२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महायज्ञ गर्ने भन्दै दलित परिवारको घर भत्काइयो, अछुतको बहानामा माटो खनेर फालियो

२०८१, ७ चैत्र बिहीबार ११:१४

सिरहा । सिरहाको औरही गाउँपालिकामा आगामी १७ चैतदेखि आयोजना गर्न लागिएको श्री श्री १०८ विष्णु महायज्ञ स्थलमा रहेको दीपक मरिक (डोम )को घर भत्काएर हटाइएको विषय यतिबेला चर्चामा छ ।

महायज्ञ आयोजना गर्ने स्थानमा अछुत डोम राख्न नहुने भनेर यज्ञका कर्ताधर्ता मानिएका महात्यागी बजरंगी बाबाले भनेपछि पालिका अध्यक्ष शिवजी यादवले पालिकाकै जेसिभी लगाएर मरिकको घर भत्काउन लगाएका थिए । मरिकको घर मात्र भत्काइएन अपितु अछुतले छोएको माटो भनेर दीपक मरिकको घरले चर्चेको स्थानको दुई फिट माटो खनेर समेत फालिएको खुलेकाे हाे ।

थातथलो भत्काएर मरिक परिवारलाई बिस्थापित गराइए पछि सुन्दर जनता माध्यमिक विद्यालय औरहीको जग्गाको २ धुर जग्गामा (एक कुनामा) दुई कोठाको फुसको घर बनाएर राखिएको छ ।

विगत ३० वर्षदेखि मरिक परिवारको थातथलो रहेको स्थानमा जनता आवास कार्यक्रमबाट ५ वर्ष अघि दुई कोठे पक्की भवन पालिकाले नै बनाइ दिएको थियो । आफ्नो आवास भत्काइएपछि मरिक परिवार विलखबन्दमा परेका छन् । ‘यो स्थानमा महायज्ञ गर्नुपर्ने छ, यहाँबाट तिमीहरु हट्नुपर्छ’ भनेर गाउँपालिका अध्यक्ष शिवजी यादव र वडा नं. ५ का पूर्ववडाध्यक्ष दिलीप यादवले दबाब दिएको पीडित दीपककी पत्नी अनिता मरिकले बताइन् ।

गहभरी आँशु पार्दै उनले भनिन्,‘हामी सपरिवार त्यहाँ हाँसीखुशी गुजारा गर्दै थियौं । हाम्रो त्यो घरमा हाम्रै बालबच्चाको नाभी जोडिएको, भावना जोडिएको थियो । तर अहिले हामीलाई यो एकान्त सुनसान ठाउँमा ल्याएर बस्न बाध्य बनाए । घर भत्काएर डंगुर बनाइदिए । माया लाग्यो, मन थाम्न सकिन । एउटा–एउटा इटा टिपेर ल्याएँ–भग्नावशेष देखाउँदै अनिताले भनिन् । यज्ञ सुरु हुनु २० दिन अगावै मेरो थातबास उजाडियो । हामीलाई बिल्लीबाठ बनाइयो,’ अनिताले भनिन्,‘म र मेरा श्रीमान् ड्युटीमा थियौंं । यता पालिका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीप यादव जेसिभी लिएर आएछन् । घर भत्काउन थाले । चार दिनअघि छोराको विवाह गरेर बुहारी भित्र्याएका थियौंं । नयाँ बुहारी र मेरा मसिना लालाबाला भएर सकेजति सामान झिकेछन् । झिक्न नभ्याएको सामान जति त्यही पुरियो ।’

घर भत्काएर लखेटिएकी अनिता मरिकको मुटु चिथोरिएको छ । उनी भक्कानिदै भन्छिन्,‘डोमको कोखमा जन्मेकै कारण आज हामीले यो छुवाछुतको अपमान र भुक्तमान भोग्नु परेको छ ।’

अनिता मरिकको अहिले कन्तविजोग छ । ‘नयाँ ठाउँमा खानेपानीको धारा छैन् । अछुत भनेर कसैले आँगन टेक्न दिदैनन् । चापाकलमा पानी भर्न दिदैनन् । चैतको चर्को घाम छ । तिर्खाले छटपटाउँछौं । त्यो पुरानो घरमा बिजुली थियो । मैले आफैले जडान गराएको चापाकल थियो,’ उनले भनिन् ।

‘कप्टेरा जस्ता दुई चारवटा भाटा माथि पुरानो थोत्रो जस्ता हालेर घर ठड्याइ दिएका छन् । बिजुली छैन । गर्मी बढेसँगै सर्प निस्कन्छ । अध्याँरोमा डराइ डराइ रात काट्छौ,’अनिता भन्छिन्,‘दलित भएर बाँच्न कति कठिन छ । उनको मुटुमा शूल व्यथा छ । यहाँ बस भनेर झुप्रो हालिदिए तर यो जग्गा स्कूल को हो । स्कूलले जग्गा खली गर भनेपछि हाम्रो फेरि उठिबास हुन्छ । स्कूलको सहमति नलिई हामीलाई यहाँ जवरजस्ती बसाइएको छ ।’

अनिता भन्छिन्,‘नयाँ घर बनाइ दिएकाछौं भन्छन् तर यो ठाउँ वर्षायाममा बाढी बग्ने र तलाउ हुने ठाउँ हो । पालिकाको जेसिभी ल्याएर नदीबाट माटो कोपरेर अग्लो पारिदिए । वर्षायाममा यहाँ बालबच्चा लिएर कसरी बस्नु ? यहाँ ठूलो भल आउँछ । हाम्रो यो झुपडी एकै दिनमा बगाउँछ । यस्तो ठाउँमा झुपडी हालेर बस भने ।’

अनिताले दुखेसो पोख्दै भनिन्, ‘हामी गरिब छौ । पालिकामा मेरा श्रीमान् स्वीपर छन् । म स्वास्थ्य केन्द्रमा स्वीपरको काम गर्छु । पालिका अध्यक्षको कुरा नमान्दा हाम्रो जागिर जाने भयो । घर भत्कादिन्छौं, पर गएर बस भन्दा ‘हुन्छ मालिक’ भन्नै प¥यो ।’ अनिताका छोरा अर्जुनले भने, ‘के हामी मान्छे होइनौं ? हाम्रो घर त्यहाँ हुँदा यज्ञ गर्न कसरी अप्ठ्यारो हुन्थ्यो ? त्यहाँ अरु जातिहरुको घर भत्काइएन । डोम भएकै कारण हाम्रो घरमा डोजर चल्यो । अछुत भनेर त्यहाँको माटो समेत खनेर फालियो ।’

आमा अनिताको आँशु पुछ्दै आठ वर्षीय आकाश मरिकले रिपोर्टिङ्ग गर्न गएका पत्रकारहरुलाई सोधे–‘अहा सब के छियै ? ओई बाबाजीके पकैरक जेलमे धैर दियौं । उ हमर घर तोइर देलकै । (तपाईँहरु को हो, त्यो बाबाजीलाई पक्रेर जेलमा हालिदिनुस् । उसले हाम्रो घर भत्काउन लगायो ।)’

दीपक र अनिता मरिकको १७ वर्षिय छोरा अर्जुन र नवबिबाहिता बुहारी, १३ वर्षकी छोरी किरण कुमारी १० वर्षकी छोरी प्रिती र सात वर्षीय छोरा आकाश मरिकसहितको सात जनाको परिवार छ । यस सम्बन्धमा पालिका अध्यक्ष शिवजी यादवलाई सोध्दा उनले मरिक परिवारको घर भत्काइ दिएको स्वीकार गरे । उनले भने,‘त्यहाँ कृषि बजार लगाउन तीन करोडमा टेण्डर लागेको छ । त्यहाँ चौतर्फी बाउण्ड्री वाल लगाउनु छ । त्यसकारण भत्काएको हो ।’

घर भत्काए पनि अर्को स्थानमा पुनस्र्थापना गरिदिएको भन्दै यादवले भने,‘क्याम्पस बनाउन यज्ञ आयोजना गरिएको हो । सामाजिक भलाइको काम कै लागि हो । आफूले अछुत भनेर घर भत्काइएको छैन् । यस घटनालाई मिडियामा चर्काउन आवश्यक छैन् ।’

त्यसैगरी पूर्ववडाध्यक्ष दिलीप यादवले भने, ‘हामीले घर भत्काए पनि अर्को घर बनाइ दिएका छौं । यसमा हाम्रो के गल्ती भयो त ?’ पूर्ववडाध्यक्ष यादव हाल जनमत पार्टीका औरही पालिका अध्यक्ष हुन् ।

औरही पालिकामै घर भएका राष्ट्रिय दलित आयोगका पूर्वसदस्य कवुली पासवानले भने, ‘त्यहाँ पाँच घर दास तत्माहरुको घर छ । अरु कसैको घर भत्काइएन तर एक घर मरिक (डोम) को घर भत्काइयो । घर मात्र भत्काइएन त्यहाँको माटो समेत खनेर फालियो । बजरंगी बाबाले त्यो ठाउँ पवित्र गर्ने भन्दै जल छर्किए । यो सरासर छुवाछुतको अपराध हो ।’

उनले दोषी बजरंगी बाबा, पालिका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीप यादवमाथि कानून बमोजिम कारवाही गर्न सरकारसँग माग गरेका छन् । पासवानले राष्ट्रिय मानव अधिकार आयोग र राष्ट्रिय दलित आयोगको ध्यानाकर्षण गराउँदै घटनाको छानविन गर्न आह्वान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला