पढ्न करिब 1 मिनेट लाग्छ

साउन १३, चितवन । चितवनको भरतपुरस्थित जिल्ला कारागारमा क्यान्सर रोगका कारण एक कैदीको मृत्यु भएको छ ।

मकवानपुर हाँडीखोला घर भएका ४७ वर्षीय कैदी सीताराम विकको आज बिहान करिब ५ बजेतिर मृत्यु भएको जिल्ला कारागार चितवनका जेलर कमल काफ्लेले जानकारी दिनुभयो । कलेजोको क्यान्सरका कारण गम्भीर बिरामी भएका उनको उपचारका लागि भरतपुर अस्पताल लगिएकोमा बिहान मृत्यु भएको काफ्लेले जानकारी दिनुभयो ।

क्यान्सर रोगबाट पीडित हुँदै गएपछि केन्द्रीय कारागार काठमाडौँबाट गएको असार १३ गते उनलाई चितवन ल्याइएको थियो । उनको क्यान्सर अस्पतालमा उपचार जारी थियो । कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई १० वर्ष कैद तोकिएका उनले २ वर्ष मात्रै कैद भुक्तान गरेको जेलर काफ्लेको भनाइ छ ।

यसअघि गत चैत दोस्रो साता सिन्धुलीका ३५ वर्षीय अर्जुन गिरी र रुपन्देहीका ठगराज पौडेलको क्यान्सर रोगका कारण मृत्यु भएको जिल्ला कारागार चितवनले जनाएको छ ।

भरतपुर कारागारमा अझै चारजना क्यान्सर रोग लागेका कैदी छन् । कारागारमा क्षमताभन्दा तेब्बर बढी ५६३ कैदी र थुनुवा रहेको कारागारले जानकारी दिएको छ । रासस