५ मंसिर २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

फेरिएन दनुवार बस्तीको मुहार: चिरा-चिरा परेका छन् घर

११ पुष २०७४, मंगलवार ०७:३५

पुस ११, धुलिखेल । दनुवार समुदायको जीवनस्तर सुधार गर्न नसकेको भन्दै पाँचखाल नगरपालिकाका उपप्रमुख लक्ष्मी दनुवारले दुःख व्यक्त गर्नुभएको छ । 

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका– १२ बालुवास्थित दनुवार बस्तीमा अझै पनि चिरा–चिरा परेका अवस्थाका घर भएको र पुनःनिर्माणका लागि आवश्यक जनशक्ति र आर्थिक अभाव भएको उहाँले बताउनुभयो । विसं २०७२ वैशाख १२ गते गएको भूकम्पका कारण क्षति पु¥याएका बकुल्टार र बालुवास्थित दनुवार बस्तीका अधिकांश घर अहिले पनि उस्तै छन् । 

आर्थिक अभाव झेल्दै भूकम्पका कारण बस्ती नै क्षतिग्रस्त भएपछि कष्टकर जीवन गुजारा गर्दै आइरहेका उक्त बस्तीका बासिन्दाले पुनःनिर्माणको काम अगाडि बढाउन सकेका छैनन् । “बिरामी हुँदा औषधि किनेर खान सक्ने दनुवार समुदायको अवस्था छैन, घर बनाइदिने निकाय भए राम्रो हुन्थ्यो”, उपप्रमुख दनुवारले भन्नुभयो । पाँचखाल नगरपालिकाले पनि पहल गरिरहेको लागिरहेको उहाँको भनाइ छ । 

विभिन्न संघसंस्थासँग सहकार्य गरेर काम गर्न पाएमा थप सहज हुने र त्यसका लागि सहयोग गर्न सबैलाई उहाँले आग्रह गर्नुभयो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला समन्वय समितिका प्रमुख ध्रुव गैँडा र राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी अध्यक्षलाई समेत दनुवारले आग्रह गर्नुभयो । 

“अर्थ उपार्जनको कुनै माध्यम छैन,” स्थानीयवासी सिमराज दनुवारले भन्नुभयो– “घर बनाउन पैसा छैन, भूकम्पले चिरा पारेको घरमा बस्दै आएका छौँ ।” 

भूकम्प लाभग्राहीको पहिलो किस्ता पाएपछि घर बनाउनुभएका केही लाभग्राहीले दोस्रो किस्ता भने पाउन सकेका छैनन् । गाउँमा पहिलादेखि बनाउँदै आएका काँचो माटोका इँटा र काठको नटले कसेर घर निर्माण गर्नुभएको भूकम्प लाभग्राही बालुवाका पार्वती दनुवार इञ्जिनियरले मापदण्डअनुसार नभएको बताएपछि दोस्रो किस्ता पाउन नसकेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “पहिला आउनुभएको इञ्जिनियरले काँचो इँटाले नै घर बनाउँदा पनि हुन्छ भनेपछि घर बनाउन शुरु गरेका हौँ ।” 

तेह्रजनाको परिवार एकै घरमा बस्दै आएको बताउने दनुवारले सबै परिवार कामको सिलसिलामा घरबाहिर रहेको र अरु रकम नभएका कारण गाउँमा नै उपलब्ध काँचो इँटाले घर निर्माण गरेको बताउनुहुन्छ । “गएको असारमा रु ५० हजार रकम पायौँ ।” 

सोही घरका अर्का लक्ष्मी दनुवारले अरु केही विकल्प नभएका कारण गाउँमा उपलब्ध सामग्री प्रयोग गरेर निर्माण गरेको घरको पैसा नपाउनु दुःखको कुरा भएको बताउनुभयो । “दुःख लाग्छ, घर बनाएपछि भूकम्पको पैसा पाइन्छ भन्थे, तर घर बनाएको छ महिना बितिसक्यो, पैसा पाउन सकेको छैन”, उहाँले भन्नुभयो । मापदण्डअनुसार घर बनाएर बस्न पाउनुमा नै ठूलो उपलब्धि ठान्नुभएका उहाँहरु अब अर्को घर निर्माण गर्न नसक्ने बताउनुहुन्छ । 

सोही टोलका सानु दनुवारले पनि घर बनाएर दोस्रो किस्ता नपाएको बताउनुभयो । “मैले पनि त्यसरी नै काँचो इँटाले घर बनाएको हुँ, घर त सम्पन्न भयो, मापदण्डअनुसार भएन भनेर पैसा दिएनन् ।” सानु दनुवारले भन्नुभयो, “यतिसम्मको घर त जसोतसो बनायौँ, अब पैसा पाए पनि नपाए पनि अर्को घर बनाउन सक्दैनौँ ।” अरु थप पैसा नभएकै कारण त्यसलाई भत्काएर पुनःनिर्माण गर्न नसक्ने उहाँको भनाइ छ । 

पार्वती र सानु दनुवारले जस्तै सोही टोलका करिब १०÷१२ घरपरिवारले काँचो इँटाबाट घर निर्माण गरिसकेका छन् । तर ती घर भूकम्प प्रतिरोधी दृष्टिकोणले प्राविधिकरुपमा उपयुक्त नभएको भन्दै इञ्जिनियरले स्वीकृति नगरेपछि लाभग्राहीले पाउनु पर्ने रकम पाउन सकेका छैनन् । 

सोही टोलका माइला दनुवारले भने लाभग्राहीको सूचीमा नाम भए पनि बैंकबाट रकम नपाएको बताउनुभयो । “म तीन पटकसम्म पाँचखालस्थित प्रभु बैंकको शाखामा गएँ, नाम लिष्ट आएकै छैन भन्ने जवाफ पाउने गरेको छु,” उहाँले भन्नुभयो । अरु ठाउँमा जग्गा भए पनि पैसा नभएका कारण अर्को घर बनाउन सक्ने अवस्था नभएको उहाँको भनाइ छ । काँचो माटोकै त्यस्तै घर रु दुई लाखमा बन्न नसक्ने उहाँको भनाइ छ । 

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला समन्वय समितिका प्रमुख ध्रुव गैँडाले विपन्न दनुवार बस्तीका बासिन्दाका लागि सहयोगी दातासँग समन्वय गरी काम गर्न प्रक्रिया अगाडि बढाइरहेको बताउनुभयो । 

“नगरपालिकाका उपप्रमुख लक्ष्मी दनुवारले मसँग त्यहाँको समुदायको अवस्थाका बारेमा जानकारी गराउँँदै सहयोगी निकायसँग समन्वय गर्न भन्नुभएको थियो, त्यहीअनुसार प्रक्रिया अगाडि बढिरहेको छ”, उहाँले भन्नुभयो, “अहिले त्यहाँका दनुवार बस्तीका समुदायलाई घर निर्माणको लागि ‘हेभिट्याट फर ह्युमानिटी’ संस्थासँग मिलेर संकुचित माटोबाट इँटा बनाउने काम भइरहेको छ, त्यसबाट भूकम्प प्रतिरोधी घर निर्माणमा सहयोग मिल्नेछ ।” 

करिब १८० घरधुरी रहेको दनुवार बस्तीका बासिन्दा एकाध घरपरिवारबाहेक अझै पनि अधिकांश चिरा परेकै घरमा बस्दै आउनुभएको छ । त्यहाँका अधिकांश घरका भित्ता फाटेका छन् भने पाली भत्केका छन् । त्यस्तै घरमा उहाँहरुको दिनचर्या चलिरहेको छ । 

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी अध्यक्ष युवराज भुसालले दनुवार बस्तीमा काँचो इँटाले बनाएका घर प्राविधिकरुपमा थप मजबुत बनाउँदै प्रक्रिया अगाडि बढाउन जिल्लास्थित सहरी विकास तथा भवन डिभिजन कार्यालयका प्रमुख अष्टलाल सुवाललाई निर्देशन दिएको बताउनुभयो । 

बहत्तर हजार ४१७ घरपरिवार लाभग्राही रहेको काभ्रेपलाञ्चोकमा ६५ हजार ७७३ लाभग्राहीले पहिलो किस्ता लिइसकेका छन् । पहिलो किस्ता लिएर घर निर्माणको थालनी गरी दोस्रो किस्ता लिनेको संख्या भने निकै न्यून रहेको छ । 

हालसम्ममा नौ हजार २६९ लाभग्राहीले दोस्रो किस्ता लिएको र निर्माण सम्पन्न गरी अन्तिम किस्ता लिनेको संख्या दुई हजार ८९३ मात्रै रहेको जिल्ला समन्वय समितिको तथ्यांकमा उल्लेख छ । युवराज पाण्डे/रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंको घरबाट पक्राउ परेका ९ जनालाई मुद्दा दुर्गा प्रसाईंका वकिलको आरोप: ‘मंसिर ७ को आन्दोलन रोक्न पक्राउ गरियो’ अन्डरवर्ल्ड एजेन्ट भन्दै असुली गर्न खोजेको आरोपमा चिकित्सक पक्राउ रवि लामिछानेसहित १० जनाविरुद्ध चितवनमा सहकारी ठगी प्रकरणमा जाहेरी नेपालमा लरेन्स विश्नोईको नाम लिएर धम्की: सीआईबीमा चार जनाको उजुरी, अनुसन्धान जारी भैंसेपाटी हनिट्रयाप प्रकरण : इन्सपेक्टर शाहीसहित ६ जनालाई मुद्दा चलाउन सिफारिस लोकतन्त्रप्रति भरोसा जगाउन शासन प्रणाली पारदर्शी, जवाबदेही र सुशासन अनिवार्य: राष्ट्रपति पौडेल काठमाडौं आइपुगे भारतीय सेना प्रमुख द्विवेदी इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण माइतीघरमा प्रहरी र सहकारीपीडितबीच झडप, तीनजना घाइते बीआरआईबारे कांग्रेसको अडान- अनुदान भए ठीकै छ, ऋण कुनै हालतमा स्वीकार्य हुँदैन समयमै हवाई टिकट नपाएपछि गर्भमै शिशुको मृत्यु मुकेश अम्बानीलाई एलन मस्ककाे झट्का ! दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अनुमति उपचुनाव: माओवादीले खाता खोल्यो, पुथाउत्तरगंगा-२ वडाध्यक्षमा जगत घर्ती निर्विरोध अदालत परिसरमा विषादी सेवन: रश्मिला धामी अचेत अवस्थामा, मट्टितेल पिएको अनुमान स्टार स्पोर्ट्ससँग गैरकानूनी सम्झौता गरेको भन्दै क्यानको निर्णयप्रति तीन संस्थाको आपत्ति न्युजिल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने २४ वर्षीया युवती पक्राउ अदालत परिसरमा विष सेवनपछि रश्मिला धामी पक्राउ मेडिसिटी अस्पतालमा बिरामीको मिर्गौला गायब बनाएको भन्दै चर्को आन्दोलन, के भन्छ अस्पताल?