प्रकाश धौलाकोटी, मंसिर २१, तेह्रथुम । नयाँ संविधानबारे नागरिकमा रहेका भ्रम चिर्न सरकारले एक महिने प्रचार अभियान थालेकै दिन तेह्रथुममा नेपाली कांग्रेसले पनि नयाँ संविधानबारे कार्यकर्ता प्रशिक्षण कार्यक्रम सुरु गरेको छ ।
सरकारले गाउँ गाउँसम्म पुगेर प्रशिक्षण गर्न नसक्ने भन्दै आजैबाट जिल्लाव्यापी अभियान सुरु गरेको कांग्रेसले जनाएको छ । अभियान अन्तर्गत आज ईवा गाविसमा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । ईवा र ह्वाकु गाविसका कांग्रेस अगुवा कार्यकर्ता तथा स्थानीयबासीहरु सहभागी कार्यक्रममा नेपालको नयाँ संविधानका अन्तरवस्तु, संविधान निर्माणमा नेपाली कांग्रेसले खेलेको भूमिका, जिल्लाको विकास निर्माण र आसन्न १३ औँ महाधिवेशनका बारेमा छलफल भएको थियो ।
कांग्रेस तेह्रथुमका सभापति गोविन्द ढुंगानाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कांग्रेस जिल्ला कार्यसमितिका कोषाध्यक्ष सन्तोष सुब्बा, तरुण दल अध्यक्ष तथा जिल्ला सदस्य विपीन सुब्बा, आठराई क्षेत्रीय कार्यसमितिका सभापति भीष्म थपलिया, जिल्ला कार्यसमिति सदस्यहरु नारायणकुमार ईङनाम र नारायण डाँगीले नयाँ संविधान लगायत विषयमा आ–आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रम नेपाली कांग्रेस गाउँ कार्य समिति ईवाका सभापति खड्गप्रसाद ईङनामको अध्यक्षतामा सम्पन्न भएको हो ।