काठमाडौँ | एक बृद्धको हत्याको आरोप आमाछोरा दुवैलाई पक्राउ गरेको छ। ४८ वर्षीय सूर्यबहादुर शाहीको हत्या गरेको आरोपमा प्रहरीले आमाछोरा दुवैलाई पक्राउ गरेको छ। सान्नीत्रिवेणी गाउँपालिका-४ मेहलमुडी घर भई हाल सोही गाउँपालिका-९ मुम्रा बस्ने सूर्यबहादुर शाहीको हत्या गरेको आरोपमा उनकै श्रीमती र छोरालाई जिल्ला प्रहरी कार्यालय कालीकोटले पक्राउ गरेको हो।
यही जेठ २७ गते साँझ ८ बजेर ३० मिनेटको समयमा सान्नीत्रिवेणी गाउँपालिका-९ सुपेचौरस्थित गोरेटो बाटोमा सूर्यबहादुर शाही मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायब उपरीक्षक हिमबहादुर खत्रीले बताए। घटनामा संलग्न १८ वर्षीय छोरा रुपेश शाही र ४१ वर्षीया सूर्यबहादुर शाहीकी श्रीमती राजकला शाहीले जेठ २७ गते सुपेचौरस्थित गोरेटो बाटोमा ढुङ्गाले टाउकोमा प्रहार गरी मारेको खुल्न आएको छ। पक्राउ परेका शाहीकी श्रीमती र छोरालाई कालीकोट जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।