पढ्न करिब 2 मिनेट लाग्छ

फागुन १२, इलाम । चितुवाले गोठमा बाँधेका पशु चौपाया धमाधम मारिदिन थालेपछि जिल्लाको उत्तरी क्षेत्रका किसान हैरान भएका छन् ।

जङ्गली क्षेत्रभन्दा निकै टाढाका बस्तीसम्म झरेर घर–गोठमा बाँधिएका गाई, बाख्रा, गोरू र घोडासमेत मारिदिन थालेपछि लेकाली क्षेत्रका जमुना, जोगमाई, प्याङ, मावु, माइमझुवाका बासिन्दा हैरान बनेका हुन् ।

घरगोठमै चितुवा आएर चौपाया खान थालेपछि आर्थिक नोक्सानीसँगै स्थानीयवासीमा डर र त्रास बढेको छ । फागुन पहिलो साताभित्र मात्र धेरै किसानको गोठका खसी, बाख्रा, गाई र घोडा चितुवाले खाइदिएको जमुनाका दीपक गुरुङले बताउनुभयो ।

चितुवाले जमुना–८ इङलाका तारामान गुरुङको तीनवटा खसी खाँदा रु ५० हजारभन्दा बढीको नोक्सानी भएको पीडितले बताउनुभयो ।

यस्तै, जमुना–८ कै दोर्जे शेर्पाका दुई माउ बाख्रा, जमुना–५ का छेत्तर शेर्पाका तीनवटा बाख्रा, जोगमाई–७ का सुब्बा कान्छाको एउटा घोडा र एक माउ गाई चितुवाले मारिदिएको छ । जोगमाई–१ र २ मा चितुवाले खोरबाटै धमाधम खसी लैजान थालेपछि स्थानीयवासीले खसी–बाख्रा घरभित्र थुन्नुपर्ने बाध्यता आएको स्थानीयवासी बताउँछन् ।

चितुवा आतङ्कका कारण पशुचौपायालाई पनि घरमै थुन्नु परेको जमुनाका तारामान गुरूङ बताउनुहुन्छ । दुःख गरेर जोडेको पशुचौपाया चितुवाले खाइदिएपछि किसानलाई ठूलो आर्थिक नोक्सानी भइरहेको बताउँदै तारामान भन्नुहुन्छ, “आँगनमै आएर चितुवाले पशुचौपाया लगिदिन्छ, चितुवाका कारण घाँस÷दाउरा लिन पनि जङ्गल जान मुस्किल भएको छ ।”

वरिपरी सामुदायिक वन बढेपछि चितुवाको आतङ्क पनि बढ्न थालेको स्थानीयवासी बताउँछन् । जमुनाको हाँगेथाम, हिले, चोयाटार, जोगमाईमा कागे, महादेव लगायतका सामुदायिक वन रहेका छन् ।

भारतीय सीमा क्षेत्र नजिकको यी गाविससँगै भारत सरकारले संरक्षण गरिरहेको सिंहलिला नेसनल पार्क छ । वरिपरि संरक्षित वन रहेका कारण पनि बस्तीमा चितुवालगायत अन्य वन्यजन्तुको आतङ्क सधैँजसो भइरहने प्याङका लोकेन थेबे बताउनुहुन्छ । चितुवाको आतङ्क बढ्नुअघि यस क्षेत्रमा बँदेलको आतङ्क थियो । बँदेलले खेतबारीमा लगाएको खेतीबालीमा नोक्सानी पु¥याउँदै आएको छ ।

सामुदायिक वनमा जथाभावी घाँस, दाउरा र स्याउला काट्न प्रतिबन्ध लागेपछि वन बढेको र जङ्गली जनावरको समेत आतङ्क बढेको स्थानीयवासीको भनाइ छ । विगत केही वर्षअघि नै सरकारले घरेलु हतियार सङ्कलन गरेपछि गाउँघरमा सिकार खेल्ने प्रचलन समेत बन्द भएकाले जङ्गली जनावर बढेको स्थानीयवासी बताउँछन् । वन्यजन्तुको आतङ्क रोक्न स्थानीयवासीले सम्बन्धित निकायमा आग्रहसमेत गरेका छन् । रासस