चितवन, १८ फागुन । जिल्लामा मतदाताको सङ्ख्या तीन लाख १६ हजार छ सय ५३ पुगेको छ ।

करिब उन्नाइस वर्षका अवधिमा मतदाताको सङ्ख्या ७५ हजार छ सय २५ ले वृद्धि भएको छ । विसं २०५४ को स्थानीय निर्वाचनमा दुई लाख ४१ हजार २६ जना मतदाता थिए ।

जिल्ला निर्वाचन कार्यालयको तथ्याङ्कानुसार विसं २०७० मा भएको संविधानसभाको निर्वाचनमा जिल्लामा दुई लाख ७३ हजार आठ सय तीन मतदाता थिए । तीमध्ये दुई लाख १६ हजार पाँच सय २२ मत खसेको थियो । खसेका मतमध्ये दुई लाख सात सय ५९ मत सदर भएको थियो । त्यसअघि विसं २०६४ मा भएको संविधानसभा निर्वाचनका समयमा जिल्लामा तीन लाख ८२ हजार पाँच सय ८० मतदाता थिए ।

निर्वाचन कार्यालयका अनुसार आउँदो स्थानीय निर्वाचनका लागि जिल्लामा २४ राजनीतिक दलले प्रतिस्पर्धा गर्ने भएका छन् । विसं २०५४ मा नौ राजनीतिक दल स्थानीय निर्वाचनमा प्रतिस्पर्धामा उत्रिएका थिए ।

तत्कालीन समयको स्थानीय निकायको निर्वाचनमा १३ इलाका, ३६ गाविस र दुई नगरपालिका थिए जसमा ७० मतदान केन्द्रमार्फत निर्वाचन गराइएको थियो । अघिल्लो स्थानीय निर्वाचनमा मतदाता नामावलीमा नाम दोहोरो, तेहेरो रुपमा परेकाले मतदाता सङ्ख्या बढी भएको र अहिले नागरिकता लिई आफू स्वयं नामावली दर्ता गर्न आउनुपर्ने भएकाले त्यस्तो समस्या नहुने कार्यालयका प्रमुख हरि ढकालले जानकारी दिनुभयो ।

अहिले राज्य पुनःसंरचना आयोगले दिएको संरचनाको ढाँचा परिवर्तन हुने हो वा होइन भन्ने यकिन नभएका कारण मतदानस्थल र केन्द्र तय भइनसकेको उहाँले बताउनुभयो । निर्वाचनको मिति तय भएसँगै कार्यालयले मतदाता नामावली सङ्कलनको कामलाई रोकी अद्यावधिक गरिरहेको छ ।

चितवनमा मतदाता तीन लाख सोह्र हजार