काठमाडौँ । इजरायल र इरानबीच जारी तनावपूर्ण परिस्थितिलाई मध्यनजर गर्दै, इजरायलस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपाली नागरिकहरूलाई अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन आग्रह गरेको छ।
दूतावासले शनिबार सार्वजनिक गरेको एक विज्ञप्तिमा युद्धजन्य अवस्थाका कारण विभिन्न स्थानमा जनधनको ठूलो क्षति भएको र होम फ्रन्ट कमान्ड मार्फत सर्वसाधारणका लागि सतर्कता तथा सुरक्षा सम्बन्धी निर्देशनहरू लगातार जारी भइरहेका कारण शैक्षिक संस्था एवम् अत्यावश्यकबाहेकका कार्यालय बन्द रहने जनाएको छ।
दूतावासले सबै नेपालीलाई आवश्यक परेको खण्डमा तुरुन्तै सम्पर्क गर्न सकिने गरी आपतकालीन सम्पर्क विवरणसमेत प्रदान गरेको छ। यस्ता संवेदनशील परिस्थितिमा स्थानीय सुरक्षा प्रोटोकल र मार्गनिर्देशनको पालना गर्नु अत्यावश्यक हुने भन्दै थप सतर्कता अपनाउन आग्रह गरिएको छ।