुनावी मैदानमा उत्रिदा तिवारीलाई मतदान गर्ने निर्णय गरेको हो ।
मोर्चाबाट फुटेको प्रेस सोसाइटी र क्रान्तिकारी संगठनले चौतारीलाई समर्थन गर्ने बुझिएता पनि उनीहरुले औपचारिक धाराणा भने अझै बाहिर आउन सकेको छैन । प्रेस चौतारीले सन्तोष थापालाई अध्यक्षको उम्मेदवार बनाउने औपचारिक घोषणा भने गरी सकेको छ ।
मोर्चा फुटेको औपचारिकता रुपमा पुष्टि नभएता पनि दुइ् कित्तामा भने विभाजन भएका छन् ।