Skip to content
Friday, July 17, 2026 Nepali Online Media
November 17, 2015 दाङ्ग - DNG, समाज

दाङबाट लेखीको उद्घोष–मानवअधिकारवादी डलरवादी, ४२ थारु सभासद गद्दार

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

सन्तोषकुमार गुप्ता, मंसिर १, देउखुरी । थरुहट थारुवान संयक्त संघर्ष समितिका वार्ता समितिका संयोजक राजकुमार लेखीले संसदमा रहेका ४२ थारु सभासद बेइमान गद्दार र लोभी भएको आरोप लगाउनुभएको छ ।

देउखुरीको लमहीमा पत्रकार सम्मेलन गरेर लेखीले थारुको अधिकारका लागि रेष्टम घेराउ र नाराबाजी गर्न नसक्नेहरु थारु सभासद बेइमान भएको आरोप लगाउनुभएको हो । उहाँले अर्को प्रसंगमा मानवअधिकारबादी स्वतन्त्र नभएर डलरवादी भएको बताउनुभएको छ । ‘थारुमाथि यत्रो अन्याय हुँदा बोलेनन् ।, उहाँले भन्नुभयो, ‘मानवअधिकारवादीले ५ औं पार्टीको भुमिका निभाइरहेका छन ।’

नवलपरासीको २ दिने राष्ट्रिय भेलापछि पूर्वका जिल्ला हुँदै दाङ आउनुभएका लेखीले आन्दोलनलाई परिमार्जन गरेर थप सशक्त बनाउने बताउनुभयो । उहाँले ७ प्रदेश संघीयतासहितको प्रदेश नभएर देउवा, रावल, वली, सिटौला प्रदेश भएको आरोप लगाउनुभयो । सरकारले थारुको माग सम्वोधन नगरे राष्ट्र टुक्राउने सिके राउत जस्तालाई टेवा पुग्ने उहाँको दाबी छ ।

एक अर्को प्रसंगमा बोल्दै उहाँले थारुको संवोधन गर्न बनाइएको आयोग कठपुतली आयोग भएको बताउनुभएको छ । ‘५ जनालाई जागिर दिन आयोग बन्यो’, उहाँले भन्नुभयो, ‘आयोग थारुलाई अधिकार दिन बनेको हैन यो कठपुतली आयोग हो ।’

त्यस्तै तराई र पहाडमा बराबर निर्वाचन क्षेत्र हुनुपर्ने लेखीले बताउनुभएको छ । उहाँले अहिलेको सरकार ब्राह्मण एकता परिषदको सरकार भएको आरोप लगाउनुभएको छ ।

‘ब्राह्मण एकता परिषदको सदस्य भएर गच्छेदारले काम गरे’, उहाँले भन्नुभयो, ‘थारुको खोल ओडेका गच्छेदार थारु बिरोधी हुन् ।’ आफ्नो भनाइमा सबैलाई आलोचना मात्रै गर्न भ्याएका लेखीले सञ्चार माध्यमलाई समेत पाँचौं पार्टीको संज्ञा दिनुभएको छ । सरकारवादी सञ्चारमाध्यमले आन्दोलन दबाउन खाजेको उहाँको आरोप छ ।