प्रकाश धौलाकोटी, मंसीर २२, तेह्रथुम । जिल्ला अनुगमन समिति तेह्रथुमले सोमबार सदरमुकाम म्याङलुङ र जिरिखिम्तीबजार अनुगमन गरेको छ । लामो समयदेखि भइरहेको तराई बन्द र भारतले गरेको अघोषित नाकाबन्दीका कारण वजारमा खाद्य बस्तुहरुको अभाव भइरहेका वेला अखाद्य बस्तुहरु विक्री वितरण भएको हुनसक्ने भन्दै समितिले बजार अनुगमन गरेको हो ।
अनुगमनका क्रममा भेटिएका शंकास्पद लागेका चामल, तेल, घिऊ, नुन, दाल लगायत १६ प्रकारका दैनिक उपभोग्य वस्तुहरु नियन्त्रणमा लिइएको समितिका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद ज्ञवालीले बताउनुभयो । नियन्त्रणमा लिइएका बस्तुहरुको खाद्य गुण परीक्षणका लागि क्षेत्रीय खाद्य तथा गुण नियन्त्रण कार्यालयमा पठाइने उहाँले जानकारी दिनुभयो ।