– प्रभात सुवेदी
दुबैतिर हलोलाई उल्टो पारेर अनौलाई माथि फर्काएर गाडिएको रमाइलो दृश्य अनि अनौमा दुईतिर दुईओटा पेट्रोल म्याक्स (मैन्टोल) झुण्डाएर बालिन्थ्यो । ग्यासको भरमा बल्ने हुनाले बेलाबेलामा निकालेर भूँईमा राखी दम दिनु पर्ने अवस्था । बेलाबेलामा त्यसको जालीमा किरा ठोक्किएर प्वाल पर्ने समस्या । सिङ्गल वा डबल पर्दा लगाइएको गाउँका घरघरबाट उठाएर राखिएको खाटमा तयार गरिएको अग्लो होचो स्टेज । अनि एउटा लामो तारमा बाँधिएको स्ट्याण्डमा राखिएको डल्ले माईक अनि त्यसको टुईँ टुईँ आवाज । र, त्यसैमा फु फु गर्दै हेलो हेलो गर्दै कार्यक्रम हेर्नका लागि आमन्त्रण गरिएका गाउँका बुबाआमा, दाजुभाइ, दिदीबहिनी र अन्य भद्र भलाद्मीहरु ।
हो, यस्तै हुने गर्दथ्यो आजभन्दा दुई÷तीन दशक अगाडि चाडबाडका समयमा आयोजना गरिने साँस्कृतिक कार्यक्रमहरु गाउँघरमा । यति मात्रै हैन, उतिबेला भने कार्यक्रमको अभ्यास गर्नुपर्दा मादल, बाँसुरी र अन्य बाजाहरु लाईभ बजाइन्थ्यो र गाइन्थ्यो पनि ।
यसरी बजाउँदा हातै दुख्थ्यो र गाउँदा गाउँदा मुख र गाला नै दुख्थे । नाच्नेहरुका घुँडा र ढाड दुखेर कक्क्रक्कै परेपनि खुट्टैमा नेल परेर पर्ला रोधीमा ननाची छोड्दिन भन्दै नाच्दथे… कपीभरी गीतै गीत हुन्थे । रातरातभरी नै मट्टितेलको बत्ती बालेर अभ्यास गरिन्थ्यो, जसको मुस्लो नाकभित्रै पसेर नाकबाट भोलिपल्ट बिहान कालो कालो सिँगान निस्केर हैरान । यति मात्रै हैन, दिउसो फूर्सद नहुने भएकोले राती नै रिहर्सल गर्नका लागि घरबाट लुकिलुकि जानु पर्दथ्यो । राती १, २ बजेतिर घर आउँदा घरको ढोका लगाएर परिवारका सबै सदस्यहरु सुतिसकेको अवस्था हुन्थ्यो त्यसैले उठाउनु भन्दा बरु पिँढीमै कुक्रुक्किएर सुतेर बाँकी रात काटिन्थ्यो । ती दिनहरु संझिँदा पनि निकै मन भरिएर आउँछ आजभोलि ।
अब जमाना त्यस्तो रहेन । अत्यन्तै सजावटका साथ टाँगिएको स्टेच । झकिझकाउ म्युजिकल बत्तीहरु, उसैमाथि अत्यन्तै आधुनिक त्रिकोणीक आवाज सहितका साउण्ड सिस्टमहरु अनि गीतहरु बजाउनका लगि ल्यापटप र त्यही ल्यापटपबाट घन्केका सङ्गीतहरुमा युवा युवतीहरुको आकर्षक नृत्य ।
पहिले पहिले केटाकेटी मिलेर नाच्ने चलन थिएन, भएपनि एकादुई नृत्यहरु हुने गर्दथे तर पनि सार्है सामान्य, कतै छोइयो भने पनि अचम्मे हुन्थ्यो । स्टेजमा पस्दा नमस्कार गर्दै बडो झुकेर र नृत्य सकिएपछि पनि निक्कै आदर गर्दै दर्शकहरुलाई नमस्कार गर्दै विदा भइन्थ्यो । तर, पछि विस्तारै युगल नृत्यले प्रवेश पाएको हो । त्यही नृत्यमा पनि गुन्यूचोली लाएर कोरीबाटी गरेर सजिएका चेलीहरु र दौरा सुरुवाल, टोपीमा ढलक्क ढल्किएका युवाहरु सँगसँगै मिलेर कम्मर हल्लाई हल्लाई नाच्ने गर्दथे । अनि गीतहरु पनि “यो नेपाली शीर उचाली ..” जस्ता हुन्थे ।
तर आजभोली समय यस्तो रहेन । अब भने साना साना बालबालिकाहरु पनि आफूलाई अत्याधुनिक शैलीमा प्रस्तुत गर्न थालिसकेका छन् । उनीहरुको प्रस्तुतीले अलग्गै जानकारी हुन्छ कि जमाना फेरिँदैछ वा फेरिइसकेको छ । अबका नृत्यहरुमा हार्दिकता भेटिँदैन । स्टेजमा पस्दा पनि पछाडिको भाग देखाएर अनि त्यही भाग मरक्क मरक्क मर्काएर दर्शकको हाुटिङसहित प्रवेश गर्ने प्रचलन छ । केही मौलिक गीतहरुमा बाहेक अन्य गीतहरुमा गरिने नृत्यका पोशाकहरु अब घुँडामा च्यात्तिएका पाइन्ट र छोरीचेलीहरुले पाइन्ट वा एक वित्ता वा सो भन्दा कम लम्बाइ भएका कट्टु लाएर नाच्न थालिसकेको अवस्था छ । यति मात्रै हैन पहिले पहिले घुँडा देखिनु राम्रो मानिदैनथ्यो तर आजभोलि भने घुँडा वा तीघ्रा नदेखाएर गरेको नृत्य नै नृत्य नमान्ने अवस्था पो भइसकेको छ । यो विकास हो वा समयको माग हो अथवा कला संस्कृतिमा आएको पश्चिमीकरण हो हामी आँफैले केलाउन सक्नु पर्दछ ।
पहिले पहिले नाटक तथा कमिक्सहरु गर्दा पनि निकै समस्याहरु हुने गर्दथे । अहिले जस्तो लाइटिङको सिस्टम नहुँदा पर्दा लगाइन्थ्यो र पर्दा पनि घरघरबाट तन्ना ल्याएर गाँसेर बनाइन्थ्यो र लामो बनाइन्थ्यो । खुर्र खुर्र पारेर डोरीले तान्न मिल्ने बनाइन्थ्यो र सिर्र सिर्र सिठ्ठी फुकेर त्यसकै इशारामा पर्दा खोल्ने र बन्द गर्ने गरिन्थ्यो । अनि संवाद बोल्नु पर्दा पनि एउटा मात्रै माइक्रोफोन पालैपालो लिएर बोल्दा एउटा दृश्य सकिन पनि एक घण्टा जस्तै लाग्दथ्यो ।
अब त्यस्तो परिस्थिति रहेन । पर्दाको काम भने लाइटले गर्ने जमाना आइसक्यो भने प्रत्येक कलाकारको हातहातमा कर्डलेस माइकको व्यवस्था भैसकेको अवस्था छ । अब उस्तै पर्दा स्टेजलाई नै माइक्रोफोनमय बनाउन सकिने समेत प्रविधी आइसकेको अवस्था छ ।
हिजोका दिनहरुमा भएका कार्यक्रमहरु मनस्पटलमा मात्रै रहेका छन् । यदाकदा रिलवाला क्यामेराले खिचिएका तस्वीरहरु कोही कसैसँग होलान् वा हुन सक्लान् । तर धेरै पछि मात्रै (पाल) भिडियो क्यामेराको चलन आयो । तर अहिले त्यस्तो रहेन । कुनै कार्यक्रम होस् दुनियाका हातहातमा मोबाईलका बत्ती कमसेकम पनि सय पचासका हाराहारीमा स्टेजतिर तेसारिएका हुन्छन् । अनि तीनै पलहरुलाई कैद गरेर सामाजिक सञ्जालहरुमा पोस्ट गर्दै आत्मसन्तुष्टि लिने लहर नै देखिएको अवस्था छ ।
त्यतिखेर कार्यक्रम गर्नका लागि पनि गाउँ गाउँबाट घरघर बाट पैसा उठाएर गरिन्थ्यो । पैसा पनि खासै लगानी पनि हुँदैनथ्यो । बढीमा दुई तीन हजार भए त कार्यक्रम गर्न सकिन्थ्यो । खर्च त्यही साउण्ड सिस्टम र ड्रेस किन्नका लगि अनि श्रृङ्गारिक सामग्रीहरुका लागि हुने गर्दथ्यो । तर आजभोलि भने विभिन्न खालका उत्पादनमूलक कम्पनी तथा व्यापारिक प्रतिष्ठानहरुले समेत प्रायोजन गर्ने प्रचलन बढ्दै गएको अवस्था छ । जसले समाजको आर्थिक समृद्धिको पहिचान दिलाएको छ ।
समयसँगै समाजको संस्कारमा परिवर्तन आएको छ । परम्परागत मौलिकतालाई प्रविधिले घोक्रेठ्याक लाएको छ । प्रविधिसँगै हाम्रा सिर्जनात्मकताहरु पनि गुम्दै गएका छन् । यो कुरा निकै गम्भीर र सोचनीय विषय बनेको छ । यसरी मौलिकता गुम्नु वा हाम्रा पुस्ताहरुमा सिर्जनशीलता गुम्नु भनेको असाध्यै डरलाग्दो अवस्था हो । कोही कलाकारले आफ्नो प्रस्तुतीहरु राख्दा डिजेलाई आधार मानेर राख्दछ भने यसको सँगसँगै उसले आफ्नो सिर्जनशील शक्तिलाई गुमाइरेहको कुरालाइ पनि विर्सनु हुँदैन ।
तसर्थ आजका बाल प्रतिभाहरुलाई स्टेज सोहरुमा लैजाँदा वा उनीहरुले कुनै प्रतिभा प्रस्तुत गर्दछन् भने पनि तिनीहरुको सिर्जनशीलतामा आँच नआउने गरी प्रस्तुतीहरु राख्नका लागि प्रेरित गरिनु पर्दछ । अरुका सिर्जनाहरुमा रम्ने भन्दा पनि मौलिक सिर्जनाहरुमा विशेष ध्यान दिइ कलाकारिता प्रस्तुत गर्न सकियो भने साँच्चिकै मौलिक कला र संस्कृतिको संरक्षण एवम् संवद्र्धन गर्दैै आउने पुस्ताहरुमा पनि यस्ता महत्वपूर्ण संस्कार र संस्कृतिहरु हस्तान्तरण गर्दै जान सकिने थियो ।
हुनत केही स्टेज कार्यक्रमहरुमा भने मौलिक नृत्यहरु प्रस्तुत गरिने गरिएको छ । जस्तोकि मारुनी, झ्याउरे, सालैजो, टप्पा, सखिया आदि नृत्यहरुले नेपाली समाज र तत्सम्बन्धि संस्कृतिको जर्गेना गर्दै नयाँ पुस्ताहरुका लागि अझै हाम्रो रितीथितीका बारेमा जानकारी पाउने अवसर रहन्छ । हैन भने भोलिका दिनमा हाम्रा मौलिक कला र संस्कृतिहरु ईतिहासका पानामा मात्रै सिमित हुने अवस्था नआउनला भन्न सकिँदैन ।
अस्तु ।