साउन १७, सर्लाही । सर्लाहीको लालबन्दीमा रहेको नेपाल विधुत प्राधिकरणको वितरण केन्द्र बाट मिटर रिडरहरु मार्फत समयमा बिजुलीको मिटर रिडिङ्ग नहुँदा ग्राहकहरु मारमा परेका छन् । मिटर रिडरहरुको लापरबाहीले गर्दा एक हप्ता भित्र बिधुत महसुल बुझाउँदा पाउनु पर्ने छुट बाट बन्चित हुनु परेको ग्राहकहरुले गुनासो गरेका छन् ।
मिटरमा उठेको अंक ग्राहकहरु आफै नोट गरेर कार्यालयमा महसुल बुझाउन आउँदा कर्मचारीहरुले फाँट पिच्छै दौडाउने गरेको ग्राहकहरुले गुनासो गरे । वितरण केन्द्रका लेखा प्रमुख बृष बहादुर कडरियाले केही कर्मचारीहरुको लापरबाही का कारण ग्राहकहरुले यस्तो समस्या भोग्नु परेको स्विकार्नु भएको छ ।
कार्यालय प्रमुख सँग कुरा गरेर आगामी महिना देखि मिटर रिडरहरु लाई गाउँ गाउँमा पठाउने उहाँले बताउनु भयो ।