प्रभात सुवेदी । चैत २६, बर्दिया । ‘सर्वाङ्गीण विकासको आधारशिला, हाम्रो साक्षर बर्दिया जिल्ला’ भन्ने आदर्श वाक्यसहित चैत २८ गते जिल्ला विकास समतिको परिसरमा औपचारिक समारोहका बीच बर्दिया जिल्लालाई साक्षर जिल्ला घोषणा गरिने भएको छ ।
जिल्लाको कूल साक्षर प्रतिशत ९६.४१ पुगेकाले शिक्षा मन्त्री गिरिराजमणि पोखरेलद्वारा जिल्लालाई साक्षर जिल्ला घोषणा गर्ने कार्यक्रम तय गरिएको शुक्रबार जिल्ला शिक्षा कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । साक्षरता प्रतिशत ९७.२० पुगेपछि असार २५ गतेदेखि मनाउ गाउँपालिकाबाट शुरु गरिएको घोषणाको कार्यक्रम निरन्तर रुपमा गरिँदै आएको थियो ।
कार्यक्रमको अध्यक्षता गर्नुभएका जिल्ला अनौपचारिक शिक्षा समितिका अध्यक्ष एवम् स्थानीय विकास अधिकारी तेजराज शर्माले ज्ञानको कुनै पनि सिमा नहुने भएकोले साक्षर जिल्ला घोषणा भएपश्चात पनि जिल्लाभर रहेका १५ देखि ६० वर्ष उमेर समूहका १२ हजार ४ सय ३७ जना निरक्षरलाई साक्षर गराउने अभियान भने जारी नै रहने हुँदा यस कार्यक्रमलाई सफल पार्नका लागि सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नका लागि आग्रह गर्नुभएको थियो । कार्यक्रममा पत्रकारहरुले उठाएका जिज्ञासाहरुका सन्दर्भमा जिल्ला शिक्षा अधिकारी जीतबहादुर शाहले प्रष्ट पार्नुभएको थियो भने जिल्लाको समग्र साक्षरताको अवस्थाका सन्दर्भमा साक्षरता कार्यक्रमा फोकल व्यक्ति एवम् विद्यालय निरीक्षक पुण्यप्रसाद न्यौपानेले जानकारी गराउनुभएको थियो ।
र यो पनि,
जिल्ला शिक्षा कार्यालय बर्दियाले आज २०७२ सालको जिल्ला स्तरीय परीक्षाको नतिजा सार्वजनिक गरेको छ । कूल ११ हजार १ सय ७७ जना परीक्षार्थीहरुमध्ये ८ हजार ३८ जना उत्तीर्ण भएको परीक्षा शाखाका शेरबहादुर रोकाले जानकारी दिनुभयो ।