दुई दशकपछि सम्पन्न स्थानीय निर्वाचनमा मतदान अधिकृतको जिम्मेवारी पाएर कार्यक्षेत्रमा त पुगियो तर निर्वाचनका दिनमा धेरै रमाइला र दुःखदायी प्रसङ्गहरु देखियो । तिनै प्रसङ्गहरुले मनमनै घोचिरह्यो । हाम्रो नेपाली समाजको अवस्था र यसको व्यवहारिकता राम्रैसँग झल्किएको थियो बुथहरुमा । यिनै घटनाहरुलाई समेटेर केही लेख्न मन लाग्यो र प्रयास मात्रै गरेको हुँ ।
राज्य सञ्चालनको जिम्मेवारी स्थानीय जनतालाई दिने उद्देश्यका साथ तीन चरणमा हुन लागेको निर्वाचनको दोस्रो चरण अन्तर्गत यही असार १४ गते निर्वाचन सम्पन्न भएको छ । जुन निर्वाचनबाट निर्वाचित पदाधिकारीहरुबाट गाउँ सभा, नगरसभा तथा जिल्ला समन्वय समितिको निर्माण गरिनेछ । यो स्थानीय संरचना तयार भएलगत्तै मुलुकको विकासले तीब्रता लिने धेरैको आशा एवम् विश्वास रहेको छ ।
स्थानीय निर्वाचनलाई सफल बनाउनका लागि राज्यले पैसाको खोलो बगाएको छ । म्यादी प्रहरी भर्तीदेखि लिएर निर्वाचनका लागि आवश्यक सामग्रीहरुको खरिद तथा यसको व्यवस्थापनका लागि ठूलै रकम खर्च भएको छ । निर्वाचनका लागि प्रयोगमा आउने सियोदेखि, म्याट तथा स्ट्याम प्याड तथा मसीहरु विभिन्न मुलुकहरुदेखि आयात गरिएका छन् । यति मात्रै नभएर इतिहासकै वा संभवतः विश्वकै ठूलो आकारको व्यालेट पेपर बनाएर रेकर्ड कायम गरेको छ स्थानीय निर्वाचनले । संसारमा निर्वाचका लागि आधुनिक प्रविधिहरुको प्रयोग भैरहँदा नेपालमा भने उही परम्परागत प्रविधिको प्रयोग गरिएको छ । यो एउटा वाद्यात्मक परिस्थिति पनि हो किनकी नेपालमा नै हरेक जातजाति, भाषा, धर्म र सिद्धान्तका आधारमा राजनैतिक दलहरु खोलेर दर्ता गर्ने अधिकार छ । यस अर्थमा पनि अधिक पार्टीका कारणले गर्दा पनि व्यालेट पेपर ठूलो आकाको भएको हो ।
व्यालेट पेपर (मतपत्र) त ठूलो आकारको भयो तर आम जनतालाई यसको प्रयोगका बारेमा बुझाउनका लागि राज्यले तीन महिनादेखिको भत्ता दिएर खटाएका कर्मचारी अर्थात निर्वाचन शिक्षा कार्यकर्ताहरुको शिक्षा प्रभावकारी नभएको गुनासो सुनियो । यतिसम्म कि, उनीहरुले मत दिने तरीका, मतपत्र पट्याउने तरीका र चिन्हहरुको विविधताहरुको बारेमा आम जनताहरुलाई बुझाउनुको साटो आफ्नै दलको प्रचार प्रसारमा लागेको गुनासो सुन्नमा आयो । यो कुरो जब बुथबाट नै निर्वाचनलाई नियाल्ने मौका पाइयो तब प्रतक्ष्य रुपमा जानकारी पाइयो ।
बर्दिया जिल्लाको कुरा गर्दा गत चैत्र २८ मा साक्षर जिल्ला घोषणा गरियो । यसरी जिल्ला साक्षर भएको पनि एक वर्ष भन्दा बढी भैसकेको छ तर मतदाता परिचयपत्र वितरण कार्य भैरहँदा म हस्ताक्षर गर्न जान्दिन भन्ने मतदाताहरु बाक्लै भेटिनुले साक्षर जिल्लालाई पनि अझ चुनौती थपिदिएको छ भने साक्षर घोषणा लागि गरिएको लगानी निरक्षरहरुलाइ साक्षर बनाउन भन्दा पनि घोषणाका कार्यक्रमहरु गर्दैमा सकिएको प्रमाणित हुन्छ । सामान्य नाम थर लेख्न जान्ने र दैनिक जीवनका केही हिसाबकिताहरु राख्न सक्ने बनाउने उद्देश्य माटोमै विलिन भएजस्तो देखियो ।
अर्को कुरा कतिपय मतदाताहरुले मत दिनको लागि मतपत्र लिनु पर्छ भन्ने कुरा समेत थाहा नपाएको देखियो । कतिपय मतदाताहरुले मतपत्रमा रोजेको चिन्हमा स्वतिक चिन्ह सङ्केत गरिसकेपछि मतपत्र नै लिएर बाहिरिन लागेको पनि देखियो । सुरक्षाकर्मीले ‘ए हजुर यो घर लिएर जाने चिज होइन ऊ त्यहाँको बाकमा हाल्नुस्, भन्नु पर्ने अवस्था पनि देखियो । यसको कारण निशिकाहरुले मतदानको प्रक्रिया, बुथको संरचनाका बारेमा बताएका रहेनछन् भन्ने प्रष्टिन आयो । यसैगरी मतदान केन्द्रमा केही मतदाताहरुरुले आफ्नो मत सङ्केत गरेको मोबाइलबाट खिच्ने प्रयास गरेको देखियो र, कसैले खिचिहाले पनि । राज्यले यति धेरै लगानी गरेर गोप्य मतदानको व्यवस्था गरेको छ तर आफूले गरेको मत सङ्केतको तस्वीर खिचेर सार्वजनिक गरिदिने नियत भएका व्यक्तिहरुले नै निर्वाचन शिक्षा पाएका रहेनछन् । गोपनियता सार्वजनिक गरेमा त्यस्ता मतदाताहरुलाई १ लाख रुपैंया सम्म जरिवाना गराउन सकिने कानुनी व्यवस्था रहेका कुरा पनि बताइएको रहेनछ । त्यसका बारेमा पनि निशिकाहरुले मतदातालाई केही जानकारी गराएको पाइएन । जसका कारण प्रहरीले मोबाइल जफत गरेका थिए ।
यति मात्रै हैन कोही मतदाताहरुले मतपत्र लिएर गोप्य मतदान कक्षमा पुगेर हातमा स्वस्तिक छाप लिइसकेको अवस्थामा सिधै मतदान अधिकृतसँग आएर ए हजुर कहाँ हाल्ने भोट भनेर सोधेको पनि पाइयो । अनि मत सङ्केत गरिसकेपछि पनि पट्याउने मेसो नपाएर पनि धेरै मतदाताहरु अलमलमा परेका थिए । यसका साथै अन्तिमका दुई सदस्यहरुको पहिलो र दोस्रो चिन्हमा पनि धेरै झुक्किएको पाइयो । हाम्रो पार्टीको त एउटा मात्रै चिन्ह हो यहाँ कसरी दुईओटा आयो एउटा चिन्ह त बढी भयो नि भन्न समेत भ्याए मतदाताहरुले ।
समग्रमा भन्नु पर्दा मतदाताहरु पहिलाका भन्दा यसपाललीको निर्वाचन फरक तरीकाको भएको र मतपत्र र प्रक्रिया पनि फरक भएका कारणले निशिकाहरुले राम्ररी मतदाताहरुलाई शिक्षा नदिएको पाइयो । हुनत निर्वाचन सम्बन्धि विभिन्न सचेतनामूलक सामग्री अडियो तथा भिडियोहरु विभिन्न सामाजिक सञ्जाल तथा रेडियो, टेलिभिजनहरुबाट प्रसारण गरिरहेको थियो । पत्रपत्रिकाहरुमा प्रकाशित गरिएका सन्देशहरु निरक्षर जनतासम्म पुग्न नसक्ने र पुगेपनि नुबझिने समस्या भएका कारण रेडियो तथा टेलिभिजन अर्थात श्रब्य÷दृश्य माध्यम नै सबल माध्यम भएता पनि यसले खासै परिणाम दिन नसकेको महशुुस भयो । कतै कतै साना हाते पुस्तिकाहरु पनि वितरण गरिएको थियो ।
निशिकाहरुले पनि कुनै पनि गुनासो नआउने गरी काम गरेको भए सायदै यस्तो हुने थियो होला । गाँईगुईँमा उनीहरुले शिक्षा दिनु भन्दा पनि आफू आवद्ध पार्टीमा मतदान गर्नका लागि नै मतदाताहरुलाई शिक्षा दिएको गुनासो आएको थियो । राज्यले स्थानीय सरकार बनाउनका लागि र सिंहदरबारको अधिकार गाउँ गाउँमा पु¥याउनका लागि यति धेरै लगानी गरेको छ तर यो लागानीलाई सदुपयोग गर्ने गराउने कार्यमा सबै दलहरु तथा सम्बद्ध व्यक्तिहरुको हो ।
हुनत निर्वाचन भन्ने वित्तिकै पैसाको खोलो बगाउने प्रचल पहिले देखि नै चलि आएको हो । यसपालि पनि यो खालको संस्कार नदेखिएको भने हैन । कतै कतै पैसा बाँडिएका हल्लाहरु पनि सार्वजनिक भ एभने कतै पैसा बाँड्न लाग्दा झडपहरु पनि भएका समाचारहरु आए । सामाजिक सञ्जालहरुमा विभिन्न पार्टीका खानाका कुपनहरु सार्वजनिक गरिए । जसमा खाना मात्रै नभएर दानाका कुराहरु पनि देखिन्थे । यति मात्रै नभएर टिसर्ट, टोपी, रुमाल, गम्छा लगायतका सामग्रीहरु समेत टन्ने वितरण गरिएको थियो । गाडिहरु रिजर्भमा थिए । सिमानामा रहेका जिल्लामा भने भारतीय नम्बर प्लेटका गाडीहरु कुदे । त्यस्तै जेनेरेटर जडित साउण्ड सिस्टमहरु पनि बजेका थिए । पोस्टर, पम्प्लेटहरुमा पनि टन्नै पैसा दलहरुले खर्च गरे ।
यसपाली एकजना मतदाताले भन्दै थिए कि ‘आफू त व्यस्त मान्छे, गाडि चल्दैन, जसले मलाई लिन जान्छ उसैलाई भोट हाल्ने हो ।’ यस्ता अभिव्यक्तिले कोही मतदाताले निर्वाचनको महत्वलाई नबुझेको पाइयो । त्यसैले पनि घरघरमा गाडि पु¥याएर नेताहरुले मतदाताहरुलाई मतदानकेन्द्रमा ओसार्नु पर्ने अवस्था आयो । यति मात्रै हैन राजधानीमा बस्नेहरुका लागि भोट दिनका लगि गाउँमा आउन अलग बसहरुको व्यवस्था गरेर ल्याइएको पाइयो ।
जे जति गरेतापनि हरेक बुथमा पुरुषको तुलनामा महिला मतदाताहरुको संख्या बढी थियो । यसले के जनाउँछ भने अब गाउँमा रहने पुरुष भनेका जेष्ठ नागरिकहरु, बालबालिकाहरु र विद्यार्थीहरु, जागिरे तथा व्यापारीहरु मात्रै हुन् । यसले हाम्रो समाज सक्षम र सबल पुरुषविहिन हुने त होइन भन्ने त्रास पनि एकातिर उब्जाएको छ । यस कुराले यो समाजमा रोजगारीको सिर्जना गर्न र युवाहरुलाई विदेश जानबाट रोक्नका लागि पहल कदम चाल्नु पर्ने देखिन्छ । जुन अबका जनप्रतिनिधिहरुको पहिलो प्राथमिकताको काम हुनु पर्दछ ।
यी यावत कुराहरु मनष्पटलमा छाड्दै स्थानीय निर्वाचनको दोस्रो चरण समाप्त भएको छ । मतगणना जारी रहेको छ । कतै कतै विजयोत्सव पनि गरिएको छ । तर, हारजित भन्दा पनि अबका जनप्रतिनिधिहरुबाट सहि, सक्षम र सबल नेतृत्व पाउनु नै स्थानीय निर्वाचनको ध्येय हो । अतः जे जसरी भएपनि यो मुलुकको विकास र समृद्धिका लागि स्थानीय जनप्रतिनिधिहरु जिम्मेवार भएर काम गर्नुपर्ने देखिन्छ ।
जनप्रतिनिधिको नेतृत्वमा भ्रष्टाचारमुक्त समाज निर्माण गर्दै स्थानीय विकास र समृद्धिको ढोका खोल्न जुनसुकै पार्टीका प्रतिनिधिहरु आएपनि साथ र सहयोग गर्नु पर्ने आवश्यकता देखिन्छ ।