पुस ३०, प्युठान । जिल्लाका विभिन्न धार्मिक एवं पर्यटकीय स्थलहरुमा आज माघे सक्रान्ति मेला लाग्दैछन् । झिमरुक नदिको उत्गम स्थल गौमुखी, झिमरुक नदि र माण्डवी नदिको संगम स्थल ऐरावती, तिरामको किमिचौर दह, मरण्ठानाको बुलवुल मुल बाइसधारा लगायत स्थलहरुमा भव्य मेला लाग्दैछन् ।
पुस मसन्ता देखि यहाँ मेला शुरु हुने गर्दछ। माघ महिनाको पहिलो दिन यि स्थानहरुमा स्नान गरेमा वर्षभरी जानेर वा अन्जानमा भएका गल्ती पखालिन्छ भन्ने धार्मिक बिश्वास रहिआएको छ । माघे सक्रान्तिको दिन खिचडी खाने, विभिन्न प्रकारका तरुल, विभिन्न प्रकारका रोटीहरु खाने चलन छ ।
हरेक बर्ष पर्यटन सम्वन्धी गतिविधि संचालन भैरहदाँ स्वर्गद्धारीलाई केन्द्रित गरेर कार्यक्रमहरु संचालन भैरहे पनि यस पटक विभिन्न स्थानमा सांस्कृतिक कार्यक्रम संचालन गरिएको छ । स्थानिय कला भाषा र लोपउन्मुख संस्कृतीको जगेर्नाका साथै पर्यट्न बिकासका लागि मेलाको आयोजना गरिएको आयोजकले जानकारी दिएका छ्न।
माघे सक्रान्तिकै अवसर पारेर झिमरुक नदि र माण्डवी नदिको संगम स्थल ऐरावतीमा पनि नुहाउनेहरुको निकै घुइचो लागेको छ । राप्ती नदि बन्ने यस स्थानमा नुहाउनका लागि प्यूठानको दाङवाङ, ढुङ्गेगढी, वांगेशाल, अर्घाखाँचीको सिद्धारा जलुके, धनचौर, जुकेना लगाएत विभिन्न स्थानहरुबाट दर्शनार्थी आउने क्रम शुरु भएको छ । भालुवाङ्ग–प्यूठान सडक सडक खण्डमा पर्ने बड्डाडाँ बजारदेखि करिव १८ किलोमिटर कच्चि सडक पार गरि माण्डवी नदि माथि बनेको झोलुंगे पुल तरिसकेपछि ऐरावती पुग्न सकिन्छ । पुसको अन्तिम दिन राती स्थानीय सोरठी नाँच, लोक गित, भजन क्रितन कार्यक्रम गरी माघे संक्रान्तिको दिन दोभानमा नुहाउने गरिएको छ ।
माघे सक्रान्तिको अवसरमा प्यूठानको स्वर्गद्धारीमा खिचडी मेला संचालन भैरहेको छ । हरेक वर्ष माघे सक्रान्तिको बेला हुने खिचडी मेला माघको पहिलो हप्ताभर संचालन हुने स्वर्गद्धारी आश्रमले जनाएको छ । खिचडी मेला भर्न नेपालका विभिन्न ठाँउका साथसाथै भारतको उत्तरप्रदेश लखनउबाट बढि भक्तजन आउने गरेका छन् ।
गौमुखीमा स्थानीय क्लव तथा संघसस्थाहरुको आयोजनामा गौमुखी मेलाको आयोजना गरिएको छ । स्थानीय लोक सस्कृतिको विकास, पर्यटकीय स्थलको विकास, ग्रामिण एवं बाह्य पर्यटन प्रवद्र्धनगर्ने उद्देश्ले मेला आयोजना गरिएको हो । आइतवार विहानै गाईको मुख जस्तो आकारबाट छङछङ बग्ने चिसो पानीमा नुहाउनेहरुको घुँइचो लागेको थियो । दर्शनार्थीहरुलाई प्रसाद वितरण र भजन सहित स्थानीय लोक सास्कृतिक प्रदर्शनी कार्यक्रम समेत गरिएको छ । गौमुखी पुग्नका लागि अर्खासम्म कच्चि मोटरबाटो पुगेकाले दर्शनार्थीको संख्यामा बृद्धि भएको स्थानीयले बताएका छन् ।
यसै गरी प्युठानको तिराम गाविसको वडा नम्बर ७ स्थित किमिचौर गाउँमा रहेको किमिचौर दहमा पनि मेला लागने त्यहाँका स्थानीयबासीहरुले जनाएका छन् । यहाँ पनि प्रत्येक वर्ष माघीको समयमा मेला लाग्ने गर्दछ ।