
काठमाडौँ | अमेरिकाको भर्जिनियामा नेपाली नर्स ममता काफ्ले भट्टको हत्या प्रकरणका आरोपी पति नरेश भट्टले अदालतमा सनसनीपूर्ण बयान दिएका छन् । दुई वर्षभन्दा बढी समयदेखि बेपत्ता रहेकी ममताको शव अहिलेसम्म फेला परेको छैन । नरेशमाथि हत्या गरी शव टुक्रा-टुक्रा पारेर नष्ट गरेको अभियोगमा मुद्दा चलिरहेको छ । अदालतमा जारी सुनुवाइको क्रममा आफ्नो सफाइ पेस गर्दै नरेशले ममताले आत्महत्या गरेको दाबी गरेका छन् । उनले आत्महत्या गरी निधन भएकी ममताको शव व्यवस्थापन गरेको दाबी गरेका छन् ।
अदालतको इजलासमा बयान दिँदै नरेशले सन् २०२४ जुलाई २९ को राति आफू अर्को कोठामा बच्चासँग सुतेको उल्लेख गरेका छन् । अर्को दिन अर्थात् जुलाई ३० को बिहान करिब ४ बजेतिर बच्चाको हेरचाहका लागि उठ्दा मुख्य शयनकक्षको बाथरुम जाने क्रममा ममता भुइँमा मृत अवस्थामा भेटिएको उनको दाबी छ । उनले ममताको शवको वान्ता गरेको अवस्थामा देखेको र नजिकै औषधिको बट्टा, चक्कीहरु र विषादिसमेत फेला परेको उल्लेख गरेका छन् । ममताले आत्महत्या गरेको देखेर आफू अत्यधिक डराएको र आतङ्कित भएको कारणले गर्दा नै आपत्कालीन सेवामा सम्पर्क गर्न नसकेको उनको स्पष्टीकरण छ । त्यसपछि उनलाई बाथरुममा लगेर पानी खन्याएर उठाउने प्रयास गर्दा पनि उनले कुनै प्रतिक्रिया नदिएको नरेशको भनाइ छ ।
घटनालगत्तै आफूले बच्चालाई बेबीसिटरको जिम्मा लगाएको र ममताको शव लुकाउने उपाय खोज्न होम डिपो गएको उनले बताएका छन् । त्यहाँ पञ्जाहरू किन किन्नुभएको भन्ने वकिलको प्रश्नमा आफूलाई केही थाहा नभएको उत्तर उनले दिएका छन् । त्यसपछिको घरभित्रै विद्युतीय आरा प्रयोग गरेर शवको टुक्रा टुक्रा पारी झोलामा हालेर फोहोर फ्याँक्ने भाँडोमा बिसर्जन गरेको नरेशले कबुल गरेका छन् । अभियोजन पक्षले अदालतमा पेस गरेका धेरैजसो सिसिटिभी फुटेजमा उनी पन्जा लगाएर विभिन्न डम्पिङ स्टेसनमा फोहोरका थैलाहरू फ्याँक्दै गरेको देखिएका छन् । तर अदालतमा उनले ती झोलाहरूमा ममताको शव नभई उनका व्यक्तिगत सामानहरू मात्र रहेको दाबी गरेका छन् । सुनुवाइका क्रममा अभियोजन पक्षका वकिल म्याथ्यू स्विटले नरेशलाई झूटो बोल्ने व्यक्तिको संज्ञा दिएका छन् । नरेशले पनि यस्तो आरोप स्वीकार गर्दै आफूले झूटो बोलेको उल्लेख गरेका छन् ।
अदालतमा नरेशले कुनै किसिमको भावना प्रदर्शन नगरी बयान दिएको अमेरिकी सञ्चार माध्यमले जनाएका छन् । ममताका साथीहरूले भने नरेशको यो बयान पूर्ण रूपमा बनावटी र गत दुई वर्षदेखि तयार पारिएको नाटक मात्र भएको बताएका छन् । यसअघि प्रहरी र सञ्चारकर्मीहरूसँग ममता न्युयोर्क वा टेक्सस गएकी हुन सक्ने दाबी गर्दै आएका नरेशले अदालतमा भने बयान फेरेका हुन् । आफ्नो बचाउ गर्ने क्रममा नरेशले नेपालको कठिन बाल्यकाल र अमेरिकी सेनामा सेवा गर्दा भोगेका मानसिक स्वास्थ्य समस्याहरू तथा नराम्रो सपना देख्ने समस्याबारे पनि अदालतलाई जानकारी गराएका छन् । पछिल्लो समयमा ममतासँगको सम्बन्ध बिग्रिए तापनि आफूले कहिल्यै पनि कुटपिट वा हिंसा नगरेको उनले बताएका छन् । यसअघि अदालतमा पेस भएका प्रमाण र विशेषज्ञहरूको बयान अनुसार ममता र नरेशको मुख्य शयनकक्षको कार्पेटमा रहेको रगतको दाग रूपमा ममताकै भएको फरेन्सिक वैज्ञानिकहरूले पुष्टि गरेका छन् । बाथरुम र शयनकक्षमा रगतका टाटा मेट्नका लागि सरसफाइ गरिएको सङ्केतहरू भेटिएको फरेन्सिक विश्लेषक इरीस डालीस ग्राफले बताएकी छिन् ।
यसबाहेक ममताका भाइ महेश्वर काफ्लेले अदालतमा ममता बेपत्ता हुनुभन्दा केही महिना अगाडि नरेशले कुटपिट गरेर आँखा नै निलो बनाएको तस्बिर ममताले आफूलाई गोप्य रूपमा पठाएको दाबी गरेका छन् । साथै, प्रहरीले बरामद गरेको एउटा विद्युतीय आरामा समेत ममताको रगत र डीएनएको अंश भेटिएको वैज्ञानिकहरूले बताएका छन् । फर्स्ट डिग्री मर्डर, मृत शरीरको अवमूल्यन र शव लुकाएको अभियोग खेपिरहेका नरेश भट्टले आफू निर्दोष रहेको दाबी गर्दै आएका छन् । यस प्रकरणमा अदालतमा थप बहस तथा कारबाहीहरू जारी छन् ।