पढ्न करिब 2 मिनेट लाग्छ

पुस २८, म्याग्दी । बेनी नगरपालिका–४ सिंगाका युवाले गाउँमा पशुपालन गरेर दूध बिक्रीबाट वार्षिक रु एक करोड बराबरको कारोबार गरेका छन् ।

उनीहरुले दूध बिक्री गरेर मासिक रु ४० हजारदेखि रु एक लाखसम्म आम्दानी गर्दैआएका छन् । कतारबाट फर्किएर गाउँमा भैँसीपालन गर्दैआएका बेनी नगरपालिका–४ का मनबहादुर खत्रीले दूध बिक्रीबाट अहिले मासिक रु एक लाखभन्दा बढी कमाउन थाल्नुभएको छ ।

उहाँले २०६८ सालमा रु एक लाखको लगानीमा दुईवटा भँैसी खरिद गर्नुभएको थियो । दूधबाट मनग्य आम्दानी हुने देखेपछि केसीले अहिले ६ वटा भैँसी र एउटा उन्नत जातको जर्सी गाई पाल्नुभएको छ । उहाँले दैनिक ७० लिटर दूध बिक्री गर्नुहुन्छ ।

केसी मात्रै होइन गाउँका ३० जना युवाले व्यावसायिक रुपमा दूध बिक्री गरेर घरमै बसीबसी प्रतिव्यक्ति मासिक रु एक लाखभन्दा बढी कमाई गर्दै आएका छन् । गाउँमा जनभावना दुग्ध सहकारी संस्थाको स्थापना भएपछि सो सहकारीमार्फत तीन सय लिटर र किसानले व्यक्तिगत रुपमा १५० लिटर दूध बजारमा बिक्री गर्दैआएका छन् ।

सहकारीका सञ्चालक कोपिलाल पौडेलका अनुसार अहिले बजारमा दूध प्रतिलिटर रु ८५ मा बिक्री भइरहेको छ । किसानले प्रतिलिटर रु ६५ मा सहकारीलाई दूध बेच्दै आएका छन् ।

“गाउँबाट एउटै किसानले दैनिक ५५ लिटरसम्म दूध बेच्ने गरेका छन्,” उहाँले भन्नुभयो–“बयालिस घरधुरीले व्यावसायिक रुपमा गाई–भँैसीपालन गर्दैआएका छन् ।”

जिल्ला पशुसेवा कार्यालयबाट नमूना सहकारीको पुरस्कारसमेत प्राप्त गरेको सो सहकारीले संकलन गरेको दूधलाई बजार लैजान कर्मचारी परिचालन गरिएको छ । सहकारीमार्फत दूध बेच्ने किसानलाई सहकारीकै खातामा पैसा जम्मा गर्ने व्यवस्था मिलाइएको छ । सहकारीले लगानीसमेत गर्ने भएकाले किसान सहकारीको अभियानतर्फ आकर्षित भएका छन् । रासस