मोहन विष्ट/कत्तिक १, कञ्चनपुर । सुदूरपश्चिम क्षेत्रिय प्रहरी कार्यालय दिपालयबाट खटिएको क्षेत्रिय अनुसन्धान टिम महाकालीले फेरी बाघको छाला, हड्डी सहित एक जनालाई पक्राउ गरेको छ ।
आज बिहान कैलालीको घोडाघोडी नगरपालिका १० मैतुवा स्थित मोतिराम चौधरीको घरबाट एक पाठेबाघको छाला, हड्डी सहित उक्त कारोबारमा संलग्न गोडाघोडीकै स्थानिय गोपिराम चौधरीलाई पक्राउ गरिएको हो ।
क्षेत्रिय अनुसन्धान टिम महाकालीका इन्चार्ज बिरेन्द्र जोहारीले विषेश सूचनाका आधारमा मोतिराम चौधरीको घरमा खानतलासी गर्दा ६ फिट लामो २४ इन्च चौडाईको छाला र ३ किलो २५० ग्राम हड्डी बरामद गरेको जानकारी दिनुभयो । छाला, हड्डी र पक्राउ परेका चौधरीलाई आजै जिल्ला प्रहरी कार्यालय कैलालीमा बुझाएको इन्चार्ज जोहारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार चौधरीलाई राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार कार्बाही हुने छ । ऐन अनुसार चौधरीलाई एक लाख देखि पाँच लाख जरिवाना र एक वर्षदेखि पाँच बर्षसम्म जेल संजाय हुने सक्नेछ ।
पछिल्लो एक वर्षयता देखि सुदूरपश्चिमा क्षेत्रिय अनुसन्धान टिम महाकालीले दुर्लभ बन्यजन्तु चोरी तस्करी नियन्त्रणका लागि सकृय देखिएको छ । सो टिमले दर्जन बढि छाला पक्राउ गरेको छ ।