११ मंसिर २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

लिलाबल्लभको बयान : म आफैँ पीडित हुँ, अपराधमा संलग्नलाई पक्राउ गर्न सहयोग गरेँ

११ मंसिर २०८१, मंगलवार १४:३०

काठमाडौँ | कोशी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानूनमन्त्री लिलाबल्लभ अधिकारीले आफू जोडिएको मानव बेचबिखन र लिखत किर्ते मुद्दामा आफैँ पीडित भएको बयान दिएका छन् ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले उनलाई मुद्दा नचलाउने निर्णय गरिसकेको छ । उनी रिहासमेत भइसकेका छन् । सो प्रकरणमा अन्य ११ जनाविरूद्ध भने जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ ।

पर्याप्त आधार, प्रमाण नदेखिएको भन्दै अधिकारीलाई उन्मुक्ति दिइएको हो । अधिकारीले बयानमा अपराधमा संलग्नलाई पक्राउ गर्न सहयोग गरेको दाबी गरेका छन् ।

अधिकारीको बयान-

केही समयअगाडि मलाई मेरो छिमेकी रतुवामाई नगरपालिका स्थायी घर भएका मेरो पुरानो साथी गोपाल भन्ने योगराज गौतमले फोन गरी जापानमा एउटा राम्रो कार्यक्रम आयोजना हुँदै छ, आयोजककै खर्चमा जानेगरी पठाइदिन्छु भने।

म यसभन्दा अगाडि पनि वर्ल्ड युथ फेडेरेसनको आयोजनामा दक्षिण अफ्रिकामा भएको विश्व युवा सम्मेलनमा भाग लिइसकेको छु। यस्तै गरी वर्ल्ड पिस काउन्सिलको आयोजनामा फिलिपिन्स, श्रीलंका समेतमा भएको कार्यक्रममा भाग लिइसकेको छु।

त्यस्तै गरी इन्टरनेसनल डेमोक्रेटिक लयर्स एसोसियसनकोको आयोजनमा बेल्जियमको राजधानी ब्रसेल्समा भएको सम्मेलन तथा अमेरिकाको लसभेगासमा लायन्स इन्टरनेसनलको कार्यक्रममा समेत भाग लिइसकेको छु। लायन्स इन्टरनेसनलको कार्यक्रममा बाहेक अन्य कार्यक्रमहरूमा भाग लिन जाँदा आयोजकले नै सबै खर्च बेहोरेका हुँदा जापानमा हुने भनिएको कार्यक्रममा समेत मलाई आयोजकले नै खर्च बेहोर्ने भनि गोपाल भन्ने योगराज गौतमले मलाई भनेकाले म सोहीअनुसार जापानमा गएको हुँदा मैले आयोजक कै खर्चमा जाने हो भने हुन्छ भनेको थिएँ ।

कुराकानी भएको केही दिनपछि निज योगराज गौतमले मेरो राहदानी मागेकाले मैले मेरो राहदानी निजलाई दिएको थिएँ। निजले राहदानी लगेपछि को कसलाई दिए र मेरो राहदानीमा जापानको भिसा लागेको भन्ने कुरा मलाई थाहा भएन। मिति २०८१ कात्तिक १० गते मलाई योगराज गौतमले फोन गरी तपाईंको जापानको फ्लाइट भोलि राती ९ बजेको समयमा छ, टिकट मैले हिजो नै ह्वाट्सएपबाट पठाइदिएको छु भने।

मैले उनलाई कार्यक्रमसम्बन्धी सम्पूर्ण कागजातहरू पठाइदिनु भन्दा निज हुन्छ, हुन्छ भन्दै आलटाल गरी बसे तर पठाएनन्। ११ गते साँझ ५ बजेको समयमा मेरो भिसा लागेको राहदानी, प्लेनको टिकट र कार्यक्रमको सम्पूर्ण कागजातहरू समेत मलाई योगराज गौतमसँग आएका महेश पाण्डेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ टर्मिनल भवनको बाहिर रहेको कान्तिपुर क्याफेमा भेटेर दिएका हुन्। सोही समयमा मात्र मैले महेश पाण्डे भन्ने व्यक्तिलाई देखेको र भेटेको हुँ। सोही बेलामा मेरो अंगरक्षकलाई फोटो खिच्न लगाएको थिएँ, सो फोटो पनि मैले प्रहरीलाई तत्कालै पठाइसकेको छु।

महेश पाण्डेले मलाई सबै कागजातहरू यसैमा छ हेर्नु भनिदिएपछि मैले ती कागजातहरू आफ्नो झोलामा राखी अन्तर्राष्टिय विमानस्थलभित्र प्रवेश गरी जापानको लागि क्याथे पेसीफिक विमानबाट जापानतर्फ प्रस्थान गरेको हुँ।

जापानको लागि फ्लाइटबाट हिँडेपछि हङकङमा ट्रान्जिट परेकोले म सोही ट्रान्जिटमा बसिरहेको समयमा मलाई हाल पक्राउ परेका कञ्चन देवकोटा, जनक राई र दावा शेर्पासमेत मलाई भेटन आई हामीहरू समेत हजुरसँगै सोही कार्यक्रममा जानको लागि हिँडेको हो भनेपछि मलाई शंका लागि हङकङबाट जापानको लागि हिँडेपछि नारिता विमानस्थलमा झरी इमिग्रेसनमा लाइनमा बसीरहेको अवस्थामा कञ्चन देवकोटा, जनक राई र दावा शेर्पा समेतले हामीहरूलाई समेत सँगै लानु भन्दा मैले निजहरूलाई म तपाईंहरूलाई चिन्दिनँ, म एक्लै आएको हुँ भने।

उनीहरूले कसरी चिन्नु हुन्न? हामी तपाईंकै कर्मचारी हौँ भनी जनक राईले म मन्त्री रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको कर्मचारी परिचयपत्रसमेत देखाएपछि मैले सोही परिचयपत्र तत्कालै आफ्नो हातको हत्केलामा राखी मोबाइलबाट फोटो खिचेँ।

प्रस्ट रूपमा थाहा भयो कि मलाई निमित्त कार्यालय प्रमुखको रूपमा उल्लेख गरी किर्ते परिचयपत्र बनाएको देखिएबाट यिनीहरूले मेरो सही छाप किर्ते गरी म तत्काल कार्यरत रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको नक्कली कार्ड प्रयोग गरेका रहेछन्। मेरो मन्त्रालयको मेरो सही छापसमेत किर्ते गरी परिचयपत्रसमेत बनाएको थाहा पाएपछि यससम्बन्धी सम्पूर्ण सूचनाहरू जापानको नारिता विमानस्थलबाटै कोसी प्रदेश प्रहरी प्रमुख र प्रहरी नायब महानिरीक्षक राजन अधिकारीलाई ह्वाट्सएपमार्फत मेरो सही छाप किर्ते गरी बनाएको कर्मचारी परिचयपत्रको फोटो, कार्यक्रमको सम्पूर्ण कागजातहरू अपराध अनुसन्धानका लागि मैले पठाएको हुँ।

म नारिता विमानस्थलबाटै मलाई फिर्ता गरिदिनु म कार्यक्रममा जान्नँ भनी फिर्ता आएको हुँ। यसरी मानव तस्कर तथा किर्तेसम्बन्धी अपराधबारे मौकामै आफूलाई थाहा हुने बित्तिकै प्रहरीलाई सुचना गर्ने व्यक्ति म हुँ। म यस अपराध घटनाको पीडित र अपराधको पहिलो सूचकसमेत भएको हुँदा म अपराधमा संलग्न व्यक्ति होइन।

मसँग हङकङमा भेट भएका कञ्चन देवकोटा, जनक राई र दावा शेर्पालाई मेरै सूचनाको आधारमा प्रहरीले पक्राउ गरी अनुसन्धानसमेत भइरहेको छ। मेरो हैसियत भनेको अपराधको सूचना दिने सरकारी गवाह हो मेरो र मेरो मन्त्रालयको सही छाप र परिचयपत्र किर्ते गरी बनाएको हुँदा म आफैँ पीडित हुँ, दोषीमाथी कारबाही गरी मैले न्याय पाऊँ।

जनक राई र कञ्चन देवकोटाको नाममा कोसी प्रदेश सरकार लेखिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालय विराटनगर लेखिएको कर्मचारी परिचयपत्रको डिजिटल कार्डहरू म सोही मन्त्रालयको मन्त्री भएको हुँदा ती कार्डहरू किर्ते गरी बनाएका नक्कली कार्डहरू हुन्।
जनक राई र कञ्चन देवकोटा कोसी प्रदेश सरकार लेखिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालय विराटनगरका कर्मचारीहरू होइनन्।

निजहरूको नाममा बनेको कर्मचारी परिचयपत्रको डिजिटल कार्डमा मेरो नाम लेखी सहीसमेत गरेको सहीछाप मेरो होइन। मेरो सहीछापसमेत किर्ते गरेको हो। जापानमा हुने कार्यक्रममा सहभागी हुनको लागि म नेपालबाट उड्नुभन्दा केही समयअगाडि मात्र महेश पाण्डेले मलाई मेरो भिसा लागेको राहदानी, प्लेनको टिकेट र कार्यक्रमको कागजातहरू दिएकाले मैले सबै कागजातहरू हेर्न भ्याएको थिएन। के कसरी, को कसले कञ्चन देवकोटाको नाममा एउटै होटल बुकको कसले गरेका हुन्, मलाई थाहा भएन।

म नेपालबाट जापानमा हुने कार्यक्रममा भाग लिन जाँदा एक्लै गएको र सो कार्यक्रममा म जानुभन्दा अगाडि कञ्चन देवकोटासमेतका प्रतिवादीहरू मसँग नै जापानमा जाँदै छन् भन्ने कुराको जानकारी मलाई थिएन। कञ्चन देवकोटा, जनक राई र दावा शेर्पालाई मैले हङकङमा मात्र भेटेको हुँदा निजहरूलाई को कसले के कति रकम लिई जापानमा पठाएका हुन्, मलाई थाहा भएन।

निजहरूबाट मैले कुनै पनि रकम लिएको छैन। जापानमा हुने ७ दिनको कार्यक्रममा सहभागी गराउने आयोजकहरू को हुन्, मलाई थाहा भएन। आयोजकसँग मेरो सम्पर्क चिनजानसमेत छैन। गोपाल भन्ने योगराज गौतम मेरो छिमेकी नगरपालिकाका स्थानीय बासिन्दा र मेरो पुरानो साथी भएकाले राम्रोसँग चिन्दछु। महेश पाण्डेलाई मैले मिति २०८१ कात्तिक ११ गते मात्र भेटेको हुँ।

कञ्चन देवकोटा, जनक राई र दावा शेर्पालाई म चिन्दिनँ। निजहरूलाई को कसले जापान पठाएका हुन्, मलाई थाहा छैन । मलाई जापानमा कार्यक्रम हुँदै छ, आयोजकले खर्च बेहोर्छन् जाने भनी मलाई योगराज गौतमले सोधेकाले मैले हुन्छ भनेपछि निजले मेरो राहदानीसमेत लगी को, कसलाई भनी भिसा लगाएका हुन्, मलाई थाहा भएन।

म जापान उड्ने दिनमा मात्र मलाई महेश पाण्डे भन्ने व्यक्तिले भिसा लागेको राहदानीसमेतका कागजातहरू दिएको भन्ने कुरा मैले माथि नै बयानको क्रममा खुलाई लेखाइसकेको छु। म हङकङको ट्रान्जिटमा रहेको अवस्थामा निजहरूले मलाई नमस्कार भन्दै आए, मलाई कसरी चिन्नु भयो भनी सोध्दा निजहरूले हामीहरूलाई कसैले फोटो पठाएको थियो, सोही फोटोमार्फत चिनेका हौँ भनेकाले निजहरूसँग मेरो हङकङमा भेटघाट हुनु एक संयोग मात्र हो।

निजहरूसँग मेरो सोभन्दा अगाडि चिनजान, सम्पर्क, भेटघाट केही थिएन र छैन। निजहरूले साथमा बोकेको कर्मचारी परिचयपत्र नक्कली भन्ने कुरा मैले थाहा पाउनेबित्तिकै यिनीहरूले मलाई नियोजित ढंगले प्रयोग गरेको कुरा थाहा पाउनासाथ तत्कालै मैले आफू जापानको कार्यक्रममा भाग लिन जान्नँ भनी नारिता विमानस्थलबाटै फिर्ता भई किर्ते गरी परिचयपत्र बनाई तस्करी भएको सम्बन्धमा मैले तत्कालै प्रहरीलाई जानकारी गराई अपराधमा संलग्न मानिसहरूलाई पक्राउ गर्न सहयोग गरेको हुँ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका नेताहरूविरुद्धको अवहेलना मुद्दामा सर्वोच्चद्वारा ‘अन्य आदेश’ कम्बोडिया काण्डमा प्रधानमन्त्री ओलीलाई हत्कडी लगाएर छानविन गर्नुपर्छ: राप्रपा काठमाडौँ–१६ मा स्वतन्त्र उम्मेदवार पन्तको साथ रास्वपालाई प्रसाईंलाई सर्वोच्च अदालतबाट वीर अस्पताल लगियो एनपीएलमा ‘प्लेयर अफ द सिरिज’ घोषित हुने नेपाली खेलाडीलाई शारडा ग्रुपले कार दिने दृष्टिविहीन विश्वकप क्रिकेट : नेपालको लगातार दोस्रो जीत घरको फोहोर सडकमा थुपार्दा १० हजार जरिवाना हिरासतबाट रविको चेतावनी- राज्यले यसरी दुःख दिने हो भने नीलो क्रान्तिको रङ्ग बदल्नुपर्ने हुनसक्छ प्रधानमन्त्री ओलीसँग विप्लव र प्रकाण्डको भेटवार्ता लिलाबल्लभको बयान : म आफैँ पीडित हुँ, अपराधमा संलग्नलाई पक्राउ गर्न सहयोग गरेँ रास्वपाका नेताविरुद्ध अदालतको अवहेलना मुद्दामा सुनुवाइ सकियो इमरानको रिहाइका लागि सुरु भएको प्रदर्शनमा ६ सुरक्षाकर्मीको मृत्यु विदेश पठाइ दिने बहानामा ठगी गर्ने तीनजना पक्राउ रिहा हुनासाथ पशुपतिनाथ मन्दीर पुगे पूर्वमन्त्री अधिकारी रवि लामिछानेको रिहाइको माग गर्दै माइतीघरमा प्रदर्शन नतिजा सार्वजनिक भएको सात वर्षपछि परीक्षा रद्द सर्वोच्च अदालतको बोर्डमा कालोमसी छर्किएकी बिनु यादव पक्राउ प्रदर्शनको तीन दिनमा कति कमायो फिल्म ‘तेल भिसा’ ले ? एनपीएलका लागि टिकट मूल्य सार्वजानिक, कुन दिनको कति पर्छ टिकटको मूल्य ? भुजेलको गाडीले ठक्कर दिँदा मृत्यु भएका नगरकोटी दम्पतीका दुई छोरीको अभिभावक बन्ने प्रचण्डको घोषणा