काठमाडौँ | अमेरिकाको युनाइटेड एयरलाइन्सले बुधबार अचानक धेरै उडान रोकेको छ । उडान रोकिँदा हजारौँ यात्रीले असुविधाको सामना गर्नुपरेको एनडीटीभीले जनाएको छ ।
कम्पनीले यो कदम प्राविधिक समस्याका कारण भएको जनाएको छ । युनाइटेड एयरलाइन्सद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “प्राविधिक समस्याका कारण हामीले हाम्रा मुख्य उडानहरूलाई प्रस्थान विमानस्थलमा स्थगन गरेका छौँ । साँझसम्म थप उडानमा ढिलाइ हुनसक्छ । यात्रीहरूको सुरक्षा हाम्रो पहिलो प्राथमिकता हो । हामी उनीहरूलाई गन्तव्यसम्म पुर्याउन हरसम्भव प्रयास गर्नेछौँ ।”
अमेरिकाको उडान नियन्त्रण गर्ने संस्था संघीय उड्डयन प्रशासन (एफएए)ले पनि युनाइटेडका उडानलाई रोक लगाउने आदेश दिएको छ । यो रोक डेनभर, नेवार्क, ह्युस्टन र सिकागोजस्ता ठूला विमानस्थलमा लागु गरिएको छ ।
अमेरिकाको उड्डयन सेवामा समस्या आएको यो पहिलोपटक भने होइन । गएको महिना अलास्का एयरलाइन्समा प्राविधिक समस्याका कारण उडान घण्टौँसम्म रोकिएका थिए ।
यो वर्ष नेवार्क विमानस्थलमा धेरैपटक हवाई यातायात नियन्त्रण प्रणालीमा खराबी आएको छ । गएको जनवरीमा वासिङटननजिकै एक यात्री विमान र सैन्य हेलिकोप्टर ठोक्किँदा दर्जनौँ व्यक्तिको ज्यान गएको थियो ।