सन्तोषकुमार गुप्ता/ असोज १६, देउखुरी । थरुहट स्वायत्त प्रदेशको माग गर्दै आएको थारुहरुको जातिय संगठनले जारी राखेको बन्दले देउखुरी क्षेत्रमा यातायात सेवा ठप्प छ । साउन २७ गते देखी थरुहट(थारुवान संयुक्त संघर्ष समितिले आह्वान गर्दै आएको बन्दका कारण देउखुरी क्षेत्रमा गाडि चल्न सकेका छैनन् ।
एक महिना सम्म सबै क्षेत्र बन्द गर्दै आएको बन्दकर्ताहरुले पछिल्लो केही दिन देखी राजमार्गमा गाडि सञ्चालनमा रोक लगाएको छ । नयाँ संबिधानमा आफुहरुको अधिकार स्थापित हुन नसकेको र राज्य पूर्नःसरचना गर्दा चितवन देखी कन्चनपुर सम्मको थारु बहुल क्षेत्रलाई थरुहट स्वायत्त प्रदेश बनाउनु पर्ने माग गर्दै संघर्ष समितिले बन्द आह्वान गर्दै आएको छ । बन्दका कारण देउखुरी क्षेत्रमा गाडिहरु चल्न सकेका छैनन् । फाट्ट फुट्टरुपमा चलेका सवारीका साधनलाई प्रहरीले सुरक्षा दिएर गन्तव्य तर्फ पठाउदै आएको छ । गाडी नचल्दा काम बिषेशले हिडेका यात्रुहरुलाई समस्या हुने गरेको छ । देउखुरीको पूर्वपश्चिम राजमार्गका बिभिन्न स्थानमा बन्दकर्ताहरु सडकमा बसेको प्रहरीले जानकारी दिएको छ ।
यसैविच पूर्व पश्चिम राजमार्गको दाङ खण्डमा रोकिएका २ सय बढि सवारीका साधनलाई प्रहरीले सुरक्षा दिएर गन्तब्य तर्फ पठाएको छ । बिहिबार बेलुकी ७ बजेदेखि राती १ बजेसम्म ३ पटक गरी २ सय २४ सवारीका साधनलाई स्कर्टिङ गरी गन्तब्यमा पठाइएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरिक्षक लक्ष्मणबहादुर शाहीले जानकारी दिए । शनिबार राजमार्गमा गाडिहरु कम चलेपनि केही मात्रामा गाडि चलिरहेको उनले बताए । थरुहटको आन्दोलन भन्दा पनि पेट्रोलियम पदार्थको अभावका कारण गाडिहरु कम चलेको उहाँको भनाई छ । हिजो पनि प्रहरीले राजमार्गमा रोकिएर रहेका २ सय ५० गाडि स्कर्टिङ गरी गन्तब्यमा पठाएको थियो ।