पढ्न करिब 5 मिनेट लाग्छ

कविता उपाध्याय/माघ ४, रोल्पा । दशवर्षे सशस्त्र युद्धका बेला देश र जनताको मुक्तिका लागि भन्दै बन्दुक बोकेर हिँडेका सुकिदह–३, जिनाबाङ, रोल्पाका लोकमान वली हिजोआज रोल्पामा उत्कृष्ट बाख्रापालक कृषक बन्नुभएको छ ।

“बाख्रासँग खेल्दाको मजा नै बेग्लै हुन्छ,” उहाँले भन्नुभयो । बाख्रा पालनबाट वलीको दैनिकी मात्र फेरिएको छैन जीवनस्तरमा पनि नौलो आयाम थपिएको छ ।

हाल उहाँसँग १७८ वटा उन्नत जातका बाख्रा छन् । रुटिनअनुसार उहाँ हरेक दिन बिहान ३ बजे उठ्नुहुन्छ ।

राति ११ बजे उहाँको दैनिकी समाप्त हुन्छ । बाख्रापालनका लागि उहाँसँग कामदार छैनन् । श्रीमान्–श्रीमतीले सबै जिम्मेवारी पूरा गर्दै आउनुभएको छ । “सरकारी जागिरमा त गयल हुइन्छ, अरूको अण्डरमा बस्नुपर्छ, तर यसमा त इच्छाअनुसार चल्न पाइन्छ । त्यसैले मेरा लागि सबैभन्दा ठूलो सौभाग्य यही हो,” उहाँले भन्नुभयो ।

वलीका अनुसार उहाँका बुबाले वर्षांै पहिलेदेखि स्थानीय जातका बाख्रापालन तथा स्याउखेती गर्दै आउनुभएको थियो । तर सोचेअनुरुप आम्दानी हुन सकेन । धेरै मिहेनत ग¥यो थोरै उपलब्धि हात पर्ने भएपछि कहिलेकाहीँ उहाँका बुबालाई आफूले रोजेको व्यवसायले निराश बनाउँथ्यो ।

तर रोजीरोटीका लागि वलीका बुबाले विभिन्न चुनौतीका बीच १०/१५ वटा बाख्रापालन तथा स्याउ खेतीलाई नै निरन्तरता दिइरहनु भयो जसबाट उहाँको परिवारमा सामान्य गुजारा त चल्यो तर वास्तविक उपलब्धि हासिल हुन सकेन ।

वलीले विसं २०५२ मा जनकल्याण उच्च माध्यमिक विद्यालय, थारमारे, सल्यानबाट एसएलसी उत्तीर्ण गर्नुभएको हो ।

देशमा सशस्त्र युद्धको शुरुआत भइसकेको थियो । विसं २०५३ चैत १९ गते वली नभएको मौका पारी अज्ञात समूहले रातको समयमा घरभित्रै पसी बिनाकारण उहाँका बाबुका हातखुट्टा भाँचिदिए ।

कस्ले र किन घटना घटायो भन्ने बारेमा उहाँको परिवारमा कुनै किसिमको जानकारी भएन । यसरी पीडित भएका वली त्यसको केही समयपछि जनमुक्ति सेनामा आबद्ध हुनुभएको थियो ।

बन्दुक बोकेर निस्किएका वलीले रोल्पा, रुकुम, दाङ, सल्यान, प्यूठान, जाजरकोट, बाँके, बर्दिया, अछाम लगायतका जिल्लामा जनमुक्ति सेनाको भूमिका निर्वाह गर्नुभयो ।

तर दुर्भाग्य– कि मर्छु कि मार्छु भन्ने अठोटका साथ जनमुक्ति सेनाको जिम्मेवारी बोकेका वलीको बन्दुकले जाजरकोटको पाँचकटिया प्रहरी चौकी आक्रमणका क्रममा विश्राम लियो ।

वली सो आक्रमणमा परी गम्भीर घाइते हुनुभयो । यसरी घाइते भएका वलीलाई उहाँको पार्टीले उपचारका लागि भारतको राजस्थान पु¥यायो । त्यहाँ वलीको उपचार भयो र बिस्तारै उहाँको स्वास्थ्यमा सुधार हुन थाल्यो ।

रमाइलो कुरा त के छ भने वलीको उपचारमा संलग्न डाक्टरले अस्पताल नजिकै बाख्रापालन सञ्चालन गर्दै आउनुभएको रहेछ । करिब ३०÷३५ जना नेपाली कामदार राखेर व्यवसाय सञ्चालन गरेको थाहा पाएपछि उहाँ त्यसतर्फ आकर्षित बन्दै जानुभयो । डा स्वयंले नै सञ्चालन गरेको फार्ममा काम गर्न पाएपछि उहाँ पनि त्यो फार्ममा जोडिनुभयो ।

घाइते भएर उपचारका क्रममा देश छोडेका वलीले स्वास्थ्यमा सुधार आएपछि फार्ममै करिव १८ महिना काम गर्नुभयो । फार्ममा उहाँले ठूलो काम गर्नु पर्दैनथ्यो । त्यहाँ भएका पहिलेका कामदारलाई हेरफेर गर्ने वलीको जिम्मेवारी थियो ।

उहाँले जिम्मेवारी पूरा गर्ने क्रममा बाख्रापालनसम्बन्धी धेरै कुरा सिक्ने अवसर पाउनुभयो । त्यहाँ सञ्चालनमा रहेको फार्मबाट करोडौँको आम्दानी भएको देख्दा त्यसबाट प्रभावित भएका वली स्वदेश फर्केर उन्नत जातका बाख्रापालन व्यवसायमा जोडिनु भएको हो । आज उहाँ जिल्लाकै उत्कृष्ट बाख्रापालक कृषकको स्थान लिन सफल हुुनुभएको छ ।

यसरी काम सिक्ने अवसर पाएका वलीले घर फर्कने क्रममा एउटा जमुनापारी क्रस जातको बाख्रा र एउटा बोका लिएर घर फर्कनुभएको थियो । त्यतिबेलासम्म उहाँको घर तथा गाउँमा पनि परम्परागत रुपमा बाख्रापालन व्यवसाय सञ्चालनमा थियो ।

उहाँले भारतबाट बोका लिएर आएपछि सबैले क्रस गराउन थाले जसका कारण गाउँलेले पनि आम्दानी बढाए, उहाँको पनि करिब ५ वर्षको बीचमा सम्पूर्ण घरखर्च कटाएर ७० वटा बाख्रा भए ।

तीमध्ये बोका बेच्दै पाठी राखेर व्यवसाय विस्तार गर्दै आउनुभएका वली व्यक्तिगत रुपमा बाख्रापालन व्यवसाय सञ्चालन गर्ने कृषकमा हाल जिल्लामै अग्रस्थानमा हुनुहुन्छ ।

स्थानीय जातका बाख्रा हटाएर दुईवटा बाख्राबाट सञ्चालन गरेको व्यवसायले आज विशाल रुप लिएको देख्दा उहाँमा थप हौसला बढ्ने गरेको छ । सम्पूर्ण खर्च कटाएर वार्षिक रु सात लाख बचत हुने गरेको उहाँले बताउनुभयो ।

लगनशील भएर जिम्मेवारी पूरा गर्दै गए हरेक क्षेत्रमा सफलता हात पार्न सकिने उहाँको धारणा छ । मिनेट मिनेटको महत्व बुझ्नेले मात्र सफलता हात पार्नसक्छ उहाँले भन्नुभयो, “हातमा सीप भए कुनै पनि युवा बेरोजगार बस्नु पर्दैन ।”

बाख्रापालन व्यवसायलाई अझ सफल बनाउनका लागि उहाँले पछिल्ला दिनमा जिल्ला पशुसेवा कार्यालय, रोल्पाबाट पनि सल्लाह, सुझाव लिँदै आउनुभएको छ ।

पहिले भेटेर रु एक हजार रुपैयाँ पनि ऋण नदिने साथीले अहिले फोनकै भरमा लाखौँ रुपैयाँ विश्वास गर्न लागेको उहाँको अनुभव छ । “यही काम नै गर्नुपर्छ भन्ने त होइन तर सफल बन्नुपर्छ,” उहाँले भन्नुभयो ।

जिल्ला पशुसेवा कार्यालय, रोल्पाका वरिष्ठ पशु चिकित्सक गान्धीराज उपाध्यायका अनुसार सामूहिक रुपमा अन्य कृषक भएपनि व्यक्तिगत फार्ममा उहाँ जिल्लाकै उत्कृष्ट कृषक हुनुहुन्छ । उपाध्यायका अनुसार उहाँ मात्र होइन उहाँ जस्ता हजारौँ कृषक यस क्षेत्रमा आउनुपर्छ ।

हाल रोल्पा जिल्ला बाख्राको पकेट क्षेत्रका रुपमा विकास भइराखेको अवस्था छ । त्यसैले अहिलेका विदेशिएका तथा स्वदेशमै फुर्सदमा रहेका युवालाई यस पेशाप्रति आकर्षण गरी रोजगारी सृजना गर्न सकिन्छ ।

पछिल्ला दिनमा विदेशबाट फर्केका युवा बाख्रापालन व्यवसायतर्फ आकर्षित बन्दै गएका छन् । यसका लागि कार्यालयबाट बोयर बोका वितरण, डाले घाँसको नर्सरी स्थापना, डिपिङ ट्यांक वितरण, बाख्राको कृषक पाठशाला, स्थलगत तालिम र चेतना अभिवृद्धि गर्ने कामहरु भइराखेका छन् ।

सुधारिएको बाख्राको खोर निर्माण, कृत्रिम गर्भाधान सेवा, बोयर बोकाको ब्रिडर समूह गठनका साथै बोयर बाख्राका पाठापाठी उत्पादन शुरु भई बोयर बोकाको सं्रोत केन्द्रका रुपमा पनि रोल्पा जिल्ला विकसित भएको छ । रासस