गाजा क्षेत्रमा आएको भीषण आँधीबेहरीका कारण एक बालक र एक महिलाको ज्यान गएको छ । स्थानीय नागरिक सुरक्षा निकायका अनुसार सात वर्षीय बालक इनारमा खसेर मृत्यु भएका छन् भने करिब तीस वर्षीया महिलाको तेज हावा र भारी वर्षाका क्रममा ज्यान गएको हो ।
आँधीबेहरीपछि उद्धार टोलीहरू पानीले भरिएका अस्थायी पालहरूमा खटिएर पानी निकासी र नाली सफा गर्ने काम गरिरहेका छन् । तर पर्याप्त स्रोत र उपकरणको अभावका कारण राहत कार्य प्रभावकारी रूपमा अघि बढ्न नसकेको जनाइएको छ ।
अधिकारीहरूका अनुसार धेरै विस्थापित शिविरहरू हिलो र पानीले भरिएका छन्, जसले सर्वसाधारणलाई गम्भीर जोखिममा पारेको छ । आपतकालीन कक्षले तत्काल सुरक्षित आवासको आवश्यकता रहेको उल्लेख गर्दै कठोर मौसमका कारण कमजोर पालहरू नष्ट भएको र क्षतिग्रस्त घरहरू आंशिक रूपमा भत्किएको चेतावनी दिएको छ ।