२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

कष्टकर जीवन जीउने रत्ननगरका मुसहरलाई अब ‘नमूना गाउँ’

२०७४, १२ माघ शुक्रबार ११:१३

नारायण ढुंगाना / माघ १२, चितवन | चितवनको रत्ननगर नगरपालिका –७ की वैशाखी माझी (मुसहर) आज चिसो मौसममा सानो झुप्रो अगाडि जाडो छल्न बिहानीको पार ताप्दै हुनुहुन्थ्यो ।

बाँसका कुहिन लागेका भाटा तेस्र्याएर त्यसमाथि च्यातिएको त्रिपाल बेरेको घर उहाँको हो । राति शीत पनि चुहिन्छ । भित्र एकजना मात्रै बल्लतल्ल बस्न सकिएला । आगो फुक्यो भने ज्वालो सोझै त्रिपाल छेडेर निस्कनेखालको छ । यस्तो कष्टकर जीवन बित्दैछ वैशाखीको । 

यहाँका दुई दर्जन बढी मुसहर परिवारको दैनिकी यस्तैयस्तै छ । त्यसमध्येको एक वैशाखीजस्ता धेरैको जीवन अत्यन्तै कष्टकर छ । राम्रो घर नभएको र कोठा पनि नभएकाले परिवारमा सासु, ससुरा छोरी, बुहारी, छोरा सबै एकै स्थानमा सुत्नुपर्ने बाध्यता छ । 

यसरी कष्टकर जीवन गुजार्ने उनीहरुका लागि भने अहिले ‘नमूना बस्ती’ बन्ने खबरले मुसहरहरु फुरुङ्ग छन् । “घर बन्छ रे अब हाम्लाई, वैशाखीले खिस्स हाँस्दै भन्नुभयो, बनेपछि नयाँ घरमा बस्ने ।” 

ती मुसहरलाई चितवनका विभिन्न छवटा रोटरी क्लबको अगुवाइमा नयाँ घर बन्न लागेको छ । यहाँको रोटरी क्लब अफ चितवन, रोटरी क्लब अफ रत्ननगर, रोटरी क्लब अफ नारायणगढ, रोटरी क्लब अफ भरतपुर, रोटरी क्लब अफ नारायणी मिड टाउन र रोटरी क्लब अफ गैँडाकोटले ‘रोटरी मुसहर नमूना गाउँ’ बनाउन शुरु गरेको हो । 

आज रोटरी क्लब अफ इन्टरनेशनल ३२९२ का डिस्ट्रिक गभर्नर सञ्जय गिरीद्वारा शिलान्यास भएको छ । नमूना बस्ती चार महिनामा पूरा गर्ने योजना रहेको रोटरी इन्टरनेशनल जोन २० का सहायक गभर्नर तथा कार्यक्रम संयोजक राजेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । 

मुख्यगरी शुरुमा अति कष्टकर जीवन गुजार्दै आएका १२ परिवारका लागि घर निर्माण हुन लागेको छ । त्यसपछि छवटा घर थपेर १८ घर निर्माण गर्ने योजना रहेको रोटरी क्लब अफ रत्ननगरका अध्यक्ष विष्णुप्रसाद शर्माले जानकारी दिनुभयो । 

यस्तो बन्छ घर 

एउटा घरमा भान्सा कोठासहित तीनवटा कोठा हुन्छन् । शौचालय एउटा छ । बाल उद्यान समिति सामुदायिक भवनसमेत निर्माण गरिनेछ । नमूना बस्ती बनाउने योजनासहित आजदेखि काम थालिएको रोटरियन पूर्ण रिजालले बताउनुभयो । 

यसका लागि प्रतिघर रु तीन लाख लाग्ने अनुमान गरिएको छ । घर निर्माणको खर्च विभिन्न रोटरी क्लब र रोटरियनबाट प्राप्त भएको छ । मुख्यगरी कूल लागतको ५० प्रतिशत रकम हस्तबहादुर भट्ट प्रतिष्ठानले व्यहोर्ने छ । 

अन्यमा इन्टरनेशनल ३२९२ बाट रु दुई लाख, पूर्व सांसद उमेश श्रेष्ठबाट रु तीन लाख, रोटरी क्लब अफ काठमाडौं मेट्रोबाट रु दुई लाख, आयोजक छ वटा रोटरी क्लबबार रु एक, एक लाख, प्रकाश अर्यालको अग्रसरतामा रु तीन लाख, एनआरएनए जापानका विष्णु भट्टराईबाट रु एक लाख आठ हजार सहयोग प्राप्त भएको छ । 

चितवनको सौराहा नजिकै रत्ननगर–७ को मालपुरमा २६ जना मुसहरको नाममा खरिद भएको १५ कट्ठा सात धुर जग्गामा उक्त नमूना बस्ती बनाउन लागिएको हो । 

यी बनेका घरमा जीवन मुसह, विगवा, राजु, भदै मुसहर, सुखारी, कार्की, तेजबहादुर, रुपलाल, पतिराम, लक्ष्मण र बलराम मुसहर बसोबास गर्ने जनाइएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण