काठमाडौँ । एउटा म्यानपावरमा कर्मचारीको रुपमा काम गरेर उक्त म्यानपावरलाई छलेर अर्कै म्यानपावर वा व्यक्तिगत श्रममा कामदार पठाउने गरेको भित्री धन्दा म्यानपावर भित्रको रोग बनेको छ । यस्तै अवैध धन्दा काठमाडौँको सिनामंगल स्थित जिसि इन्टरनेसनल म्यानपावर प्रालिमा काउन्सिलरका रूपमा कार्यरत कविता केसीले गरेको खुलेको छ ।

केसीले आफू कार्यरत जिसि इन्टरनेसनल मार्फत वैधानिक रुपमा वैदेशिक रोजगारमा आवेदन दिएकाहरुलाई अन्यत्र मोड्दै मोटो रकम उठाएको खुलेको छ । पछिल्लो समय उनले एक जना महिलालाई साइप्रसमा हाउसमेडमा पठाईदिने भन्दै पैसाको समेत कारोबार गरेको खुलेको छ । उनले आफै कार्यरत रहेको कम्पनीमा आएकाहरुलाई बिभिन्न उपाय सिकाएर रोजगार क्यान्सिल गर्न लगाउने र आफूले चाहेको रकम उठाएर अन्यत्र देशमा पठाईदिने भन्दै डिल गर्ने गरेको खुलेको हो । यसै विषयलाई पुष्टि गर्ने अडियो प्रमाण समेत प्राप्त भएको छ ।
घटनाको सम्बन्धमा सम्बन्धित जिसि इन्टरनेसनलका संचालक धुर्व जिसीसँग जानकारी माग्दा आरोपित केसीले म्यानपावरमा बसेर अवैध काम गरेको जानकारी पीडितबाट आफूले पाएको बताए । ति कर्मचारी दशैंपछि कार्यालय समेत नआएको तर आफ्नो म्यानपावरसँग जोडिएकाहरुलाई अवैध तरिकाले पठाउने काममा संलग्न रहेको पाइएको जिसीले बताए ।
म्यानपावर संचालक जिसीका अनुसार केसीले आफ्नो संस्थामा कार्यरत रहँदाको लाखौँ रुपैयाँ बराबरको आर्थिक हिसाबकिताब नबुझाई कार्यालयसँग सम्पर्क बिहिन भएर बसेको बताए । संचालक जिसीका अनुसार आफ्नो कार्यालय नआएकि केसीले जिसि इन्टरनेसनलकै कागजात तथा संस्थामा सम्पर्कमा आएका कामदारको विवरण प्रयोग गरी हालसम्म पनि अन्य म्यानपावर कम्पनीहरूसँग कारोबार गरिरहेको पाइएको बताए । उनले आफ्नो म्यानपावरबाट वैदेशिक रोजगारमा जाने तयारीमा रहेकी एक जना महिलालाई साइप्रस पठाउने भन्दै केसीले तीन लाख ५० हजार रुपैयाँ मागेको जानकारी आएको बताए । पीडितले आफूलाई यस सम्बन्धमा खुलाशा गरेपछि यस्तो धन्दाको जानकारी पाएको संचालक जिसी बताउँछन् ।
संचालक जिसीले दशैं यता केसीसँग पटक–पटक सम्पर्क गरी आर्थिक हिसाबकिताब तथा कामदारसँग सम्बन्धित विषय स्पष्ट पार्न खोजिए पनि अपेक्षित जवाफ प्राप्त हुन सकेको नसकेको बताए ।
कुनै कर्मचारीले संस्था छाडेपछि सम्बन्धित कम्पनीको अनुमतिबिना त्यहाँका व्यावसायिक कागजात, कामदारका व्यक्तिगत विवरण तथा रोजगारसम्बन्धी अभिलेख प्रयोग गरेको पुष्टि भएमा त्यसले व्यक्तिगत विवरणको गोपनीयता, संस्थागत जवाफदेहिता र वैदेशिक रोजगार प्रक्रियाको पारदर्शितामाथि प्रश्न उठ्छ ।
यसैबीच, जिसि इन्टरनेसनलमार्फत वैदेशिक रोजगार प्रक्रियामा रहेका कामदारलाई अन्यत्र मोड्ने प्रयास गरिएको भनिएको एक अडियो सामग्रीसमेत प्राप्त भएको छ । उक्त अडियोमा कामदारलाई हाउसमेडका रूपमा वैदेशिक रोजगारमा पठाउने प्रस्ताव गरिएको र पहिलेको म्यानपावरसँगको प्रक्रिया रोक्न भन्दै कामदारलाई उक्साएको लगायतको कुराकानी भएको अडियो रेकर्डमा उल्लेख छ । कामदारसँग अवैध डील गरेको भनिएको अडियोको विषयमा सम्बन्धित आरोपितसँग जानकारी लिन खोज्दा फोन उठेन ।
विशेषगरी, एउटा आधिकारिक म्यानपावर कम्पनीबाट रोजगार प्रक्रियामा रहेका कामदारलाई अर्कै अन्जान माध्यमबाट रोजगारमा लगिदिने भन्दै पैसा समेत अशुली भएको विषय सकारात्मक मानिदैन । अर्को कुन म्यानपावरबाट पठाउने प्रयास गरिएको भन्ने सम्बन्धित पक्षलाई समेत अत्तोपत्तो छैन ।
यस घटनाले वैदेशिक रोजगार व्यवसायमा कर्मचारीको व्यक्तिगत भूमिका, कम्पनीको संस्थागत जिम्मेवारी र कामदारको कागजात सुरक्षासम्बन्धी महत्वपूर्ण प्रश्न समेत उठाएको छ । कामदारले कुनै इजाजतपत्रप्राप्त म्यानपावर कम्पनीलाई विश्वास गरेर राहदानी तथा आवश्यक कागजात बुझाएको अवस्थामा ती कागजात सम्बन्धित म्यानपावरबाहेक अन्यत्र प्रयोग हुनु आफैमा गैरकानुनी मानिन्छ । कविता केसीले आफ्नो म्यानपावरको कागजात अन्यत्र प्रयोग गरेको विषयमा सम्बन्धित नियामक निकायमा उजुरी दिने जिसी इन्टरनेसनलको भनाई छ ।
यदि कामदारलाई वास्तविक रोजगार प्रक्रिया लुकाएर अन्यत्र मोड्ने, अनधिकृत रूपमा रकम असुल्ने वा संस्थाको अनुमति नलिई कागजात प्रयोग गर्ने कार्य भएको पुष्टि भएमा सम्बन्धित निकायले म्यानपावरका कामदार केसीलाई प्रचलित कानुनअनुसार आवश्यक कारबाहीको प्रक्रिया अघि बढाउन सक्ने देखिएको छ । सम्बन्धित म्यानपावरले केसी बिरुद्ध कागजात अपचलनको मुद्धा हाल्ने बताएको छ । सम्बन्धित पक्षले कामदारको कागजात अनुमतिबिना अन्यत्र बुझाएको र अवैध आर्थिक कारोबारबारे उठेका प्रश्नको सम्बन्धमा छानबीन गर्नुपर्ने देखिन्छ ।