
काठमाडौँ | पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन्। श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत आगामी स्थानीय निर्वाचनमा मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी हुन्।
श्रेष्ठले आफ्नो उम्मेदवारी घोषणा गर्दै जीवन र कर्मबाट आर्जन गरेको ज्ञान, सीप, अनुभव र विज्ञता काठमाडौँको समृद्धि, सुशासन र रूपान्तरणका लागि समर्पित गर्ने बताएकी छन्। उनले लेखेकी छन्, “मैले जीवन र कर्मबाट आर्जन गरेको ज्ञान, सीप, अनुभव र विज्ञता अब काठमाडौँको समृद्धि, सुशासन र रूपान्तरणका लागि समर्पित।”
यद्यपि, उनले आगामी निर्वाचनमा कुनै राजनीतिक दलको तर्फबाट प्रतिस्पर्धा गर्ने वा स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचन लड्ने हुन् भन्नेबारे भने खुलाएकी छैनन्। सुमना रास्वपाको पूर्वसहमहामन्त्री हुन्। पछिल्लो समय उनी दलीय राजनीतिमा निष्कृय छन्।