९ मंसिर २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्थानीय तहको निर्वाचनका ९ चुनौती यस्ता छन् !

१७ चैत्र २०७३, बिहीबार ०२:१९

चैत १७, काठमाडौं । आउँदो वैशाख ३१ गते हुने स्थानीय तह चुनाव सम्पन्न गर्न सरकारलाई कम्ति चुनौती छैन । यो चुनावलाई सफलतापूर्वक सम्पन्न गर्न सरकारले ९ वटा मूल चुनौतीहरु पार लगाउनुपर्ने देखिएको छ ।

१) मोर्चाको आन्दोलन : संविधान संशोधन नगरी निर्वाचनमा सहभागी नहुने बताउँदै आएको मधेसी मोर्चा स्थानीय निर्वाचनका लागि अर्को चुनौतीका रूपमा देखापरेको छ । 

मोर्चालाई सहभागी गराउन संविधानका केही धारा संशोधन गर्नुपर्ने हुन्छ । त्यसमा अहिलेसम्म दलीय सहमति जुटेको छैन । सत्तारुढ दल कांग्रेस, माओवादी केन्द्र, प्रमुख प्रतिपक्ष एमाले र मोर्चाबीच संविधान संशोधनको विषयमा सहमति जुटेको छैन । सहमति नजुट्दासम्म मोर्चा आन्दोलनमै रहने भएकाले तराईका केही जिल्लामा निर्वाचन गर्न सरकारलाई समस्या हुने छ ।

२) सुरक्षा चुनौती : पूर्व प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले निर्वाचनका लागि सुरक्षा व्यवस्था पनि चुनौतीका रूपमा देखापरेको बताए । ‘स्थानीय निर्वाचन चरणबद्ध गर्नुपर्ने थियो, एकैपटक गर्दा सुरक्षा बस्दोबस्ती चुनौतीका रूपमा छ,’ उनले भने । निर्वाचनका लागि गृह मन्त्रालयले दुई लाख ७४ हजार सुरक्षाकर्मी परिचालन गर्दै छ । त्यसमा ७५ हजार म्यादी प्रहरी हुनेछन् । सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले नेत्रविक्रम चन्दको नेपाल कम्युनिस्ट पार्टी, बाबुराम भट्टराईको नयाँ शक्तिलगायत पनि सुरक्षा चुनौती भएको बताए । ‘मधेसी मोर्चाका साथमा जनजाति पनि आन्दोलित छन्, यस्तो वेला निर्वाचन कसरी सुरक्षित हुन सक्छ ?,’ उनले भने ।

३) समयको चाप : निर्वाचनको तयारीका लागि आयोगलाई समय निकै कम छ । सामान्यतः निर्वाचन मिति घोषणा भएपछि आयोगलाई १२० दिन आवश्यक पर्छ । तर, आयोगले ८२ दिन बाँकी हुँदा तयारी थालेको थियो । अब ४५ दिन बाँकी छ । यसबीचमा लजिस्टिक तथा प्राविधिक तयारीका लागि आयोगलाई समयको चाप रहेको आयुक्त नरेन्द्र दाहालको भनाइ छ । ‘निर्वाचनका लागि समयको चाप छ, तर आयोग त्यसलाई चिर्न सक्छ भनेर नै काम गरिरहेको छ,’ उनले भने ।

४) दलहरूको सुस्त तयारी  : प्रमुख दलहरू कांग्रेस, एमाले र माओवादी केन्द्रको निर्वाचनको तयारी अझै सुस्त छ । दलहरू निर्वाचनका लागि गाउँपालिका र नगरपालिकामा छिरिसकेका छैनन् । अहिलेसम्म निर्वाचन घोषणापत्र सार्वजनिक गरेका छैनन् । ‘दलहरूबीच सहमति देखिन नसक्नु र आन्तरिक तयारीलाई तीव्र नबनाउनु निर्वाचनका लागि सबैभन्दा ठूलो चुनौतीका रूपमा देखिएको छ,’ पूर्वकार्यवाहक प्रमुख आयुक्त दोलखबहादुर गुरुङले नयाँ पत्रिकासँग भने ।

५) जनशक्तिको अभाव : निर्वाचन आयोगसँग आवश्यक जनशक्तिको पनि अभाव छ । सरकारले अहिलेसम्म आयोगको तयारीका लागि आवश्यक जनशक्ति उपलब्ध गराउन सकेको छैन । आयोगले निर्वाचनका लागि सुरक्षाकर्मीबाहेक करिब एक लाख २६ हजार जनशक्ति आवश्यक पर्ने अनुमान गरेको छ । आयोगका सहसचिव सूर्यप्रसाद शर्माका अनुसार स्थानीय तहमा मतदाता शिक्षाका लागि कम्तीमा २१ हजार आवश्यक पर्नेछ । यी सबै जनशक्ति तयार भइसकेको छैन ।

६) मतदाता शिक्षा : १९ वर्षपछि हुन लागेको स्थानीय निर्वाचन नयाँ संरचनामा हुँदै छ । एकजना मतदाताले एउटा मतपत्रमा सात स्थानमा मतदान गर्नुपर्ने अवस्था छ । निर्वाचनमा सहभागी हुने दलको संख्या पनि धेरै छ । केही स्वतन्त्र उम्मेदवार पनि हुनेछन् । त्यसरी हेर्दा ठूलो मतपत्रमा छानेर मतदान गर्ने अभ्यास कम भएकाले मतदाता शिक्षा चुनौतीका रूपमा रहेको उप्रेतीको भनाइ छ । ०५४ को स्थानीय निर्वाचनमा पाँचजनालाई मतदान गर्नुपर्ने थियो । अबका गाउँपालिका र नगरपालिकामा व्यवस्थापिका, कार्यपालिका र न्यायिक समिति रहने भएकाले त्यसबारे स्थानीयलाई बुझाउन पनि मतदाता शिक्षा आवश्यक देखिन्छ । आयोगले विभिन्न १७ भाषामा एक महिना मतदाता शिक्षा सञ्चालन गर्दै छ । उसले एकजनाको हातमा एउटा मतदाता शिक्षा सामग्री पुग्ने गरी करिब तीन करोड प्रति छाप्दै छ । तर, राजनीतिक दलहरूले मतदातालाई शिक्षित बनाउन अभियान सञ्चालन गरेका छैनन् ।

७) स्थानीय तहको विवाद : स्थानीय तह निर्धारण भएपछि ७४४ मध्ये करिब ७५ वटा स्थानीय तहमा विवाद देखिएको छ । त्यसमध्ये मधेसका आठवटा जिल्लामध्येका सप्तरी, धनुषा, सर्लाही, महोत्तरी, रौतहट, बारा, रुकुम, नुवाकोट, खोटाङ, पर्वतलगायतका जिल्लामा विवाद देखिएको हो । ‘स्थानीय तहमा देखिएको विवाद पनि निर्वाचनको चुनौतीका रूपमा देखिएको छ,’ उप्रेतीले भने । ती स्थानीय तहमा निर्वाचनको भन्दा पनि वडा विभाजन र केन्द्र अपायक भएको भन्दै विवाद भएको हो । रुकुमको रन्मामैंकोटका स्थानीयले गाउँलाई दल निषेधित क्षेत्र घोषणा गरेको स्थानीय लक्ष्मीप्रसाद पुनले जानकारी दिए ।

८) निर्वाचन प्रणाली : स्थानीय तहको निर्वाचन प्रणाली प्रत्यक्ष निर्वाचन प्रणाली भए पनि त्यसअन्तर्गत व्यवस्था गरेको आरक्षण कोटाका कारणले निर्वाचन प्रणालीबारे जानकारी दिन मतदातामा समस्या हुने पूर्व प्रमुख आयुक्त उप्रेतीको भनाइ छ । संविधानले प्रत्येक वडामा दुईजना महिला हुनुपर्ने व्यवस्था गरेको छ, तर स्थानीय तह निर्वाचन ऐनले दुई महिलामध्ये एकजना दलित महिला अनिवार्य हुने व्यवस्था गरेको छ । दलित महिला उम्मेदवार नभएको गाउँपालिकामा उक्त कोटा के हुने हो भन्नेबारेमा मतदाता प्रस्ट छैनन् । उप्रेतीको भनाइमा उक्त कोटा रिक्त रहिरहनेछ, अर्को महिला उम्मेदवार हुन सक्ने छैनन् । कतिपय हिमाली जिल्लामा दलित समुदाय नभएका गाउँपालिका पनि रहेकाले दलित महिलालाई उम्मेदवार बनाउनैपर्ने कानुनी व्यवस्था उपयुक्त नभएको उप्रेतीको भनाइ छ ।

९) अन्तर्राष्ट्रिय समुदाय : नेपालको राजनीतिमा बढी चासो राख्ने चीन, भारत र पश्चिमा मुलुकले स्थानीय निर्वाचनलाई कसरी लिन्छन् भन्ने विषय खुलिसकेको छैन । निर्वाचन अन्तर्राष्ट्रिय तहमा पनि स्वीकार हुनुपर्ने पूर्वकार्यबाहक प्रमुख आयुक्त दोलखबहादुर गुरुङको भनाइ छ । ‘मतदाता, राजनीतिक दल र राष्ट्रिय पर्यवेक्षकले स्वीकार गरेको निर्वाचनलाई अन्तर्राष्ट्रिय समुदायले पनि स्वीकार गर्नैपर्छ,’ गुरुङले भने । भारतले नेपालको संविधानलाई अस्वीकार गरेका कारणले उसले संविधानअनुसार हुने स्थानीय निर्वाचनलाई कसरी मूल्यांकन गर्छ भन्ने चासो छ । त्यसैगरी, स्थानीय निर्वाचनलाई युरोपियन युनियनआबद्ध र अमेरिकाले कसरी लिन्छन् भन्ने पनि जिज्ञासा छ ।

को के भन्छन् ?

चुनाव  दुई–तीन चरणमा गर्नुपथ्र्यो: नीलकण्ठ उप्रेती, पूर्व प्रमुख आयुक्त

राजनीतिक दलहरूबीच सहमति हुन बाँकी देखिएको छ, यो नै सबैभन्दा ठूलो चुनौती हो । त्यससँगै स्थानीय तहमा देखिएको विवाद, समयको चाप, सुरक्षा, जनशक्ति पनि स्थानीय निर्वाचनका लागि चुनौतीका रूपमा देखिएका छन् । एकै दिन होइन, दुई–तीनपटक गरेर निर्वाचन गर्दा सहज हुन सक्छ ।

आशंकाकै बीचमा वातावरण बनाउनुपर्छ: दोलखबहादुर गुरुङ, पूर्वकावा प्रमुख आयुक्त

राजनीतिक दलहरूबीच देखिएको विवाद नै निर्वाचनका लागि सबैभन्दा ठूलो चुनौती हो । दलहरूबीच सहमति नहुँदा निर्वाचनको वातावरण बन्न सकेको छैन । त्यसले सुरक्षामा पनि चुनौती थपेको छ । त्यसकारण पहिला राजनीतिक वातावरण बनाउन सहमति आवश्यक छ । ०७० को निर्वाचनमा अघिल्लो दिनसम्म पनि निर्वाचन हुन्छ र भनेर नेताहरू नै सोध्थे, त्यसकारण आशंका हुन्छ, तर वातावरण बनाउनुपर्छ ।

निर्वाचनका तीनवटै पक्ष अस्पष्ट छन्: लक्ष्मणलाल कर्ण, सहअध्यक्ष सद्भावना

निर्वाचनमा निर्वाचन आयोग र सरकार, राजनीतिक दल र मतदाता गरी तीन पक्ष हुन्छन् । अहिले यी तीनै पक्ष अस्पष्ट छन् । मधेसमा आन्दोलन जारी छ । आन्दोलनबाट केही प्राप्त नहुँदासम्म निर्वाचनको वातावरण बन्दैन । सेना र प्रहरी लगाएर निर्वाचन गर्ने हो भने भन्नु केही छैन । होइन भने संविधानसँग असहमत दलहरूलाई साथ लिएपछि मात्रै सार्थक निर्वाचन सम्भव छ । -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईँलाई थप ५ दिन हिरासतमा राख्नअदालतले दियो अनुमति रुखले च्यापिएर एकको मृत्यु, दुई घाइतेको हेलिकोप्टरबाट उद्धार गरिँदै जीपीएसकाे भर पर्दा कार नदीमा खस्याे, तीन जनाको मृत्यु प्रदर्शनको २४ दिनसम्म ‘पूर्णबहादुरको सारंगी’ले कमायो साढे ४३ करोड आईपीएल इतिहासकै महँगा खेलाडी बने श्रेयस अय्यर अस्ट्रेलियाको राजदूतमा चित्रलेखा यादव नियुक्त फिल्म तेल भिसाको शुरुवाति कमाई कस्तो ? रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति मृत्युपश्चात अंग दान गर्नेका परिवारलाई २ लाख दिने स्वास्थ्यमन्त्रीको निर्णय एमालेद्वारा काठमाडौं महानगरको जरिवाना पत्र बुझ्न अस्वीकार, त्यसै फर्कियो महानगर टोली एमालेले काठमाडौं महानगरको जरिवाना नतिर्ने दुर्गा प्रसाईँको बन्दीप्रत्यक्षीकरण मुद्दा: सरकारको नाममा कारण देखाउ आदेश जारी एनपीएल खेल्न नेपाल आइपुगे काठमाडौं गुर्खाजका माइकल लेभिट हिरासतबाट दुर्गा प्रसाईँको पत्र, लेख्छन्- प्रमाण सत्य हो, कम्बोडिया लगानीबारे छानबिन गरियोस् गेस्ट हाउसमा दम्पत्तीको शव फेला, क्यानडाबाट दुई वर्षपछि शनिबार मात्रै फर्किएका थिए मानव इतिहासकै सबैभन्दा धनी व्यक्ति बने मस्क रास्वपाका नेताविरुद्ध अदालतको अवहेलना मुद्दाको पेशी न्यायाधीशद्वय फुयाल र ढकालको संयुक्त इजलासमा आज तोलामै १७ सयले बढ्यो सुनको मूल्य, चाँदी पनि महँगियो मलेसियाका पेट्रोल पम्पहरुमा काम गर्न विदेशी कामदारलाई खुला अनुसन्धानको म्याद सकिएकाले आज फेरि रविलाई कास्की अदालत उपस्थित गराइँदै