भगिरथ अवस्थी/चैत्र १५, बैतडी ।
बैतडीलाई स्वासथ्य सूचककांकमा पहिलो नम्बर ल्याउने जिल्ला स्वासथ्य कार्यालय बैतडीका प्रमुख डा. गुणराज अवस्थीले प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
डा. अवस्थीले जिल्लाको स्वास्थ्य क्षेत्र सुधारका लागि स्थानीयहरुको सहयोग महत्वपूर्ण रहेको समेत बताउनुभयो । आजभन्दा ४ बर्ष अगाडि स्वास्थ्य सूचकांकमा निकै पछाडि रहेको बैतडी गत बर्षको मूल्यांकन चौथो नम्बरमा आएको बताउनुभयो ।
जिल्लामा पूर्ण संस्थागत सुत्केरी अभियान र स्वास्थ्यको नमूना जिल्ला घोषणा अभियान शुरु भइसकेकाले यसमा स्थानीय नागरिकको सहयोग महत्वपूर्ण हुने बताउनुभयो ।
जिल्लालाई स्वास्थ्यको नमूना जिल्ला बनाउने र यसका लागि एक घर एक दिन एक रुपैया अभियान शुरु भइसकेको डा. अवस्थीले बताउनुभयो । जिल्लाका स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी र औषधिको कुनै अभाव नरहेको बताउँदै डा. अवस्थीले केशरपुर प्राथमिक स्वासथ्य केन्द्रमा डाक्टरको व्यवस्थाका लागि पहल भइरहेको बताउनुभयो ।
यस्तै जिल्ला अस्पातलको ५० शैयाको नयाँ भवन बन्ने उहाँले बताउनुभयो । यसका लागि टेण्डर समेत आह्वान भइसकेको डा. अवस्थीले बताउनुभयो ।