2026-10-18 01:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

तेह्रथुममा सहकारीले गाउँमै बनाए बीउ बैंक

प्रकाश धौलाकोटी/फागुन १८, तेह्रथुम | गाउँको माटोमा पर्याप्त उत्पादन हुने उन्नत जातका अन्न, तरकारी र मसला बालीको बीउ मासिँदै जान थालेपछि किसानले गाउँमै बीउ बैंक स्थापना गर्न थालेका छन् । 

गाउँमै त्यस्ता उन्नत जातका बीउको उपलब्धता वृद्धि गराउन किसानले सहकारी र कृषक समूहमार्फत बीउ बैंक स्थापना गरेका हुन् । 

प्रविधिको प्रयोग बढ्दै जाँदा रैथाने जातका बीउबिजन लोप हुन थालेको तथा आधुनिक उन्नत जातको बीउमा किसानको पहुँच नपुगेको भन्दै जिल्लाका गाउँ गाउँमा खुलेका सहकारीले बीउ संरक्षण गर्ने अभियान थालेका छन् । स्थानीय अधिकार कार्यक्रमअन्तर्गत देउराली सोसाइटी र दलित सचेतना समाज नेपालको सहयोगमा गाउँमा खुलेका सहकारीले बीउ बैंक स्थापना गरेका छन् । 

फेदाप गाउँपालिका–२, ओयाक्जुङमा रहेको जनकल्याण सामुदायिक विकास बहुउद्देश्यीय सहकारी संस्थाले सामुदायिक बीउ बैंक स्थापना गरेको छ । विसं २०६० मा गाउँका किसानलाई संगठित गर्दै ‘हामी स्वयं हाम्रो भाग्य निर्माता’ नारासहित काम गर्दै आएको सहकारीले बीउ बैंक स्थापना गरी किसानलाई सेवा उपलब्ध गराएको छ । 

बीउ बैंक स्थापना भएपछि सहकारीमा आबद्ध किसानलाई सहज भएको अध्यक्ष फिरोज सुब्बाले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँमा उन्नत जातका बीउ पाइँदैन, बजारमा किनेर ल्याएको बीउ पनि राम्रो हुदैन, त्यसैले प्राविधिकको सल्लाह बमोजिम अन्यत्र ठाउँबाट उन्नत जातको हावापानी र माटो सुहाउँदो बीउ खरिद गरी बैंकमार्फत किसानलाई उपलब्ध गराइएको छ ।” बीउ बैंकमा २५ वटाभन्दा बढी बीउ उपलब्ध छन् । 

मौसम अनुकूल हुने बीउ खरिद गरी किसानलाई सेवा दिन सहकारीले रु ५६ हजारको बीउ पूँजी कोष खडा गरेको छ । सो सहकारीमा ओयाक्जुङ गाउँका ३० वटा बचत समूह आबद्ध छन् । तीमध्ये पनि धेरैवटा महिला समूह छन् । महिला किसानलाई बीउ बैंकमा जम्मा भएको बीउ अझै विशेष छुटका साथ उपलब्ध गराइने गरेको व्यवस्थापक यामप्रसाद ढकालले बताउनुभयो । 

“आफैले उत्पादन गरेको बीउ बेच्नलाई टाढा जानुपर्दैनँ, किसानलाई चाहिएको बीउ हामी यहीँबाट उपलब्ध गराउछौँ”, उहाँले भन्नुभयो । सहकारीले किसानले माग गरे बमोजिमका बीउ उस्तै–उस्तै हावापानी भएको क्षेत्रबाट खरिद गरी उपलब्ध गराउने गरेको छ । यसरी बीउ बैंकबाट खरिद गरी रोप्दा नउम्रिने, ढुसी परेको बीउ किन्नुपर्नेजस्ता समस्या नहुने ओयाक्जुङकी देवीमाया ढकालले बताउनुभयो । 

दुई वर्षअघि सहकारीले स्थापना गरेको बीउ अहिले ओयाक्जुङका किसानले खरिद गरेर उत्पादन लिन थालिसकेका छन् । “लोपोन्मुख जातका बीउ पनि छन्, रैथाने र उन्नत जातका बीउ उपलब्ध गराउने लक्ष्य छ”, सहकारीका उपाध्यक्ष गणेश ढुंगेलले भन्नुभयो । 

सहकारीले यस वर्ष गाउँका किसानलाई बीउ बैंकबाट जुनेलो, गहत, बेसार, केराउ, बेलचन, पुरानो धान, अदुवा, लसुनलगायत २५ भन्दा बढी प्रजातिका रैथाने तथा उन्नत जातका बीउ सस्तो मूल्यमा उपलब्ध गराएको छ । 

यस्तै, पौठाकको पौठाक बचत तथा ऋण सहकारी संस्थाले पनि बीउ बैंक स्थापना गरेको छ । सहकारीमा आबद्ध शेयर सदस्य किसानको उत्पादकत्व वृद्धि गराउन सहयोग गर्ने ध्येयले सहकारीले बीउ बैंक स्थापना गरेको अध्यक्ष तीर्थप्रसाद ढकालले बताउनुभयो । 

छथर गाउँपालिकाको ओख्रेस्थित कल्याणकारी महिला कृषक सहकारी संस्थाले पनि बीउ बैंक स्थापना गरी उन्नत जातका बीउ किसानलाई उपलब्ध गराएको छ । जिल्लाका अन्य सहकारीले पनि बीउ बैंक स्थापना गरी रैथाने र उन्नत जातका बीउमा किसानको पहुँच अभिवृद्धि गरी उत्पादकत्व वृद्धि गर्ने अभियान चलाइरहेका देउराली सोसाइटीका कार्यक्रम संयोजक नरबहादुर लिम्बूले बताउनुभयो । 

सहकारीले बनाएका ती बीउ बैंकमा स्थानीय रैथाने तथा उन्नत जातका धनियाँ, फिलुङ्गे, रायोको साग, तोरी, बकुल्ला, सिलाम, सिमी, कोदो, मकै, धान, फर्सी, दाल, मास, थाङ्ग्रे सिमी, लसुन, प्याज, काउली, आलु, बेसार, फापर, काँक्रो, करेला, गोलभेँडा, टमाटरलगायत तरकारी, मसला र खाद्यान्न बालीको बीउ ल्याएर राख्ने गरिएको छ । त्यस्ता बीउ मौसममा किसानलाई सस्तो मूल्यमा उपलब्ध गराउने गरिएको हो । 

सहकारीमा आबद्ध नभएका गाउँका अन्य किसानले समेत आफूले बीउ लैजाने गरेका छन् भने उनीहरुले उत्पादन गरेको खाद्यान्न, तरकारी र मसला बालीको बीउसमेत बैंकमा ल्याएर बिक्री गर्ने गरेका छन् । जसले गर्दा गाउँमा बीउ भण्डारण भएको छ । कुनै पनि जातिको बालीनाली तत्कालै लोप भएर जाने अवस्था छैन । किसानले जुन खेतीबाट बढी उत्पादन हुन्छ भन्ने बुझेर जुनसुकै बाली पनि लगाउन सक्छन् । बीउ प्राप्त गर्न कुनै समस्या छैन । 

गाउँका सहकारीले थालेको रैथाने बीउ जोगाउने अभियान जिल्लाकै उदाहरणीय काम भएकाले गाउँपालिकाले समेत सहयोग गरेको छथर गाउँपालिकाका अध्यक्ष सन्तवीर लिम्बूले बताउनुभयो । गाउँपालिकाले नीतिगत निर्णय गरेर अन्य सहकारीमार्फत समेत बीउ बैंक स्थापना गर्ने लक्ष्य लिएको उहाँले बताउनुभयो । 

बीउ बैंक स्थापना गर्दा खडेरी, आगलागी, महामारी, भोकमरी, प्राकृतिक प्रकोपलगायत आपत्विपत्मा धेरै सजिलो हुने जिल्ला कृषि विकास कार्यालयका प्राविधिक सहायक हरिगोपाल आचार्यको भनाइ छ । अन्य गाउँमा समेत यस्ता प्रकोप भएर बीउ अभाव हुँदा त्यहाँबाट बीउ खरिद गरेर ल्याउन सजिलो हुने उहाँले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु