२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध

२०८२, २ पुष बुधबार १४:१९

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार सिरियासहित थप सात देशका नागरिक र प्यालेस्टिनी प्राधिकरणका पासपोर्ट वाहकहरूलाई संयुक्त राज्य अमेरिका प्रवेशमा पूर्ण यात्रा प्रतिबन्ध लगाउने निर्णय गर्नुभएको छ । यस कदमसँगै राष्ट्रियताको आधारमा मात्र अमेरिका प्रवेशमा रोक लगाइएका देशहरूको सङ्ख्या करिब ४० पुगेको छ । यसका साथै पश्चिमी देशहरूबाट हुने नियमित यात्रामा समेत नियमहरू थप कडा पारिएका छन् ।

आप्रवासनप्रति कठोर दृष्टिकोणलाई आफ्नो प्रमुख राजनीतिक एजेन्डा बनाउँदै आउनुभएका राष्ट्रपति ट्रम्पले सामूहिक निर्वासनको आदेश जारी गरिसक्नुभएको छ भने गैर–श्वेत आप्रवासीहरूविरुद्धको कडा अभिव्यक्ति पनि तीव्र बन्दै गएको छ । ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा ‘अमेरिकीहरूलाई धम्की दिन सक्ने’ विदेशी नागरिकहरूलाई रोक्न प्रतिबन्ध लगाइएको उल्लेख गरिएको छ । साथै, अमेरिकाको संस्कृति, सरकार, संस्था तथा संस्थापक सिद्धान्तहरूलाई कमजोर पार्न खोज्ने व्यक्तिहरूलाई देशभित्र प्रवेश नदिन चाहिएको भनिएको छ ।

लामो समयसम्म शासक बशर अल–असदको पतनपछि अन्तर्राष्ट्रिय समुदायमा पुनःस्थापना हुने प्रयासमा रहेको सिरियामाथि यो प्रतिबन्ध त्यतिबेला लगाइएको छ जतिबेला केही दिनअघि त्यहाँ दुई अमेरिकी सैनिक र एक सर्वसाधारण मारिएका थिए । सिरियाली अधिकारीहरूका अनुसार ती घटनाका आरोपी सुरक्षा बलका पूर्वसदस्य थिए, जसलाई ‘चरमपन्थी इस्लामवादी विचार’ का कारण बर्खास्त गरिएको थियो ।

यसैबीच, फ्रान्स र बेलायतलगायत केही पश्चिमी देशहरूले प्यालेस्टिनी राज्यलाई मान्यता दिएको विरोधमा ट्रम्प प्रशासनले इजरायलसँग ऐक्यबद्ध हुँदै प्यालेस्टिनी प्राधिकरणका पासपोर्ट वाहकहरूमा अनौपचारिक यात्रा प्रतिबन्ध लागू गरिसकेको थियो, जसलाई अहिले औपचारिक बनाइएको छ ।

पूर्ण यात्रा प्रतिबन्धमा परेका नयाँ देशहरूमा अफ्रिकाका बुर्किना फासो, माली, नाइजर, सिएरा लियोन र दक्षिण सुडान, साथै दक्षिणपूर्वी एसियाको लाओस रहेका छन् । यसबाहेक, नाइजेरिया, आइभोरी कोस्ट र सेनेगललगायत केही अफ्रिकी देशका नागरिकमाथि आंशिक यात्रा प्रतिबन्ध लगाइएको छ । यी देशहरू अमेरिका, क्यानाडा र मेक्सिकोमा आयोजना हुने आगामी विश्वकप फुटबलका लागि योग्य भए पनि ट्रम्प प्रशासनले खेलाडीहरूलाई मात्र प्रवेश अनुमति दिने स्पष्ट पारेको छ, प्रशंसकहरूका हकमा कुनै प्रतिबद्धता जनाएको छैन ।

आंशिक प्रतिबन्धमा परेका अन्य देशहरूमा एङ्गोला, एन्टिगुआ र बार्बुडा, बेनिन, डोमिनिका, ग्याबोन, गाम्बिया, मलावी, मौरितानिया, तान्जानिया, जाम्बिया, जिम्बाब्वे तथा पोलिनेसियाली देश टोङ्गा रहेका छन् । यीमध्ये केही देश अमेरिकाका महत्त्वपूर्ण साझेदारसमेत रहेका छन्, जसलाई पूर्वराष्ट्रपति जो बाइडेनले लोकतन्त्रप्रतिको प्रतिबद्धताका लागि प्रशंसा गर्नुभएको थियो ।

शरणार्थी अधिकारका पक्षमा काम गर्ने इसाई संस्था ग्लोबल रिफ्युजले यात्रा प्रतिबन्धले कमजोर र जोखिममा परेका मानिसहरूलाई झनै अप्ठ्यारो अवस्थामा धकेल्ने चेतावनी दिएको छ । संस्थाका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत कृष ओ’मारा विग्नाराजाहले व्यक्तिगत र प्रमाणमा आधारित मूल्याङ्कनको सट्टा सम्पूर्ण जनसङ्ख्यालाई सजाय दिने नीति अपनाइएको आरोप लगाउनुभएको छ ।

राष्ट्रपति ट्रम्पले पछिल्ला सार्वजनिक कार्यक्रममा आप्रवासीहरूलाई लक्षित गर्दै विवादास्पद भाषा प्रयोग गर्दै आउनुभएको छ । यसअघि नै सोमाली नागरिकहरूको प्रवेशमा प्रतिबन्ध लगाइसकिएको छ भने अफगानिस्तान, इरान, लिबिया, सुडान, यमनलगायत देशहरू पनि पूर्ण यात्रा प्रतिबन्धमा रहेका छन् ।

यसै क्रममा ह्वाइट हाउसले तुर्कमेनिस्तानले गरेको ‘महत्त्वपूर्ण प्रगति’ लाई स्वीकार गर्दै त्यस देशका नागरिकलाई गैर–आप्रवासी भिसामा अमेरिका प्रवेशको अनुमति पुनः दिन थालिएको जनाएको छ । तर समग्रमा हेर्दा, राष्ट्रपति ट्रम्पको पछिल्लो निर्णयले अमेरिकी आप्रवासन नीतिलाई अझै कठोर बनाएको स्पष्ट देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ