२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुरका थारू बस्तीमा सखिया नृत्यको रौनकता

५ आश्विन २०७४, बिहीबार ०८:४७

राजेन्द्रप्रसाद पनेरु। असोज ५, कञ्चनपुर। सामाजिक सद्भाव र धार्मिक भावनाले ओतप्रोत सखिया नृत्यको रौनकता अहिले कञ्चनपुरका थारू बस्ती छाएको छ ।

श्री कृष्ण जन्माष्टमीका दिनदेखि शुरुवात गरेर दशैँसम्म गरिने यो नृत्यलाई थारू समुदायले हिजोआज गाउँअनुसार अनुकूलता र प्रतिकूलतालाई ध्यानमा राखी आयोजना गर्ने गरिन्छ । 

पहिला पहिला कम्तीमा एक महिनासम्म आयोजना गरिँदै आएको सखिया नृत्यलाई हाल छोट्याएर दशदेखि पन्ध दिनसम्म सिमित राखिएको पिपलाडीका थारू वडघर नरेन्द्रप्रसाद चौधरीले बताउनुभयो । 

“थारू गाउँका भलादमी, बडघर, गुरुवा, केसौको बैठक बसेर आजदेखि सखिया नृत्यकोे व्यवस्थापनको चाँजोपाँजो मिलाएका छौँ”, उहाँले भन्नुभयो । गुरुवा (झाँक्री)ले तान्त्रिक विधिद्वारा नृत्यमा सहभागिता जनाउने युवायुवतीलाई दुष्टात्माको भवितव्यबाट बचाउनका लागि पूजा र अनुष्ठान गरी यस नाचको प्रारम्भ गरिएको उहाँले बताउनुभयो । 

सखिया नृत्यमा भगवान् कृष्णको जन्मलीलादेखि मृत्युसम्मको वर्णन गरिएको हुन्छ । नृत्यमा चारजना मादल बजाउने मदारीको व्यवस्था गरिएको हुन्छ । नृत्यको बीच–बीचमा गीतलाई फरक फरक भाका हालेर गाउने गरिन्छ । मादल बजाउने कार्यको अगुवाइ गर्ने व्यक्तिलाई अगुवा मदारी भन्ने गरिन्छ । अगुवा मदारीको तालमै ताल मिलाउँदै मादल बजाउनेलाई पछुवा मदारी भन्ने गरिएको बडघर चौधरीले बताउनुभयो । नृत्यमा गीत गाउने महिलाको अगुवाइ गर्नेलाई ‘मोह्रिन्या’ भन्ने गरिन्छ । मोह्रिन्याको सिको गर्दै नाच्ने युवतीलाई जेठ गोहिया र पछगोहिया भन्ने गरिन्छ । 

नृत्यमा मादलको तालसँगै विभिन्न मुन्द्रामा युवतीले नृत्य पस्कने गर्दछन् । जसलाई थारू भाषामा खोट (पैँया) भन्ने गरिएको थारू राजनीतिकर्मी दानसिंह दहितले बताउनुभयो । “पैँया २२ प्रकारका हुने गरेको भए पनि हाल मदारीले आफैँ सृजना गरेर पैँयाको तरिकामा परिर्वतन ल्याएकाले यो बढी पनि हुन सक्छ”, उहाँले भन्नुभयो । यस नृत्यमा मादलको ताल र गीतसँगै नृत्य गर्ने युवतीले खुट्टाको पैतलासँगै शरीरलाई मोडेर विभिन्न मुन्द्रामा पेश गर्नुपर्ने हुन्छ । 

यस पौराणिक मनमोहित गर्ने नृत्यलाई हेर्नेको समेत थारू गाउँमा निकै भीड लाग्ने गरेको छ । दशैँको सप्तमीको दिनसम्म रातिको समयमा निश्चित स्थानमा गरिने यो नृत्य अष्टमीको रातभरि आयोजना गरिन्छ । अष्टमीको रातभरि आयोजना गरिने नृत्यलाई भेडुवा जगेर्ना भन्ने गरिएको उल्लेख गर्दै थारू संस्कृतिका जानकार परदेशी चौधरीले भन्नुभयो, “यस दिन थारू समुदायले कुभिण्डोको भेडा बनाई बलि दिने परम्परागत चलने छ ।” 

पञ्चमीको दिनअघि सादा पोशाकमा यस नृत्यलाई पस्किन भए पनि पञ्चमीका दिनदेखि मादल बजाउने मदारीले सेतो धोती र कमिज लगाउने गर्दछन् भने नृत्य गर्ने युवतीले रङ्गबिरङ्गी ऐना जडान गरेका लेहंगा, चोल्या, अंगिया, सेतो फरिया र गोन्या लगाउने गर्दछन् । हातमा मैजरी लिएर मादलको तालसँगै महिलाले बजाउने समेत गर्दछन् । अष्टमीको दिनपछि रातिमा नाचिँदै आएको सखिया नृत्यलाई दिउँसो नाच्ने गरिन्छ । दिउँसो पख् नाचिने सखिया नृत्यमा थारू युवतीले कृष्णको लीलालाई आफ्नै भाषमा बखान गरी गीतमार्फत व्यक्त गर्ने गर्दछन् । 

गीतमा कृष्णको जन्मदेखि राधिकासँग रासलीला गरेको र कंश बध गरिएको प्रसङ्ग उल्लेख गरी परम्परागत तरिकाले आफ्नै लयमा गाइने गरिन्छ । यस नाचलाई दशैँका दिन धनी, गरिब, गाउँका मान्यजन सबैका घर–घरमा गएर देखाउने भएकाले विगतका रिसराग बिर्सी सबैले हेर्ने गर्दछन् । 

बडघरसँग टीका थाप्न जाँदासमेत सखिया लगायतका परम्परागत नृत्य लगेर देखाउने चलन यस समुदायमा छ । दशैँपछि गाउँमा नृत्यमा सहभागी सबैजनालाई सहभागी गराई भोज खाने चलन समुदायमा विद्यमान रहेको फुलराम चौधरीले बताउनुभयो । जसलाई थारू भाषमा ‘ख्यारा’ खाने भन्ने गरिएको उहाँले बताउनुभयो । 

यो नृत्य सामूहिक रुपमा प्रस्तुत गरिने भएकाले यसले समाजमा सामूहिक भावनाको विकास गराउने र गाउँका बासिन्दा बीचको मनमुटाव र झगडालाई हटाई मेलमिलाप गराउने चौधरीले बताउनुभयो । धार्मिक मान्यताअनुरुप यो नृत्यको आयोजना गरेमा गाउँमा अन्नबाली बढी फल्ने, रोगब्याधी हट्ने र वर्षभरिका लागि अन्न खानपुग्ने विश्वास थारू समुदायमा छ । यसलाई अर्को शब्दमा थारू समुदायले धर्ती जाग्ना भन्ने गर्दछन् । सखिया नृत्यको आयोजना गरेमा धर्ती जागेपछि प्रशस्त अन्न फल्ने विश्वास यस समुदायमा छ । 

थारू समुदायका पौराणिक धार्मिक मान्यता बोकेका गीत र नृत्य संरक्षणप्रति युवाले जागरुकता देखाउन थालेपछि संरक्षणमा टेवा पुगेको थारू सामाजिक कार्यकर्ता रेवन चौधरी बताउनुहुन्छ । 

उहाँले भन्नुभयो, “हराउँदै गएको संस्कृति जोगाउनका युवा पिँढी अगाडि सर्न थालेपछि थारू समुदायको पहिचान जोगिएको छ ।” सामूहिक रुपमा सबैका घर–घरमा गएर नाचिने भएकाले यस नृत्यले समाजमा सद्भाव फैलाउन मद्दत पुर्याएको छ । धार्मिक अनुष्ठान र तान्त्रिक विधिबाट मात्रै नृत्यको आरम्भ र अन्त्य गरिने भएकाले यस नृत्यमा थारू समुदायको अटुट आस्था र धार्मिक विश्वास रहेको पाइन्छ ।    रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो