पर्वत । रोट्याक्ट क्लब अफ पर्वतले आफ्नो सप्ताहव्यापी कार्यक्रम अन्तरगत तेस्रो दिनमा ह्वील चियर तथा स्टेशनरी (शैक्षिक) समाग्री वितरण गरेको छ । ठुलीपोखरी ८ रोहोटेमा रहेको बशन्त प्राविका २४ जना बालबालिकालाई स्टेशनरी समाग्री, लत्ताकपडा, विद्यालयलाई ह्वाइट बोर्ड, डस्वीन सहित सोही स्थानका सतिज पौडेललाई ह्वील चियर वितरण गरेको हो ।
सामाजिक क्षेत्रमा क्रियाशिल रहदै आएको क्लबले आफ्नो सप्ताहव्यापी कार्यक्रम अन्तरगत सो कार्य गरेको हो । उद्योग बाणिज्य संघ पर्वत, रो. धनराज पौडेलको सहयोगमा उक्त विद्यालयमा सो समाग्री हस्तान्तरण तथा वितरण गरेको क्लबका अध्यक्ष आर.सी पौडेलले जानकारी दिए ।
ह्वील चियर तथा स्टेशनरी समाग्री वितरण कार्यक्रममा बोल्दै उद्योग बाणिज्य संघ पर्वतका अध्यक्ष हरिओम शर्मा लामिछानेले क्लबले गरेको समाजिक कार्यको प्रशंसा गरे । उनले युवाहरुलाई एकजुट गराई सामाजिक, मानिवय, शैक्षिक क्षेत्रको स्तरोन्तीको लागि क्लबले गरेको कार्य प्रशंसा योग्य भएको बताए ।
समाजको विकास गर्नको लागि यस्तै युवाहरुको आवश्यकता देशलाई रहेको बताउँदै लामिछानेले आगामी दिनमा पनि यस्ता सामाजिक कार्यहरुलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । राज्यको आँखा पुग्नुपर्ने क्षेत्रमा रोट्याक्ट पुग्नु, युवाहरुले आफ्नो पकेट खर्च कटाएर समाज सेवा गर्नु आफैमा प्रशंसा योग्य कार्य भएको बताए ।
रोट्याक्ट क्लब अफ पर्वतका अध्यक्ष आर.सी पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लबका ३२९२ जाने फोर दिपेन्द्र बहादुर घिमिरे, स्रोत व्यक्ति राम प्रसाद लामिछाने,रोटरी क्लब अफ पर्वतका आगामी अध्यक्ष देविप्रसाद पौडेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकप्रसाद पौडेल लगायतले आआफ्नो धारणा राखेका थिए । उक्त कार्यक्रमको संयोजक अर्जुन बहादुर केसीको स्वागत तथा सचिव गणेश पौडेलको संचालनका कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रममा क्लबका सहसचिव उत्तम केसी सचेतका रुपमा रहेका थिए ।