काठमाडौँ । जब कुनै व्यक्तिले जीवनको १०० वर्ष पूरा गर्छ, तब जीवनप्रति उनीहरुको दृष्टिकोण नै परिवर्तन हुन्छ । अमेरिकामा बसोवास गर्ने लेन होरविचको जीवनमा भने आश्चर्यजनक घटना घटेको छ । एक सय वर्षको उमेर पार गरेपछि उनी केहि महिनामा नै स्तन क्यान्सरको शिकार भइन् ।
उमेरले डाँडा काटेकी यी महिलाले हार भने मानिन् र क्यान्सर देखिएको एक वर्षमा नै यो रोगमाथि जीत हासिल गर्न सफल भएर समाजमा एक उदाहरणीय व्यक्तित्व बन्न सफल भएकी छिन् । लेनको कथाले न केवल उमेरको हरेक मोडमा स्वास्थ्यप्रति सजग रहन प्रेरणा दिन्छ, तर यसले के पनि देखाउँछ भने आत्मविश्वास र सही निर्णयले कसरी जीवन बचाउन सक्छ ।
कसरी भएको थियो रोगको पहिचान ?
लेनले एक रात नाइट गाउन लगाउँदा छातीमा गाँठो महसुस गरिन् । उनले त्यसलाई बेवास्ता गरिनन् र आफ्नी नातिनीको सहयोगमा तुरुन्तै मेमोग्राम गराइन् । परीक्षणमा थाहा भयो कि उनलाई स्टेज–१ स्तन क्यान्सर छ ।
उपचारको बाटो र साहसको उदाहरण
एनडेवर हेल्थको हाइल्याण्ड पार्क अस्पतालमा डाक्टरहरूले उनलाई तीन वटा विकल्प दिए— केही नगर्ने, औषधि खाने अथवा शल्यक्रिया गर्ने । धेरैजसो मानिसहरू १०० वर्ष कटिसकेपछि अपरेशनबाट बच्न चाहन्छन्, तर लेनले भने शल्यक्रियाको निर्णय गरिन् । उनले भनिन्– ‘म यो ट्युमर मेरो शरीरबाट बाहिर जाओस् भन्ने म चाहन्थेँ । म स्ट्रोक अथवा हृदयघात जस्ता समस्याबाट थला पर्न चाहन्न थिएँ ।’ उनको दायाँ छातिमा लिम्पेक्टोमी गरेर ट्युमर हटाइयो । आश्चर्यजनक कुरा के थियो भने उनलाई न कीमोथेरापीको आवश्यकता पर्यो, न त रेडिएसनको नै ।
तिव्र गतिमा सुधार
शल्यक्रियापछि लेनको स्वास्थयमा तिव्रताका साथ सुधार भएको देखियो । लेनले आफ्नो नियमित दिनचर्या पुनः प्रारम्भ गरिन्। डाक्टरहरूका अनुसार, उनको स्वास्थ्य र जीवनप्रतिको जोश उमेरमाथि विजयजस्तै थियो ।
दीर्घायुको रहस्य के हो ?
लेनले आफ्नो राम्रो स्वास्थ्यको श्रेय सकारात्मक सोच, सन्तुलित भोजन, नियमित व्यायाम र बलियो पारिवारिक सम्बन्धलाई दिन्छिन् । उनी भन्छिन्– ‘मैले पढ्न, कार्ड खेल्न र टेनिस खेल्न कहिल्यै छोडिनँ । म ९२ वर्षको उमेरसम्म टेनिस खेल्थेँ ।’ अहिले उनी आफ्नी छोरीहरू, नाति–नातिनीहरू तथा पनाति–पनातिनीहरूसँग खुशीका साथ बसिरहेकी छन् र कहिल्यै आफ्नो स्वास्थ्यलाई बेवास्ता नगर्नुहोस् भन्दै अरूलाई पनि प्रेरित गरिरहेकी हुन्छिन्