
काठमाडौँ | वैदेशिक रोजगारीका लागि सर्विया पठाइदिने बहानामा एक व्यक्तिबाट ३० लाख रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोरखाको आरुघाट गाउँपालिका–१० स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका–१६ बस्ने २४ वर्षीय रोशन खड्का रहेका छन्। उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले ललितपुर महानगरपालिका–२८ स्थित हरिसिद्धीबाट पक्राउ गरेको हो।
खड्काले बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभन देखाउँदै वैदेशिक रोजगारीका लागि सर्विया लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखेका थिए। उनले पीडितबाट ३० लाख ३० हजार रुपैयाँ रकम लिएर सर्विया नपठाई लामो समयसम्म सम्पर्कविहीन बनेको अनुसन्धानबाट खुलेको छ। आफू ठगिएको थाहा पाएपछि पीडितले दिएको जाहेरी दरखास्तका आधारमा खोजी गर्दा उनी मङ्सिर २ गते हरिसिद्धीबाट पक्राउ परेका हुन्।
कार्यालयका सूचना अधिकारी एवम् प्रहरी उपरीक्षक रामेश्वर कार्कीले भने, ‘सर्विया पठाउने भन्दै रकम असुलेर सम्पर्कविहीन बनेको उजुरीका आधारमा पक्राउ गरी उनलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ।’