सम्राट सिंह, कात्तिक १९ बझाङ / जिल्लाको मेलबिसौना गाविसमा रहेको खाद्य डिपोमा चामल छैन तर खाद्य संस्थान बझाङमा गत बर्ष भित्रिएको चामल बिक्री नहुँदा गोदाममा नै कुहिने अवस्थामा पुगेको छ । स्थानिय बजारको दररेट भन्दा खाद्य संस्थानमा रहेको चामल महङ्गो र संस्थानको कार्यालय अपायक पर्ने ठाउँमा भएकाले चामल कुहिने अवस्थामा पुगेको हो ।
जिल्लामा मोटो चामल स्थानिय बजारमा प्रतिकिलो ३३ रुपिँया र खाद्य संस्थानले ३६ रुपिँया मा बिक्री गर्ने गरेको छ । जिल्लाको मेलबिसौना गाविसमा रहेको एकमात्र खाद्य डिपोमा चामल अभाव भएको तर जिल्ला खाद्य संस्थानको गोदाममा ५ सय ३ क्विन्टल चामल बिक्री नभएर कुहिने अवस्थामा छ ।
सरकारले स्थानिय बजार भन्दा सस्तो र गुणस्तर चामल बिक्री गरी जनता लाई राहत दिनुको साँटो प्रतिकिलो ३ रुपिँया महङ्गो लगाएर जनतालाई मारमा पारेको मेलबिसौना गाविस घर भएका सुरेन्द्र सिंहले बताए । खाद्य संस्थानको गोदाममा थन्किएको चामल तत्काल मेलबिसौना डिपोमा सार्नुपर्ने उनको भनाइ छ ।
गाउँमा चामलको माग छ तर संस्थानले चामल पु¥याउन सकेको छैन । खाद्य संस्थानको प्रधान कार्यालयले जिल्लाका विकट गाविसहरुमा थप खाद्य डिपो बिस्तार गरी जनतालाई सेवा दिनुपर्ने देखिन्छ । भौगोलिक विकटता भएको बझाङ जिल्लाका केही विकट गाविसका बासिन्दाहरुले भने मोटो चामल प्रतिकिलो ८० रुपिँया देखि १५० रुपिँया सम्म किनेर खानुपर्ने बाध्यता रहेको छ ।
महङ्गो मुल्यका कारण संस्थानको चामल बिक्री नभएको जिल्ला खाद्य संस्थान बझाङका प्रमुख ईश्वरी दत्त पाण्डेले बताए । उनले भने पौष महिना भित्र चामल डिपोमा सार्न खाद्य संस्थानको प्रधान कार्यालय र क्षेत्रिय कार्यालयमा पत्राचार गरेको छु आदेश आउने बितिकै चामल डिपोमा सारी बिक्री गरिन्छ ।