असार ८, मलेसिया | मलेसिया सरकारले आफ्नो देशमा गैरकानुनी हैसियतमा रहेका विदेशी कामदारको नाम दर्ता गराउन रोजगारदाताहरूलाई १० दिन (यही जुन ३०) को समय दिएको छ ।
नाम दर्ता नगरी काम दिइए जुन ३० पछि रोजगारदाताले कारबाही भोग्नुपर्ने चेतावनी मलेसियाली सरकारले दिएको छ । सरकारी समाचार संस्था ‘बर्नामा’ ले मलेसियाली अध्यागमन विभागका महानिर्देशक दातुक मुस्ताफिर अलीलाई उद्धृत गर्दै जुन ३० भित्र आफूसँग भएका गैरकानुनी कामदार दर्ता नगर्ने रोजगारदाताले कानुनी कारबाही बेहोर्नुपर्ने जनाएको छ । रोजगारदाता र कामदारले उक्त अवसरको सदुपयोग गर्नुको सट्टा ‘जरिवाना तिरपछि सबै ठीक हुन्छ’ भन्ने मनसायले ढुक्कै भएर बसेको भन्दै समयसीमाभित्रै दर्ता नगरे कडा कारबाही हुने पनि महानिर्देशक अलीले बताए ।
कतिपय रोजगारदाताले सरकारी प्रावधानविपरीत दर्ताबिनै रोजगारी दिंदै आएका छन् । गैरकानुनी कामदारलाई काम दिने रोजगारदातालाई १० हजारदेखि ५० हजार रिंगिटसम्म जरिवाना र एक वर्ष जेल वा दुवै सजाय हुने कानुनी प्रावधान छ । वैदेशिक रोजगारीका लागि नेपालीको समेत प्रमुख गन्तव्य मलेसियामा कानुनी रूपमा करिब ५ लाख नेपाली छन् । गैरकानुनी अवस्थामा कार्यरत पनि थुप्रै हुन सक्ने अनुमान छ ।
नाम दर्ता गराउन आफ्नो पूर्ण विवरण र रोजगारदाता कम्पनीको प्रतिनिधिसहित अध्यागमन कार्यालयमा उपस्थित हुनुपर्ने प्रावधान छ । त्यसपछि रोजगारदाताले प्रतिकामदार ५ सय रिंगिट र कामदार स्वयंले ३ सय गरी ८ सय रिंगिट जरिवाना तिर्नुपर्नेछ । यसरी दर्ता हुन कामदार गैरकानुनी भएको कम्तीमा ६ महिना पुगेको, आपराधिक पृष्ठभूमि नभएको, संयुक्त राष्ट्रसंघमार्फत शरणार्थी परिचयपत्र नलिएको हुनुपर्नेलगायत नियम छन् । कामदारको बायोमेट्रिक विवरण दर्ता गरपछि विभागले त्यस्तो कार्ड उपलब्ध गराउछ । उक्त कार्डको म्याद आगामी वर्ष फेब्रुअरी १५ सम्म रहने जनाइएको छ । महानिर्देशक अलीका अनुसार त्यस्तो कार्ड गत जुन ७ सम्ममा १ लाख ४ हजार ५ सय ७ जना कामदारले लिइसकेका छन्। तीमध्ये हजारौं नेपाली रहेको अनुमान छ ।
मलेसियाले गत २००९ यता झन्डै दर्जनपटक यस्तो अवसर दिइसकेको छ । पछिल्लोपटक फेब्रुअरी १५ देखि यही जुन ३० सम्मका लागि अध्यागमन विभागमा दर्ता गराई ‘इन्फोर्समेन्ट कार्ड’ लिनुपर्ने नयाँ कार्यक्रम घोषणा गरको थियो । त्यसअघि उसले ‘रिहाइरिङ प्रोग्राम’ भनिने दर्ता कार्यक्रम सञ्चालन गरको थियो। उक्त कार्यक्रमको अवधि गत जनवरी १५ मा सकिएको थियो । लगत्तै फेब्रुअरी १५ बाट ‘पुनः भर्ना एवं स्थानान्तरण कार्यक्रम’ सुरु भएको हो । पटकपटक यस्ता अवसर ल्याए पनि गैरकानुनी कामदार मलेसियालाई पिरलो बन्दै आएको छ । गैरकानुनी विदेशी कामदारको संख्या घटाउन सफल भए पनि मलेसिया अपेक्षित रूपमा मुलुकबाटै हटाउन भने सफल छैन । बिचौलियाबाट हुने कामदार ठगी
नियन्त्रण गर्न यो प्रक्रिया प्रभावकारी भए पनि अझै लाखौं विदेशी कामदार दर्ताबिनै काम गरिरहेको अनुमान छ । – कान्तिपुर