Skip to content
Sunday, July 19, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ चैत १६ गते, दिउँसो १२:३१ बजे
काठमाडौँ - KTM

मदन भण्डारीको जीप दुर्घटनाबारे सत्यता बाहिर नआएकोमा राष्ट्रपतिद्वारा दुःख व्यक्त

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

चैत १६, मोरङ | राष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारी चढेको जीपको अकल्पनीय दुर्घटनाबारे अहिलेसम्म पनि सत्यतथ्य बाहिर नआउनु दुःखद् भएको बताउनुभएको छ । 

उर्लाबारी नगरपालिका– ३ स्थित मदन भण्डारी स्मृति प्रतिष्ठानले निर्माण गरेको ‘मदन भण्डारी संग्रहालय’ को आज अपराह्न उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले संग्रहालय उद्घाटन गर्दा विगतका घटना सम्झेर दुःख लागे पनि संग्रहालय निर्माण हुनु सुखद भएको बताउँदै संग्रहालयको संरक्षणमा सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । 

राष्ट्रपति भण्डारीले राज्यस्तरबाटै यसको संरक्षण र प्रवद्र्धनको अपेक्षा आफूले गरेको स्पष्ट गर्नुभयो | 

राष्ट्रपति भण्डारी जननेता मदन भण्डारीकी धर्मपत्नी हुनुहुन्छ । संग्रहालयले पर्यटन प्रवद्र्धनमा समेत सहयोग पु¥याउने बताउँदै राष्ट्रपति भण्डारीले संग्रहालय वरिपरिको वातावरण पनि दर्शकमैत्री बनाउन आवश्यक रहेकामा जोड दिनुभयो । 

“मदन भण्डारी संग्रहालय विद्वानका लागि एउटा स्रोतस्थल र सर्वसाधारणका लागि खुला पाठशाला हुनेछ”, राष्ट्रपति भण्डारीले भन्नुभयो, “यसको संरक्षण र सम्वद्र्धन गर्दै यसलाई सिंगो समाजको सामाजिक सम्पत्तिका रुपमा विकास गरिनुपर्छ । संग्रहालयमा संरक्षित वस्तुहरु मासिन र बिग्रन नदिन आवश्यक प्रबन्ध मिलाउनुपर्छ, यसका लागि रेखदेख र सञ्चालनमा संलग्न जनशक्तिलाई यथोचित तालीम दिनुपर्छ ।” 

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले संग्रहालयले नयाँ पुस्तालाई मदन भण्डारीका बारेमा थप जिज्ञासु बनाउने बताउनुभयो । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले स्मृति प्रतिष्ठानलाई प्राविधिक शिक्षाको केन्द्र बनाइने आश्वासन दिनुभयो । स्मृति प्रतिष्ठानका अध्यक्ष गुरुप्रसाद बरालले प्रतिष्ठानलाई प्रौद्योगिक विश्वविद्यालय बनाउन सङ्घीय संसद्मा विधेयक विचाराधीन रहेकाले त्यसलाई पारित गर्न सरकार र सांसदहरुलाई आग्रह गर्नुभयो । 

तत्कालीन नेकपा (एमाले)का महासचिव भण्डारीबारे युवा पुस्तालाई जानकारी दिने उद्देश्यले पुरातत्व विभागको आर्थिक सहयोगमा प्रतिष्ठानले संग्रहालय निर्माण गरेको हो । संग्रहालयमा जननेता भण्डारी जन्मेदेखि दासढुंगा दुर्घटनासम्मका सामग्री राखिएको छ । रु तीन करोडको लागतमा निर्मित संग्रहालय यही चैत १८ गतेदेखि सर्वसाधारणका लागि खुला गरिनेछ । रासस