काठमाडौँ । उँटको आँशु अब केवल भावनाको प्रतीक मात्र नभई ज्यान जोगाउने सम्भावित औषधिको स्रोत बन्ने देखिएको छ। भारतको बीकानेरस्थित उँट अनुसन्धान केन्द्र र दुबईको सेन्ट्रल भेटेरिनरी रिसर्च ल्याबको संयुक्त अनुसन्धानले उँटको आँशुमा २६ प्रकारका सर्पहरूको विषको उपचार क्षमता भएको पत्ता लागेको छ।
अनुसन्धानकर्ताहरूले उँटलाई सानो मात्रामा सर्पविष दिँदै प्रतिरक्षा प्रतिक्रिया विकास गरे, जसबाट प्राप्त रगत र आँशुमा रहेको एन्टिबडीले न्युरोटक्सिन र हिमोटक्सिनजस्ता विषहरूसँग लड्ने शक्ति देखायो।
यी एन्टिबडीहरू न्यानोबडी नामक साना अणुहरू हुन्, जुन शरीरको गहिरो भागसम्म पुग्न सक्षम हुन्छन्, एलर्जीको खतरा कम हुन्छ र तातो तापक्रममा पनि स्थिर रहन्छन्।
परम्परागत एन्टिभेनम महँगो, सीमित र क्षेत्रविशेषमै प्रभावकारी हुने भए पनि उँटको आँशुबाट बन्ने एन्टिभेनम सस्तो, सुरक्षित र व्यापक रूपमा उपयोगी हुने सम्भावना देखिएको छ। साथै, बीकानेर, जैसलमेर र जोधपुरका उँटपालकहरूले रगत र आँशु प्रदान गरी प्रति उँट मासिक रु. ५,००० देखि १०,००० सम्म आम्दानी गर्न थालेका छन्, जसले उनीहरूको जीवनस्तर सुधारसँगै उँट संरक्षणमा पनि योगदान पुर्याउने अपेक्षा गरिएको छ।
यद्यपि यो अनुसन्धान प्रारम्भिक चरणमा रहेको र थप परीक्षण आवश्यक रहेको वैज्ञानिकहरूले बताएका छन्।