प्रभात सुवेदी, कात्तिक ३, बर्दिया । वडादशैंको सातौं दिन आज सप्तमीको अवसरमा जिल्लाको सदरमुकाम लगायत विभिन्न देवीका शक्तिपीठहरुमा फूलपाती भित्राइएको छ ।
सदरमुकास्थित वागेश्वरी तथा सन्तोषी मन्दिरबाट कोटही माताको मन्दिरमा पूmलपाती लगेर भित्राइएको हो । यसअघि गुलरियाको विभिन्न स्थानबाट निस्केको धार्मिक झाँकीमा भजन, कीर्तन गाउँदै नाच्दै रमाइलो गर्दै भक्तजनहरुले मन्दिरको परिक्रमा गरेका थिए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विनोदबहादुर कुँवर, सुरक्षाप्रमुखहरु , सुरक्षाकर्मी, लगायत भक्तजनहरुको सहभागिता रहेको थियो ।
यसैबिच विगत सात वर्षदेखि सदरमुकामस्थित कोटही माताको मन्दिर परिसरमा वली दिने प्रथाको अन्त गरिएकोले निर्दोश पशुपन्छिहरुको वली दिन आग्रह गरिएको छ । काटमारले समाजमा नकारात्मक सन्देश फैलिने र यसले मानिसमा शान्तिसद्भाव, धार्मिक आचरणमा प्रतिकूल असर पार्ने भन्दै वली प्रथाको अन्त गरिएको मन्दिर व्यवस्थापन समितिका सचिव भानुभक्त भट्टराइले साझा अनलाइनलाइ बताउनुभयो ।
कोही कसैले मन्दिर परिसरमा खसीबोका ल्याएर पूजा गरेर मात्रै लैजाने र बली नै दिनु परेमा मन्दिर परिसरदेखि केही पर अलग्गै स्थानमा लगेर दिन सकिने तर मन्दिर मा ल्याएर रगत नचढाउने, जल मात्रै चढाउने गरेको समेत सचिव भट्टराईले बताउनुभयो ।
यसैबिच दुर्गा पूजाको अवसरमा जिल्लाको सदरमुकाम लगायत मैनापोखर, कालिका, मोहम्मदुर, बाँसगढी, मगरागाडी, भुरीगाउँ, राजापुर लगायतका क्षेत्रहरुमा दुर्गा माताको आकर्षक मूर्तिहरु स्थापना गरि भव्य रुपम दुर्गा पूजा भैरहेको छ ।