रचना : कविगुरु यज्ञप्रसाद सुवेदी

बर्दिया

होली खेलौं, होली हो आज ।

हाँसौँ खेलौँ, नेपाली समाज ।।

सप्तरङ्गी फूल उनी, मेची काली टाँसौँ ।

नेपाल आमा हँसाएर, हामी सबै हाँसौँ ।।

तराईमा धानको बाला, सुनजस्तै झुलाउँ ।

पहाडका डाँडापाखा, लाली गुराँस फुलाउँ ।। हासौँ खेलौँ ….

विकृतिको विरुद्धमा, राँको बाल्नै पर्छ ।

कालोमैलो पखालेर, टाढा फाल्नै पर्छ ।।

हृदयमा रप्तरङ्गी, फूल जमाएर ।

हाँसौँ खेलौँ नरनारी, सारा रमाएर ।। हासौँ खेलौँ ….

मर्थे किन बालगोपाल, पुतनानै ढली ।

भक्त प्रह्लाद किन मर्थे, होलीका नै जली ।।

त्यसै गरी असत्यको, नास गर्नु पर्छ ।

हातेमालो गरी–गरी, अघि सर्नु पर्छ ।। हासौँ खेलौँ ….

लाली गुराँस, गुरद्यौली, चमेली र बेली ।

भुन्भुन् गर्छन् भमराले, रमाएर खेली ।।

हामी भुलौँ रप्तरङ्गी, रङ्गमा रमाएर ।

सगरमाथा टेक्नुपर्छ, बाटो समाएर ।।

मेचीकाली, पहाड, हिमाल तराई, हामी सबै नेपाली हौं हैनौं पराई ।।