१० पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

१० पुष २०८२, बिहीबार १३:२७

गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा बढी समयपछि बेथलेहेम सहरले पहिलो पटक क्रिसमस पर्व मनाएको छ । बुधबार राति येशू ख्रीष्टको जन्मस्थल मानिने ऐतिहासिक चर्च अफ द नेटिभिटीमा सयौँ श्रद्धालुहरू भेला भई सामूहिक प्रार्थनामा सहभागी भए ।

सन् २०२३ अक्टोबरमा इजरायलमा हमासको आक्रमणसँगै सुरु भएको द्वन्द्वका कारण विगतका वर्षहरूमा बेथलेहेमको क्रिसमस उत्सव शोक र मौनताले ढाकिएको थियो । तर यस वर्ष गाजामा लागू गरिएको नाजुक युद्धविरामको सन्दर्भमा वेस्ट बैंकको यस सहरमा परेड, सङ्गीत र प्रार्थनासहित उत्सवको माहोल पुनः फर्किएको देखियो ।

मध्यरातभन्दा अघि नै चर्च अफ द नेटिभिटी श्रद्धालुहरूले भरिएको थियो । राति ११ः१५ बजे अङ्ग सङ्गीत (ओर्गान म्युजिक) को धुनसँगै पादरीहरूको जुलुस सुरु भयो । जेरुसेलमका ल्याटिन प्याट्रिआर्क कार्डिनल पियरबेटिस्टा पिज्जाबालाले क्रसको सङ्केत गर्दै उपस्थित श्रद्धालुहरूलाई आशीर्वाद प्रदान गर्नुभयो ।

धर्मोपदेशमा उहाँले शान्ति, आशा र पुनर्जन्मको सन्देश दिनुहुँदै क्रिसमसको कथाले आजको अशान्त विश्वमा पनि गहिरो अर्थ राख्ने बताउनुभयो । “क्रिसमसले हामीलाई प्रभुत्वभन्दा माथि उठेर प्रेम, एकता र न्यायको शक्ति पुनः चिन्ने अवसर दिन्छ”, उहाँले भन्नुभयो । हालै युद्धग्रस्त गाजाको भ्रमणको स्मरण गर्दै उहाँले युद्धविरामका बाबजुद पनि पीडा अझै बाँकी रहेको उल्लेख गर्नुभयो, तर त्यहाँका मानिसहरूको साहस र फेरि उठ्ने इच्छाले आफूलाई प्रेरित गरेको पनि बताउनुभयो ।

उता भ्याटिकनमा पोप लियो चौधौँले सेन्ट पिटरको बेसिलिकामा आफ्नो पहिलो क्रिसमस मास दिनुहुँदै विश्वभर २४ घण्टाको शान्तिको आह्वान गर्नुभयो । पोप फ्रान्सिसको निधनपछि निर्वाचित अमेरिकी पोन्टिफले क्रिसमसलाई ‘विश्वास, दान र आशाको पर्व’ का रूपमा वर्णन गर्नुभयो ।

बेथलेहेमको म्याङ्गर स्क्वायरमा ड्रम र ब्यागपाइपको धुन गुञ्जियो । युवा तथा वृद्ध इसाई श्रद्धालुहरू नाचगानसहित स्क्वायरमा भेला भए । १७ वर्षीया मिलाग्रोस अन्स्टासले युद्धका कारण लामो समय उत्सव मनाउन नपाएको पीडा सम्झँदै यस वर्षको खुसी विशेष भएको बताउनुभयो ।

सहरका साँघुरा सडकमा परेड निकालियो, सान्ता क्लजको वेशमा मानिसहरूले बालबालिकालाई मिठाइ र खेलौना बाँडे । साँझ पर्नासाथ बहुरङ्गी बत्ती र विशाल क्रिसमस ट्रीले चर्च अफ द नेटिभिटी वरिपरि उज्यालो छर्‍यो । चौथो शताब्दीमा निर्माण भएको यो बेसिलिका इसाईहरूको लागि अत्यन्तै पवित्र मानिन्छ ।

स्थानीय बासिन्दाहरूले क्रिसमस उत्सवको पुनरागमनले सहरमा जीवन र आशा फर्किने विश्वास व्यक्त गरेका छन् । छिमेकी सहर बेत जालाका जर्ज हन्नाले ‘उत्सवबिनाको क्रिसमस कल्पना गर्नै सकिँदैन’ भन्नुभयो ।

इटालियन तीर्थयात्री कार्मेलिना पिडिमोन्टेले बेथलेहेमको दृश्यले आफूलाई गहिरो आशा दिएको बताउँदै ‘हृदयमा प्रेम भए युद्धबिनाको संसार सम्भव छ’ भन्नुभयो ।

यसैबीच सिरियाको दमास्कसमा पनि सुरक्षा चिन्ताबीच क्रिसमस बत्तीले पुरानो सहर झलमलाएको थियो । विश्वका अन्य भागहरूमा पनि परिवारहरू क्रिसमसको पूर्वसन्ध्यामा भेला भए । यद्यपि कतिपय स्थानमा हालैका हिंसात्मक घटनाले शोकपूर्ण वातावरण पनि देखियो, तर समग्रमा क्रिसमसले संसारभर आशा, एकता र शान्तिको कामना बोकेको सन्देश फैलाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड त्रिविविको दीक्षान्त समारोह, सोह्र हजार दीक्षित बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन्ः प्रधानमन्त्री सुनचाँदीको मुल्य घट्यो त्रिविको ५१आँै दीक्षान्त समारोह आज राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी रुग्ण ठेक्का रद्द गरेर अलपत्र आयोजनालाई गति दिँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो