फागुन ५, कञ्चनपुर / कञ्चनपुर सदरमुकाम महेन्द्रनगरको भानुचोक नजिकै रावल रेस्टुरेन्टका सञ्चालक गणेश रावललाई नक्कली भारतीय नोट कारोबार गरेको आरोपमा पक्राउ गरिएको छ । नेपाली रुपैयासँग भारतीय रुपैयाँ साटिदिने भनेर भारतीय नक्कली नोटको कारोबार गरेको आरोपमा रावललाई पक्राउ गरिएको हो ।
वडा प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक कर्णबहादुर चन्दको नेतृत्वमा खटिएको टोलीले भीमदत्त नगरपालिका वडा नम्बर–२ महुलिया घर भई महेन्द्रनगरको भानुचोकस्थित रावल रेस्टुरेन्ट सञ्चालन गर्दै आएका २६ वर्षिय गणेश रावललाई होटलबाटै प्रहरीले पक्राउ गरेको छ ।
रावलले सय दरका भारतीय नक्कली नोट दिएर विभिन्न व्यक्तिलाई ठगेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता डिएसपी केदार खनालले जानकारी दिनुभयो । उहाँका अनुसार भारतीय रुपैयाँ साट्दा ठगिनेमा तिलकपुरका डबलबहादुर सिंह, कटानकी मन्जु सिंह, निम्बुखेडाका खगेन्द्र नाथ र सुडाकी कल्पना गिरी रहनुभएको छ ।