फागुन २, मोरङ | पूर्वपश्चिम लोकमार्गअन्तर्गत मोरङको सुन्दरहरैचा नगरपालिका–७ मा मंगलबार साँझ कारको ठक्करबाट सो नगरपालिका–३ का ७२ वर्षीय विष्णु सुब्बाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक विष्णुहरि कोइरालाका अनुसार पश्चिमतिर जाँदै गरेको बा १८ च २२४० नंको कारले साइकलयात्री सुब्बालाई साँझ ६:०० बजे सुन्दरहरैचा–७ विश्वकर्मा मन्दिर नजिकै ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाइते भएका सुब्बाको उपचारका क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा राति ८:०० बजे मृत्यु भएको हो । ठक्कर दिने कारसहित चालकलाई इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको छ । रासस