काठमाडौँ । काठमाडौँ महानगरपालिका (कामपा)ले सार्वजनिक स्थानमा फोहर फाल्ने जोकोहीलाई पाँच हजारदेखि १५ हजारसम्म जरिवाना गराउने भएको छ ।
कामपा वातावरण विभागका अनुसार कामपा क्षेत्रका घर कम्पाउन्ड तथा परिसरको फोहरमैला सडक, फुटपाथ तथा अन्य सार्वजनिक स्थानमा फाल्ने, राख्ने वा थुपार्नेजस्ता कार्य गरे रु पाँच हजारदेखि १५ हजारसम्म कारबाही गर्ने भएको हो ।
कामपा वातावरण विभागका प्रमुख सरिता राईका अनुसार जथाभाबी फोहर फाल्दा दुर्गन्धित हुनुका साथै नागरिकको जनस्वास्थ्यमा समेत गम्भीर असर गर्ने भएकाले पूर्ण रूपमा यस कार्यलाई प्रतिबन्ध गरिएको हो ।
यदि कामपाको आग्रहलाई बेवास्ता गरी सार्वजनिक स्थानमा फोहर फालेको कामपाको अनुगमन टोलीले भेटे कामपाको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ को दफा (च) बमोजिम कारबाही हुने पनि कामपाले स्पष्ट पारेको छ ।
यसैबिच कामपाले फोहर व्यवस्थापन कार्यलाई थप प्रभावकारी बनाउनका लागि ३२ वटै वडामा छवटा क्षेत्र निर्धारण गरी काम गर्ने लागिएको वातावरण व्यवस्थापन विभागले बताए |
प्रमुख राईका अनुसार फोहरमैला व्यवस्थापन ऐन, २०६८ तथा काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ अनुसार फोहर स्रोतमै वर्गीकरण गर्नुपर्ने कानुनी व्यवस्था छ ।
हाल वडा नं ५, १०, २४, २५, २६ र २७ मा स्रोतमै फोहर वर्गीकरण भइरहेको छ । अब छिट्टै अन्य वडामा पनि फोहर वर्गीकरण गरेर मात्र व्यवस्थापन गर्ने तयारी कामपाको छ । स्रोतमा उत्पादित फोहरमध्ये २० प्रतिशत बञ्चरेडाँडामा लैजाने र बाँकी सेवा प्रदायकमार्फत व्यवस्थापन गरिने छ ।