पढ्न करिब 2 मिनेट लाग्छ

भदौ ११,कञ्चनपुर। दिदीबहिनीको अटल सौभाग्यको कामना गर्दै थारु समुदायले आज बरका अटवारी (आइतबारी)पर्व मनाउँदै छन् ।

कञ्चनपुरसहित थारु समुदायको बसोबास रहेका कैलाली, बाँके बर्दिया र दाङलगायतका क्षेत्रमा यस पर्वलाई विशेष महत्वका साथ मनाउने गरिन्छ ।

भाद्र शुक्लपक्षको प्रथम आइतबारका दिन दाजुभाइले दिदीबहिनीको दीर्घायुको कामना गर्दै दिनभरि पानीसमेत नपिई व्रत बसी पुरुषद्वारा नै यस पर्वमा साँझ पख गुइँठाको आगोमा सल्लाको धूप बनाई बालेर भीमको पूजा गर्नु पर्ने चलन रहेको छ ।

व्रतपछि गहुँको पिठोबाट बनेको खुर्मा, अन्तीको चामलबाट वरिया, रोटीलगायतका पकवान र फलफूल अग्नि देवतालाई अर्पण गरी दिदीबहिनीलाई केही भाग छुट्याई बचेको बाँकी भाग व्रतालुले खाने चलन रहेको थारु अगुवा कालीप्रसाद चौधरीले बताउनुभयो ।

व्रतालुले पकवान खानुअघि केही हिस्सा दिदीबहिनीका लागि निकाल्ने गर्छन् । जसलाई कहार्नी भन्ने गरिएको उहाँले बताउनुभयो ।

व्रत बसेको साँझपख बहरी भन्ने कोठामा गाईको गोबरले लिपपोत गरी गन्यारी भन्ने काठबाट तीन चारजना मिली आगो बाली पवित्र रोटी र परिकार पकाउने गरिएको थारु अगुवा दानसिं दहितले बताउनुभयो । रोटी र परिकार बनाउने ठाउँमा व्रतालुबाहेक अन्यलाई जान र छुनसमेत बर्जित हुने गरेको उहाँले उल्लेख गर्नुभयो ।

पकाएको रोटीसँगै अन्य पकवानलाई व्रतालु सबैको भागसँगै अर्को भाग छुट्याउने गरिन्छ जसलाई अग्रासन भन्ने गरिन्छ । व्रतालुले आ–आफ्नो भागबाट अर्को भाँडामा खाने कुरालाई अलग्याएर राख्ने गर्छन् । अलग्याएर राखेको खानेकुरा आइतबारको भोलिपल्ट दिदीबहिनीलाई दिने चलन यस समुदायमा रहेको छ ।

दिदीबहिनी दाजुभाइ आउने ब्यग्र प्रतीक्षामा बसेका हुन्छन् । वर्षभरि माइतीमा आउन नपाएका दिदीबहिनीले दाजुभाइसँग भलाकुसारी गर्ने गर्छन् । अग्रासन दिएर फर्कने क्रममा दिदीबहिनीले दाजुभाइलाई उपहार दिने गर्छन् । अटवारीको दोस्रो दिन फुलौरी, केराउ, पटौला, ठच्चालगायतका पकवान र माछाको सिद्रा व्रतालुले ग्रहण गर्ने गर्छन् ।

यो पर्व थारु समुदायको दशैँपछिको ठूलो चाडपर्वका रुपमा रहेको छ । पौराणिक राजा दंगीशरणलाई शत्रुबाट बचाउन पाँच पाण्डवमध्येका भीमले सहायता गरी शत्रुमाथि विजय प्राप्त गरेकाले सोही दिनदेखि यो पर्व मनाउँदै आएको थारु बुद्धिजीविको भनाइ छ । रासस (फाइल फोटो)